खालीहुदै हुदै भोजपुरको ऐतिहासिक टक्सार बजार

भोजपुर  । कुनै समय पुर्वी नेपालको ऐतिहासिक धरोहर र मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको टक्सार बजार दिनानुदिन खण्डहर हुन थालेका छन । आर्थिक सामाजिक र साँस्कृतिक रुपमा सम्पन्न टक्सार बजारका बासिन्दाको पलायनले ऐतिहासिक धरोहर दिनहुँ जिर्ण बन्दै गएका छन् । एक दशक यता टक्सार बजारका व्यापारी र स्थानीयबासीहरु एकएक पलायन भएपछि हराभरा टक्सार जीर्ण अवस्थामा पुगेको हो । टक्सारमा रहेका देवस्थल, मठमन्दिर, पाटी पौवा, चैत्य, गुम्वा, वौद्ध विहारसहित पुरातात्विक सम्पदाहरु संकटमा परेका छन् । 

       टक्सार बजारमा रहेका कालिगढहरु समेत अन्यत्र बसाईं सरेर गएपछि धातु उद्योगहरु पनि बन्द भएका छन । अधिकांश मानिसहरु पलायन भएपछि टक्सार बजारका अधिकांश घरहरु खाली भएका छन भने केही घरहरु भत्कन थालेका छन । ऐतिहासिक, धार्मिक र पूरातात्विक सम्पदाले भरिपूर्ण टक्सारलाई छोडेर अन्यत्र जाने क्रमले देशको एउटा सम्पदाको परिचय नै हराउने अवस्थामा पुगेको छ ।
पञ्चायतकालमा हराभरा रहेको टक्सार अहिले ठीक उल्टो अवस्था छ । कालिगढहरुको पलायन र भएकाहरु मृत्यू भएपछि सयको संख्यामा रहेका धातु उद्योग घटेर अहिले १० भन्दा तल्लो संख्यामा सीमित भएका छन् । करुवा र अन्य धातुका भाँडाले नेपाल र भारतका विभिन्न भागमा प्रसिद्धि कमाएको टक्सारले अहिले आफ्नो अस्तित्वको लागि संघर्ष गर्नुपरेको छ । टक्सारमा रहेका हस्तकला र मूर्तिकलाको उद्योगहरु नयाँ पुस्ताले छोड्दै गएपछि टक्सार सुनसान बनेको हो । देशमै चर्चित डवली मेलाले टक्सारलाई अझ प्रसिद्ध बनाएको थियो । 
       एक सय ९३ बर्षअघि प्रधानमन्त्री भीमसेन थापा हुँदा टक्सारमा बस्ती बसेको थियो । तत्कालिन 
राणा सरकारले देशको पूर्वी क्षेत्रको लागि डोली पैसा टक्सारमा छाप्ने गरिन्थ्यो । यहाँका बासिन्दा उद्योग व्यावसायले जीवन धान्न नसकेपछि घर, खेतवारी छाडेर धरान, काठमाडौं र विराटनगर आदि सहरमा गएकाले  टक्सार बजार ओझेलमा पर्दै गएको हो । वि.सं १८७२ मा राजा गिर्वाणयुद्ध विक्रम शाहको कार्यकालमा टक्सार खानी अड्डा स्थापना भएपछि टक्सारमा बस्ती बस्ना थालेको थियो ।  
       वि.सं १८७० सालदेखि तत्कालिन नेपाल सरकारले भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, संखुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ र इलामसहितका पूर्वी पहाडका जिल्लामा खनिज पदार्थको उत्खनन् गर्न थालेपछि टक्सारमा खानी अड्डा बसेको थियो । टक्सारमा पाटनबाट ल्याएका कालिगढले फलाम र तामाको डोली पैसा बनाउँथे । डोली टक काट्ने पहिलो कालिगढ देवदत्त शाक्य रहेको स्थानीय बासिन्दा बताउँछन् । टक्सारमा टक छाप्ने पेशा शाक्य वंशले गर्दै आएका थिए । एक तोला र दुई तोला तौलका डोली टक पैसा राणा शासनमा प्रचलित रहेको यशोधारा माविका प्रधानाध्यापक किशोर ताम्राकारले बताए । 
       प्रधानमन्त्री भीमसेन थापाद्वारा स्थापित टक्सार खानीअड्डा धनकुटा प्रशासनिक केन्द्र अन्तर्गत चौदण्डी र माझकिरातको खिकामछा थुम रहेको थियो । माझकिरातका १७ थुममध्ये खिकामछामा ‘खिकाहाङ’ को शासन रहेको बताईन्छ । किरातकालिन खिकामछा थुमका राजा खिकाहाङको पालामा पाटनबाट आएका शाक्य वंशले टक्सारमा मूर्तिकला र हस्तकला उद्योग थालेका थिए ।         
       यहाँका जानकारका अनुसार पाटनबाट टक्सारमा आएका नेवार जातिले आफ्नो भाषा, धर्म, संस्कार, संस्कृति र परम्परागत पहिचान पनि ल्याए । जसले गर्दा टक्सार धार्मिक र सांस्कृतिकरुपमा पनि देशमै धनी स्थान हो । 
       टक्सारमा रहेका शाक्य परिवारका भनाईमा खिकामाछामा टक काट्ने भएकोले टक्सार भनिएको हो । आफ्नो शासनमा राणाहरुले टक्सारबाट छाप नलगाई डोली पैसा चलाएका थिए । त्यहीसमयमा बनेका १२ बढी मठमन्दीर, गुम्वा, चैत्य, बौद्धविहार, धारा, पाटीपौवा, हस्तकला र मूर्तिकलाका नमूना टक्सारमा देख्न पाईन्छ । संरक्षण नहुँदा यी सम्पदा जीर्ण छन् । टक्सारक करुवा, तामाको भाँडा, गाग्रो, काँसे थाल, लोटा, आमखोरा, अन्ती, गिलास, बटुका, डवका र खुकुरीसमेत चर्चित छन् । कालिगढ पलायन भएपछि मूर्तिकला र हस्तकलाको उद्योग संकटमा छन् । टक्सारमा हाल धातु उद्योगलाई निरन्तरता दिने १० घर पनि छैनन् । कच्चा पदार्थ अभाव र बजारको असुविधाले धातु उद्योगले गति लिन सकेको छैन । ‘भोजपुर बजारको मागलाई पनि धान्न हामीलाई कठिन छ । देशमै नाम चलेका कालिगढले टक्सार छोडेपछि हामीले जसोतसो धानिरहेका छौं । सरकारले धातु उद्योग संरक्षण, बजार विस्तार र कच्चा पदार्थ सहजरुपमा उपलव्ध गराउने वातावरण बनाए टक्सार छोडेका पनि फर्कने अवस्था आउने थियो कि ?’ एक कालिगढ रमेश शाक्यले भने । 
       भोजपुरमै धातुको खानी नभएकाले तराईबाट कच्चा पदार्थ ल्याउनुपर्ने बाध्यता छ । यसो गर्दा अन्य स्थानका उद्योगसँग प्रतिस्पर्धा गरी बजारमा टिकिराख्न टक्सारका व्यवसायीलाई कठिन भएको छ । ‘कच्चा पदार्थ ढुवानीले नै टक्सामा बनेका सामानको मूल्य दोव्वर हुन्छ,  यसले गर्दा भोजपुर बाहिरका धातु उद्योगसँग हामीले प्रतिस्पर्धा गर्नै सक्दैनौ ।’ हस्तकला व्यावसायी बुद्धराज शाक्यले बताए । 
       जिल्लास्थित राजनीतिक दल, सकारी निकाय र अन्य पक्षले टक्सार घरेलु उद्योगलाई  लोप हुनबाट बचाउँन विशेष कार्यक्रम सञ्चालन गरी पलायन भएका व्यवसायीलाई पनि फर्काउन पहलन गर्नुपर्ने हस्तकला व्यवसायी देवराज शाक्यको भनाई छ । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा ६० धातु उद्योग दर्ता छन् तर १० वटामात्र जसोतसो चलेका छन् । 
       राणा शासनमा टक्सार ताप्लेजुङको ओलाङ्चुङ्गोला बाहेक तिव्वतको व्यापारिक केन्द्र दिगर्चा जाने मुख्य बाटो थियो । टक्सारमा बनेका हस्तकलाका सामाग्री चीनको तिव्वत, भारतको दार्जिलिङ, आसाम, सिलगढी  र कलकत्तासम्म निर्यात गरिन्थ्यो । पञ्चायतकालसम्म टक्सारमा रहेका क्षेत्रीयस्तरका विभिन्न सरकारी कार्यालय तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाले धनकुटा सारेपछि यँहाको व्यवसाय ओरालो लागेको हो । प्रजातन्त्र आगमनसँगै जिल्लाका अन्य स्थान गुल्जार बन्दै गए भने टक्सार चाँहि ओरालो लाग्दै गयो । संकटमा पर्न लागेको एउटा ऐतिहासिक धरोहरको संरक्षणका लागि जिल्लास्थित  सवैपक्षले चासो नदिए टक्सार ‘टक्सार’ नाममा मात्रै सीमित हुने अवस्था आएको स्थानीयबासी बताउँछन् ।

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments

Write Down Your Responses