बेलमाथि रोनाल्डो हाबी : वेल्सको स्वपनिल यात्राको अन्त्य गर्दै पोर्चुगल फाइनलमा

रातो घर, लियोन – वेल्सको अविस्मरणीय यात्रामाथि पूर्णविराम लगाउँदै पोर्चुगल युरो २०१६ को फाइनलमा प्रवेश गरेको छ । बुधबार राती सम्पन्न पहिलो सेमिफाइनलमा पोर्चुगल २–० ले विजयी बन्दै सन् २००४ पछि प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

पोर्चुगललाई जीत दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डो नायक बने । आजको खेलअघि निकै दबाबमा रहेका रोनाल्डोले आफ्नो ट्रेडमार्क हेडरमार्फत पोर्चुगललाई खेलको ५० औं मिनेटमा अग्रता दिलाए । त्यसको तीन मिनेट पछि उनैको प्रहारलाई नानीले गोलको दिशा दिँदै पोर्चुगलको अग्रता दोब्बर बनाए ।

प्रतियोगितामा राम्रो प्रदर्शन गर्न नसकेका रोनाल्डो निकै आलोचित बनिरहेका थिए ।

गोलसँगै रोनाल्डोले युरोपियन च्याम्पियनसीपमा सर्वाधिक गोल गर्ने किर्तिमान बाराबरीमा गरेका छन् । फ्रान्सका मिसेल प्लाटिनीले प्रतियोगितामा ९ गोल गर्दै राखेको किर्तिमान रोनाल्डोले बराबरी गरे । प्लाटिनीले उक्त किर्तिमान एकै प्रतियोगितामा राखेका हुन् भने रोनाल्डोले चार पटक भाग लिँदै उक्त किर्तिमान बराबरी गर्न सफल भए । जारी प्रतियोगितामा उनको यो तेस्रो गोल हो ।

खेलको अन्तय तिर ड्यानिलो र रोनाल्डोले पोर्चुगलको अग्रता अझ बढाउने सुन्दर अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेनन् ।

प्रतिबन्धका कारण प्रभावशाली खेलाडी आरोन रामसे र बेन डेभिस बिना नै मैदानमा उत्रेको वेल्स पोर्चुगलविरुद्ध प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरे पनि गोलका धेरै अवसर भने सृजना गर्न सकेन । उता, पोर्चुगलले पनि घाइते पेपेलाई गुमाएको थियो ।

बेल भर्सेस रोनाल्डो

आजको खेलअघि सबैतिर पोर्चुगल र वेल्सको भिडन्त भन्दा पनि विश्वका दुई सफल खेलाडी रोनाल्डो र गेराथ बेलको चर्चा थियो । एउटै क्लबमा भएर पनि एकअर्काको प्रतिस्पर्धीका रुपमा हेरिने यी दुई सुपरस्टारमध्ये को खेलमा चम्कने छन् भन्ने सर्वत्र चर्चा थियो ।


प्रतियोगितामा उत्कृष्ट लयमा देखिएका बेल आजको खेलमा हाबी हुने अनुमान धेरैले गरेका थिए । तर, ३ पटकका फिफा वर्ष खेलाडी रोनाल्डोले एक पटक फेरि बेललाई ओझेलमा पारेका छन् ।

खेलमा बेलले पोर्चुगलको पोष्टमा तीन वटा लामो दुरीबाट उत्कृष्ट प्रहारहरु गरेका थिए । तर, तीनवटै प्रहारलाई गोलकिपर रुइ प्याट्रिसियोले बचाएका थिए । उनले बेलाबेला पोर्चुगलको डिफेन्सलाई चुनौती दिए पनि गोल गर्न भने सकेनन् । पहिलो पटक सेमिफाइनलमा पुगेको वेल्सको यात्रा यतिमै सिमित बन्यो ।

यता, आजको खेलमा रोनाल्डो नै निर्णायक बने र पोर्चुगललाई उपाधिबाट मात्र एक खेल टाढा पुर्याए ।

खेल सकिएपछि रोनाल्डोले आफ्ना सहकर्मीहरुसँग खुसायिली मनाउनअघि बेलकहाँ पुगेर सान्तवना दिएका थिए ।


यसअघि निर्धारित ९० मिनेटमा कुनै पनि खेल जित्न नसकी पोर्चुगल सेमिफाइनलसम्म पुगेको थियो । समूह चरणमा खेलमा सबै बराबरी गर्दै तेस्रो बनेर अन्तिम १६ मा प्रवेश पाएको थियो । त्यहाँ क्रोएसियालाई अतिरिक्त समय र क्वाटरफाइनलमा पोल्याण्डलाई पेनाल्टी सुटआउटमा पोर्चुगलले पराजित गरेको थियो ।

अब पेरिसमा हुने फाइनलमा पोर्चुगलले आयोजक फ्रान्स र जमर्नीबीचको बिजेतासँग भिड्नेछ । पछिल्लो पटक सन् २००४ को फाइनलमा पुगेको पोर्चुगल ग्रीससँग स्तब्ध बनेको थियो ।

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, ,

0 comments

Write Down Your Responses