डाक्टरका सुझावः बच्चाहरुलाई नखुवाउनुस् यी खानेकुरा
रातो घर, काठमाडौँ । बजारमा पाइने तयारी खानाले स्वास्थ्यमा प्रतिकूल असर पार्ने भएकाले यस्ता खानेकुरा खानबाट जोगिनुपर्ने चिकित्सकले सल्लाह दिएका छन् ।
राजधानीमा पोषणका लागि नागरिक समाज सञ्जाल (सिसान)ले आयोजना गरेको छलफलमा बालरोग विशेषज्ञ तथा पोषणविद् डा रमेशकान्त ढकालले बालबालिकालाई बजारमा पाइने तयारी खानेकुरा खुवाउँदा उनीहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले घरमा उपलब्ध खानेकुरा खुवाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले बच्चालाई बजारमा उपलब्ध खानेकुरा खुवाउने चलन फेसनका रुपमा चलेको छ, त्यसले पार्ने असरका बारेमा अभिभावक सचेत नहुँदा बच्चाको वृद्धिविकासमा समेत नराम्रो असर पारिरहेको छ ।”
बजारमा पाइने जङ्क फुडले बच्चालाई मात्र नभई ठूला व्यक्तिको स्वास्थ्यमा समेत प्रतिकूल असर पारिरहेको तर त्यसले विभिन्न रोगलाई निम्तो दिइरहेकाले यस्ता बजारिया खानेकुरा प्रयोगलाई न्यूनीकरण गर्न सबैमा जनचेतनाको आवश्यक भएको उहाँले स्पष्ट पार्नुभयो ।
खाद्य गुणस्तर तथा गुण नियन्त्रण विभागका पूर्णचन्द्र मिश्रले अहिले बजारमा पाइने खानेकुराको लोभलाग्दो विज्ञापनले मानिसलाई बजारमा पाइने खानेकुरामा आकर्षित गरेकाले स्वास्थ्यमा असर पार्ने खाद्यपदार्थको प्रचारपसारमा न्यूनीकरण गर्नुपर्ने बताउनुभयो ।
छलफलमा सहभागी एन–प्याब्सनका अध्यक्ष हर्क शाहीले विद्यालयमा बच्चालाई खाजा पठाउँदा घरमै बनाएर पठाउन झन्झट मान्ने र बजारिया खाजा पठाउने गरिएकोमा त्यसलाई रोक्न अभिभावकलाई सचेत गराउनुपर्नेमा जोड दिनुभयो ।
सिसानका अध्यक्ष डा उमा कोइरालाले अहिले घरमै उपलब्ध खाद्य सामग्रीबाट तयार पारिएको खानेकुरा खाने चलन हट्दै गएको र बजारमा स्वाद बढाउन विभिन्न मिसावट गरी तयार पारिएका खानेकुरा खाँदा चाहिने पोषणको कमी हुँदै विभिन्न रोगको खतरा बढ्दै गएकाले सचेत हुनुपर्ने समय आइसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो– “हामी आजभोलि घरैमा उपलब्ध मकै, भटमास, रोटी सागपात खानुको साटो बजारमा पाइने मःमः, चाउमिन, पिज्जा, बर्गरजस्ता खानेकुरा खानुलाई आफ्नो हैसियत देखाउने कुरासँग जोडेर हेर्छौं तर ती खानेकुरा खाँदा स्वास्थ्यमा पार्ने प्रभावका बारेमा सचेत छैनौँ ।”
सरकारले तयारी खानेकुराको अनावश्यक बढाइचढाइ गरिने विज्ञापनलाई रोकी पोषणयुक्त खानेकुरा खान जोड दिने खालका जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने कार्यक्रममा सहभागीले जोड दिएका थिए । रासस
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses