फिमेल बिकिनी फिटनेश २०१६ प्रतियोगिताकी विनर कविता पुन ।

रातो घर, श्रावण २१, २०७३- पेशाले नर्स हुन् उनी । अक्सफोर्ड ब्रुक्स युनिभर्सिटीबाट बीएस्सी नर्सिङ गरेपछि ग्रेट वेष्टर्न हस्पिटलमा दैनिक १२ घण्टाको सिफ्ट गर्छिन् । तर, केही सातादेखि उनको परिचय फेरिएको छ । उनी अर्थात फिमेल बिकिनी फिटनेश २०१६ प्रतियोगिताकी विनर कविता पुन । यूके नेपाल फेडेरेसन अफ बडी बिल्डिङ एण्ड फिटनेशले बेलायतमा गरेको पहिलो फिमेल बिकिनी फिटनेश २०१६ प्रतियोगिता जितेपछि बधाइ लिँदैमा भ्याइनभ्याइ छ २९ वर्षीया पुनलाई ।

बेलायतको व्यस्तताबीच उनले आफ्नो शरीर आकर्षक बनाएर उपाधि नै जितिन् । उनी सातामा ५ दिन जिम गएर अभ्यास गर्छिन् । तीन वर्ष भएछ नियमित जिम सुरु गरेको । ‘मिल प्लानमै बढी ध्यान दिन्छु म,' उनले फिट हुनुको राज सुनाइन्, ‘म दिनमा ६ थरीका फरक फरक खाना खान्छु । लामो समय भोक खपेर नबसी भोक लागेपछि खाइ हाल्छु । खासगरि ब्राउन राइस, ग्रील चिकेन ब्रेस्ट, ब्रोकोली, भेजिटेबल, स्वीट पोट्याटो, फ्रोजनभन्दा फ्रेस भेजिटेबल खान्छु । अनि नुन, चिल्लो पिरो कम खान्छु ।’

उनी कसरी भ्याउलिन् फिटनेशमा समय दिन ? भन्छिन्, ‘समय व्यवस्थापन र इच्छा शक्ति नै मुख्य रहेछ ।’ स्कुल पढ्दादेखि नै भलिबल, बास्केटबल खेल, रनिङ गर्थिन् उनी । हाल ५ फिट ३ इन्च उचाईंकी कविताको साइज ६ (यूके) छ (हेर्नुस् तस्बिर) ।

डाइट प्लानले फिटनेश कम खर्चिलो छैन् । तर, भित्री सौन्दर्यमात्र होइन, महिला बाहिरबाट हेर्दा पनि आकर्षक देखिनुपर्छ भन्ने मान्यता राख्छिन् कविता । सुरुसुरुमा कार्डियोमात्र गर्थिन् उनी, पछि हेभी वेट उचाल्ने र अरु कडा अभ्यास थालिन् । ‘मानिसहरु केटी भएर केटा मान्छे जस्तो बडी बनाउनु हुन्न भन्थे तर त्यस्तो होइन । केटाहरुमा हुने हर्मोन बेग्लै हुने भएकाले महिलाहरुले पनि बराबर एक्सरसाइज गर्नुपर्छ,' उनको सुझाव छ । कविता आफ्नी बहिनी सविता पुनका साथ जिम गएर अभ्यास गर्छिन् । सविताले उक्त फिटनेश प्रतियोगितामा रनरअपको उपाधि जितेकी थिइन् ।

सन् २००८ मा बेलायत आएकी भूपू लाहुरे सुपुत्री कविता स्वीन्डन बस्छिन् । ज्यादै हेक्टिक छ उनको पर्सनल लाइफ । ‘बाहिर डुल्दिनँ । काम, जिम र परिवारले नै समय बित्छ । साथीहरु हामीलाई भेट्दिनस् भनेर खुब रिसाउँछन्,' उनले बाध्यता सुनाइन् ।

कविताले आगामी दिनमा बेलायतको राष्ट्रिय स्तरको फिटनेश प्रतियोगितामा भाग लिने अठोट राखेकी छिन् । ‘गर्न मन लाग्दा पनि नेपाली समाजले के भन्ला भन्ने पीर छ,' उनी आम महिलाको पीडा सुनाउँछिन्, ‘तर, अब जमाना फेरिएको छ, केटा केटी समान हुनुपर्छ भन्ने मलाई लाग्छ ।’


Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, ,

0 comments

Write Down Your Responses