दूतावासबाटै गायब भयो बेचिएका नेपाली चेली ! हेर्नुहोस् यो घट्ना कसरी भयो ? बिस्तृत भटना क्रम सहित

रातो घर, रामेछापका कवि कार्की २०६४ सालमा साथीसँग पुगे भारतको उत्तरप्रदेश, कानपुर । बास बसे होटलमा । होटेलवालाको अरू सेवा त त्यस्तैउस्तै थियो, तर यसको एउटा कुराले कविको ध्यान तान्यो । उसले सोध्यो, ‘आपको लड्की चाहिए ?’
‘क्या ?’ उनको मुखबाट फुत्किनै खोजेको थियो । तर लाग्यो, पुरुष भएर केटीको कुरामा किन नकारेको उत्तर दिनु ? अनि सोधे, ‘नेपाली लड्की भी है ?’ होटलवाला उत्साहित हुँदै भन्यो, ‘क्यूँ नही ? किस उमरका लड्की चाहिए आपको ?’ उनी होटलवालालाई धेरै उत्साहित हुन दिने पक्षमा थिएनन् । केही सोधखोज गरे र टारिदिए ।
त्यसो त उनले सुनेकै थिए कि भारतमा नेपाली चेली बेचिन्छन् । त्यसदिन त उनलाई पक्का भयो । त्यसपछि उनलाई लाग्यो नेपाली चेलीलाई यसरी यहाँ बेचिन दिनुहुँदैन । उनको मनमा त्यस दिन गढेको कुरा उनी स्वयम् दिल्ली बस्न थालेपछि पनि मेटिएन । पहाडगञ्जमा अन्नपूर्ण क्याफे पनि सुरु गरे । मनमा भने नेपाली चेलीको उद्दारमा संलग्न हुने सपना छँदै थियो । त्यसका लागि ‘हेल्प नेपाल मिसन’ नामको संस्था स्थापना गरे । संस्थामार्फत काम थालेको पनि १२ बर्ष भइसकेको छ । यसबीचमा संस्थामार्फत दर्जनौं नेपाली चेलीको उद्दार पनि भइसकेको छ । त्यस क्रममा उनले अनेकन् घटना भोगे, देखे । केही घटना त उनको मनमा ताजै छन् । रातोपाटी टीमसँग दिल्लीमा भएको भेटमा उनले केही अविस्मरणीय घटना ‘शेयर’ गरे :

घटना नं. १

त्यतिबेला हाम्रो संस्था भर्खर स्थापना भएको थियो । सिन्धुपाल्चोकका किसन भन्ने बृद्ध दिल्लीको मञ्जुकाटिलामा बसेर मजदुरी गर्थे । उनको साथमा ६७ बर्षीया पत्नी पनि थिइन् । ठेकदारले चाहिँ किसनलाई मजदुरीमा पठाएर उनकी श्रीमतीलाई भेट्न जाँदोरहेछ र माछा मासु पकाउन लगाएर रक्सी खाँदोरहेछ । एक दिन मातेको सुरमा उसले ती महिलालाई बलात्कार गरेर पछि हत्या गरेछ । हामीलाई सहयोगीहरूले सूचना दिए । हामीले प्रहरीकहाँ निवेदन दियौँ । अहिले ती ठेकेदार जेलमा छन् । मुद्दा चलिरहेको छ । किसनलाई केही दिन हाम्रो कार्यालयमा राख्यौं । किसनका एक आफन्त प्रहरीमा रहेछन् । उनलाई फोन गरेर किसनलाई घर पठायौँ । क्षतिपूर्ति र दोषीमाथि सजायका लागि हामी अहिले पनि लडिरहेका छौँ ।

घटना नं. २

आठ जना केटीलाई दलालले विभिन्न होटल सार्दै राखेका रहेछन् । कसैलाई इजरायल, कसैलाई दुबई त कसैलाई कतार पठाउने भनेर लिएर आएका रहेछन् । हामीलाई ती केटीहरू रहेको होटलबारे सूचना आयो । हामी उद्दारमा गयौँ । तर दलालहरूले थाहा पाएछन् र केटीहरूलाई गाडी चढाएर हिँडाइसकेछन् । हामीले गाडीलाई नै पिछा गर्यौं । उनीहरू अर्को होटलमा गएर बसे । त्यहाँ आठ जना केटी र एक जना सिरियाको दलाल फेला परे । प्रहरीलाई खबर गर्यौँ । तर प्रहरीले पैसा खाएर केस ‘डिसमिस’ पार्न खोज्यो । नेपाली दूतावासमा पनि फोन गरें । प्रहरीको ‘ड्युटी अफिसर’सँग कुरा गर्न लगाएँ । अपराधी दलालमाथि कारवाही गर्न र केटी सकुशल नेपाल पठाउन हामीले माग गर्यौँ । पछि प्रहरीले दलाललाई पैसा खाएर छाडिदियो । केटीहरू हामीले जिम्मा लियौँ । केटीहरूलाई तीन÷चार राख्यौँ । नेपाली दूतावासको चिठी लिएर काठमाडौं पठायौँ । त्यहाँ प्रमुख जिल्ला अधिकारीको रोवहरमा अभिभावकको जिम्मा लगायौँ । आठ जनामध्ये एकजना गर्भवती थिइन् ।

घटना नं. ३
धादिङकी तामाङ थरकी महिलालाई पहाडगञ्जमै एक नेपालीको होटलमा राखिएको रहेछ । त्यहाँ राखिएको तीन/चार महिना भइसकेको थियो । दलालहरूले साउदी र कुवेतबाट कमिसन लिएका रहेछन् त्यहाँ पठाउँछौं भनेर । अन्तिममा कुर्दिस्तान पठाउने भनेर तयारी गरेका रहेछन् । तर महिला त्यहाँ जान नचाहने । उनलाई पहाडगञ्जबाट महिलपारपुरको होटलमा लगेछन् । उनले कतैबाट मेरो नम्बर पाएर फोन गरिन् र लिन आउन भनिन् । मैले भनें, ‘बाहिर निस्केर अटो चढ्नु र अटो चालकसँग मलाई कुरा गराउनुस् ।’ उनले भनिन्, ‘त्यसरी भाग्दा त पासपोर्ट नै दिँदैनन् नि त ।’
‘त्यसो भए एयरपोर्टसम्म पुग्नु, दलालहरू भित्र पस्न पाउँदैनन् । अनि फर्काैंला ।’ मैले भनेअनुसार नै उनले विमानस्थल जाने बेला फोन गरिन् । हामी केही मिडियाका साथीसहित गयौँ विमानस्थल । साउदीको भिसा लागेको रहेछ । हामीले उनलाई विमानस्थलबाट ल्यायौँ । बाहिर गेट आसपास दलाल भेटिए । एक दलाल ‘तपाईं कता ?’ भन्दै उनलाई सोध्न आयो । मैले उसलाई समात्न खोजेँ । दलाल फुत्किएर भाग्यो । पछि ती महिलालाई हामीले विमानको टिकट बनाइदियौँ । र, सिडिओ कार्यालय, काठमाडौं पठायौँ । त्यहाँ उनको श्रीमान आएर लिएर गए । यो केशमा मलाई मार्ने, उडाउने, बम पड्काइदिनेसम्मको धम्की आयो । मैले भनें, ‘बाहिरबाट फोन गरेर धम्की नदेऊ, सामुन्ने आएर कुरा गर ।’

घटना नं. ४
एकजना १७ बर्षकी राई थरको युुवती कामका लागि गुडगाउँ पठाइएको रहेछ । एक महिनासम्म राम्रो व्यवहार गरिएछ, तर त्यसपछि ती युवतीमाथि दैनिक यौनशोषण हुनथालेछ । प्रहरीमा उजुर गर्न खोज्दा दर्ता नै गर्न मानेनछ । हामीले थाहा पाएर गयौं । र मुद्दा दर्ता त भयो । तर प्रहरी र वकिल किनेर मुद्दा कमजोर पारियो । हामीले नेपाली दूतावासका वकिल प्रेम क्षेत्रीलाई भन्यौं । उनी पनि बिकेछन् । त्यसपछि गाजियावादको वकिल खोज्यौं । अहिले पनि मुद्दा चलिरहेको छ ।
हामी लड्दै जान्छौँ, बीच–बीचमा समस्या आउँछन् । जसलाई सहयोग गर्छौं, उसैबाट धोका हुन्छ । अहिले यो मुद्दा पनि त्यस्तै भएको छ ।

घटना नं. ५
अर्को घटनामा नोयडाको हो । लिम्बु थरकी युवतीलाई काममा राखिएको रहेछ । उनको आमाले हामीलाई भनिन् ।
काम लगाइदिने एजेन्टलाई फोन गरेँ । उनको आमा भन्यौं, ‘जबसम्म छोरी आउँदिनन्, तबसम्म तपाईं हामीसँगै बस्नुस् ।’ एजेन्टले भन्यो, ‘मालिकले पठाउन मानेन ।’
मैले मालिकलाई नै फोन गरेँ र भनेँ, ‘किन उमेर नपुगेकी केटीलाई काममा राखिस् ? मालिकलाई चौबीस घण्टाभित्र पीडित युवती चाहियो, ल्याइनस् भने प्रहरीकहाँ जान्छु ।’ त्यो मालिक डराएछ, उसले दस घण्टामै युवतीलाई ल्याइदियो । त्यसमा अर्घाखाँचीका केही मानिसहरू पनि विवादमा आए । काम गरेको पैसा पनि युवतीलाई दिलाइदियौँ । आमालाई छोरी जिम्मा दियौं, तर उनी पनि एजेन्ट रहिछन् । कमिसन नमिलेर पो गुनासो गरेकी रहिछन् । पछि पो थाहा भयो ।

घटना नं. ६
हरियाणामा चाहिँ बालविवाहको मुद्दा आयो । आमाको चरित्र अलि ठीक रहेनछ । हरियाणाको जाटको घरमा बसेकी आमाको मालिकसँग सम्बन्ध रहेछ । आमासँग इच्छा पूरा भएपछि उसले चाहिँ छोरीतिर मन लगाएछ । छोरीको ‘ब्वाइफ्रेन्ड’ रहेछ । मालिकले आफूप्रति गरेको व्यवहार ‘ब्वाइफ्रेन्ड’लाई बताएपछि उनीहरू भागेछन् । यसपछि केटाकेटी भागेछन्, मञ्जुकाटिला आएछन् । हामीले सूचना पायौँ र कार्यालय बोलायौँ । तर केटीको दाइलाई थुनाएछन् पैसा खुवाएर । प्रहरीलाई केटाकेटी हामीसँग सुरक्षित छन्, दाइलाई किन थुनेको भनेर झगडा नै गर्यौं । केटीको दाइलाई छुटायौं । तर केटीको आमा लिन आइनन् । त्यसपछि नेपाली दूतावासमा पुुर्याएर दुई दिनपछि घर पठायौँ ।

घटना नं ७
एकजना दार्चुलाको कलाकार भेटियो । हामीले एउटा सांस्कृतिक कार्यक्रम पनि आयोजना गर्दै थियौँ । उनले हामीलाई भेटेर भन्यो, ‘म पनि कलाकार हुँ, गीत गाउन दिनुहुन्छ ?’ हामीले दियौं । गीत राम्रै गायो । पछि भन्यो, ‘बेखर्ची भइयो, केही सहयोग गर्नुस् न ।’ त्यसबेला उसले श्रीमती र बच्चा पनि साथै लिएर आएको थियो । हामी बुझ्दै थियौं, किन आएका हो, कसरी बेखर्ची भयो भनेर । त्यत्तिकैमा मेरो मोबाइलमा फोन आयो । उसैको कान्छी श्रीमतीको फोन रहेछ । उसले भनी, ‘तपाईंलाई जो भेट्न आएको छ, उसँगै आएकी उसको नक्कली श्रीमती हो, मचाहिँ सक्कली हुँ । त्यसैले त्यसको हातमा केही नदिनुहोला ।’ म छक्क परेँ र भनेँ, ‘फोनमा नक्कली र सक्कली थाहा हुन्न । तपाई यहाँ आउनुस् ।’ उनी आइन् । छुट्टा–छुट्टै कुरा गरियो ।
अन्तिममा खुल्यो– ती कलाकारले कान्छीलाई भनेका रहेछन्, जेठीको मृगौला बेचेर व्यवसाय गरौंला । त्यसपछि उनीहरूलाई नेपाली दूतावास लग्यौँ । जेठी श्रीमतीको कुनै अंग केही भएमा मेरो जिम्मेवारी हुनेछ भनेर कलाकारलाई कागज गर्न बनायौँ । त्यही आधारमा घर पठायौँ । त्यो पत्र सिडिओलाई पनि फ्याक्स गरेर पठाइदियौँ ।

घटना नं. ८
पहाडगञ्जको होटलमा नेपाली र भारतीय दलालले केटी राखेका रहेछन् । दुई जना केटी र दलाल थिए । हामीलाई सूचना आएपछि त्यहाँ गयौं । केटीहरूलाई लिएर आयौँ । साउदी पठाउन त्यहाँ राखिएको रहेछ । तर, पासपोर्ट थिएन उनीहरूसँग । नागरिकता पनि थिएन । ‘दिल्ली आऊ, हामी यतै बनाएर पठाउँछौँ’ भनेर बोलाएका रहेछन् । उनीहरूलाई दूतावास लग्यौँ । पछि नेपाल पठायौँ । हामीलाई दलालहरूले धम्की दिए । तर पनि केटीहरूलाई झापा पठाइयो ।

घटना नं. ९
१४ र १५ बर्षकी किशोरी दलालहरूले सिन्धुपाल्चोकबाट ल्याएर चार लाखमा बेची लोहनी बोर्डर पुर्याएका रहेछन् । दलाल एक महिला र एक पुरुष रहेछन् । किशोरीहरूलाई बेचिसकेर एकजना मञ्जुकाटिला आएछन् । त्यहाँ अर्को दलालले समातेर पैसा खोसेछन् । त्यो सूचना हामीलाई आयो । हामीले उनीहरूलाई समात्यौं र उनीहरूले दिएको नम्बरका आधार प्रहरीको सहयोग लिएर केटीहरूको उद्धार गर्यौँ । त्यसपछि उनीहरूको चार लाख रुपैयाँ दूतावासमा राख्ने र आपतविपतमा खर्च गर्ने भन्ने सहमति भयो । हामीले दलाल र केटीहरू दूतावासमा बुझायौ । तर उनीहरू रातारात गायब भए । पछि नेपालमा पक्राउ परेको भनियो । दूतावासबाट ती केटीहरू कसरी भागे ? दलालहरू कहाँ लगियो ? के हो खेल ? अझै थाहा पाउन सकिएको छैन ।

घटना नं. १०
त्यो त केटीमात्रै कहाँ हो र ? केटाहरूलाई पनि अनधिकृत रूपमा विदेश पठाउने र विजोग बनाउने काम भएको छ । हामीले त्यस्ता मुद्दामा पनि धेरैको उद्दार गरेका छौं । रामेछापका लालबहादुर तामाङ करोडौं ठगेर दिल्लीमा बसेका रहेछन् । पाँच जना केटालाई दक्षिण अफ्रिका पठाउँछु भनेर पैसा लिएर राखेछ । दुई जनालाई केन्या पुर्याएर बिचल्ली पारेको रहेछ । अरूलाई आज–भोलि नै पठाउछु भनेको रहेछ । दिल्लीमा उनीहरूले पैसा दिएका रहेछन् । जसलाई विदेश पठाउने भनिएको थियो, ती दलालकै छोराका साथी रहेछन् । दलालले छोरा नेपालबाट बोलाएछ र मञ्जुकाटिलाबाट छोरा आफैं लुकाएछ । उल्टै विदेश जाने भनेका केटाले मेरो छोरा अपहरण गरे भनेर हामीलाई फोन गर्यो । १८÷१९ लाख पैसा लिइसकेको रहेछ, विदेश पठाउने केटाहरूलाई प्रहरी लगाएर समात्ने र पैसा पचाउने दाउ रचेको रहेछ । तर उसको योजनाले हावा खायो । हामीले उसले लिएको पैसाको कागज बनायौं, दूतावासले प्रमाणित गरिदियो । पछि ती केटाहरू नेपाल पठायौँ ।

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, ,

0 comments

Write Down Your Responses