जनयुद्ध दिवसमा वैद्य माओवादीले भन्यो : माओवादीहरुबीचको एकता आजको आबश्यकता
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीले माओवादी पार्टीहरुबीचको एकतामा जोड दिएको छ । एक्काइसौं जनयुद्ध दिवसको अवसर पारेर पार्टी अध्यक्ष मोहन मोहन वैद्यले जारी गरेको विज्ञप्तीमा यस्तो एकतामा जोड दिइएको छ ।
‘सच्चा क्रान्तिकारी कम्युनिस्ट तथा माओवादीहरूबिच एकता आजको ऐतिहासिक आवश्यकता हो । परन्तु, यो एकता सिद्धान्तनिष्ठता र क्रान्तिकारी कार्यदिशामा आधारित हुन अपरिहार्य छ । यस दिशामा हामीले आवश्यक पहल गर्नुपर्दछ । ’ वैद्यको विज्ञप्तीमा छ । माओवादीहरुबीच एकताका विषयमा बहस भैरहदा वैद्यले त्यससँग मेल खाने विज्ञप्ती जारी गरेका हुन् ।
यस्तो छ विज्ञप्तीको पूर्ण पाठ
एक्काइसौं महान् जनयुद्ध दिवसको ऐतिहासिक अवसरमा जारी प्रेस वक्तव्य
हामी अहिले एक्काइसौं महान् जनयुद्ध दिवसको ऐतिहासिक अवसरमा खडा छौं । फागुन १ गते २०५२ सालमा नेकपा (माओवादी) द्वारा नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्ने उद्देश्यमा आधारित रही महान् जनयुद्धको उद्घोष गरिएको थियो । महान् जनयुद्ध आफ्नो तीव्र गति र तुफानी वेगमा रणनीतिक रक्षाबाट सन्तुलनको चरण पार गर्दै प्रत्याक्रमणको दिशामा विकसित हुँदै गएको थियो । परन्तु, पार्टीमा पैदा भएको दक्षिणपन्थी विचलनका कारण क्रान्तिले गम्भीर धक्का बेहोर्नु प¥यो । अहिले हामी २१ वर्ष अघिको त्यो महान् जनयुद्धको पहल गरिएको ऐतिहासिक दिनको संस्मरण गरिरहेका छौं ।
महान् जनयुद्धको समग्र दशवर्षको ऐतिहासिक प्रक्रियामा चौध हजार जति वीर–वीरङ्गनाहरूले सहादत प्राप्त गरे । विशाल सङ्ख्यामा क्रान्ति र पार्टीका योद्धाहरूलाई राज्यद्वारा बेपत्ता बनाइयो । कैयौं वीर योद्धाहरूले घाइते तथा अपाङ्ग बन्नुप¥यो । महान् जनयुद्धको प्रक्रियामा जनसमुदायद्वारा त्याग, वीरता र बलिदानका ऐतिहासिक कीर्तिमान स्थापित गरिए । क्रान्तिलाई अगाडि बढाउने प्रक्रियामा हामीलाई ती त्याग, वीरता र बलिदानका गाथाहरूद्वारा सदैव तातो ऊर्जा र उत्प्रेरणा प्रााप्त भइरहने छ । एक्काइसौं महान् जनयुद्ध दिवसको यस ऐतिहासिक अवसरमा हामी महान् जनयुद्धका वीर अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । हामी ती बेपत्ता योद्धाहरूको विशेष स्मरण गर्दै वहाँहरूप्रति सम्मान जाहेर गर्दछौं । हामी क्रान्तिका सबै घाइते तथा अपाङ्ग योद्धाहरूको सम्मान गर्दछौं । साथै, यस ऐतिहासिक अवसरमा हामी जनयुद्धका सबै सहभागी तथा शुभचिन्तक जनसमुदायप्रति हार्दिक शुभकामना व्यक्त गर्दछौं । अनि यस अवसरमा पार्टीका सम्पूर्ण सहयोद्धा कमरेडहरूसित न्यानो शुभकामना आदान–प्रदानसमेत गर्दछौं ।
आज विश्वमा भूमण्डलीकृत साम्राज्यवादको उत्पीडन र हैकम तीव्र बन्दै गएको छ । विश्वमै दक्षिणपन्थी संशोधनवाद निकै प्रभावी बनेको छ । नेपालमा जनवादी क्रान्तिले गम्भीर धक्का खानुपरेको छ र साम्राज्यवाद तथा विस्तारवादी उत्पीडन तीव्र बन्दै गएको छ । नेपाली कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवादको हैकम निकै बढ्दै गएको छ । यो बेला सबै प्रतिकूलताको सामना गर्दै, क्रान्तिको झण्डालाई माथि उठाउँदै र माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग तथा विकासको प्रश्नमा ध्यान केन्द्रित गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादको दिशामा अगाडि बढ्ने आफ्नो ऐतिहासिक मिशन तथा दायित्व पूरा गर्न हामीले सचेतरूपमा विशेष जोड दिन आवश्यक छ । सच्चा क्रान्तिकारी कम्युनिस्ट तथा माओवादीहरूबिच एकता आजको ऐतिहासिक आवश्यकता हो । परन्तु, यो एकता सिद्धान्तनिष्ठता र क्रान्तिकारी कार्यदिशामा आधारित हुन अपरिहार्य छ । यस दिशामा हामीले आवश्यक पहल गर्नुपर्दछ ।
आदरणीय जनसमुदाय, मित्र तथा कमरेडहरू, एक्काइसौं महान् जनयुद्ध दिवसलार्ई भव्यतापूर्वक मनाऔं । महान् जनयुद्ध र जनआन्दोलनबाट ऊर्जा प्राप्त गर्दै क्रान्तिको तयारीको दिशामा दृढतापूर्वक अगाडि बढौं । एक्काइसौं महान् जनयुद्ध दिवसको ऐतिहासिक अवसरमा सम्बन्धित सबैलाई हार्दिक शुभकामना तथा क्रान्तिकारी अभिवादन !
…. …. …. …. ….
मोहन वैद्य ‘किरण’
अध्यक्ष
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses