अनेरास्ववियुको अध्यक्षमा भारी मतले विजयी भएपछि नवीनाले के भनिन् ?

कालिका खड्का
काठमाडौँ, १० फागुन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का नवनिर्वाचित अध्यक्ष नवीना लामाले विद्यार्थी आन्दोलनको गौरवमय इतिहासलाई कायम राख्दै अब पूर्णरुपमा निर्माण र समृद्धिमा जोड्ने आगामी एजेन्डा भएको बताउनुभएको छ ।
आइतबार राति सकिएको अनेरास्ववियुको २२औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा विजयी लामाले भन्नुभयो – “अब विद्यार्थी आन्दोलनको एजेन्डा सिङ्गो मुलुकको समृद्धि र निर्माणका लागि हुनुपर्छ, टायर बाल्ने, तोडफोड गर्ने आन्दोलनको चरण सकियो ।”
अध्यक्ष लामाको आफ्नो कार्यकालमा सङ्गठनको आन्तरिक एकतालाई बलियो बनाएर शैक्षिक आन्दोलनलाई अगाडि बढाउँदै लैजाने तयारी छ । “जित एकैपटक दुवैको सम्भव थिएन, मेरो जित भयो, तर सङ्गठन चलाउन मेरा प्रतिस्पर्धी दीपक गौतमको सदा सल्लाह/सुझाव लिनेछु ।”
अनेरास्ववियुको अध्यक्षमा लामा विजयी भइरहँदा उहाँका प्रतिस्पर्धी गौतमले हार्दिकतापूर्वक हात मिलाएर बधाई तथा शुभकामना दिनुभएको थियो । अध्यक्ष लामाले आफूले सङ्गठनमा सबैलाई समेटेर लैजाने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
अनेरास्ववियुको महिला अध्यक्ष भएको हुनाले पनि राजनीतिमा महिलालाई ५० प्रतिशत सहभागिता गराउने लामाको आगामी योजना हुनेछ ।
“राजनीति तथा राज्यको नीति निर्माण गर्ने तहमा ५० प्रतिशत महिलाको सहभागिताका लागि योजना बनाएर अभियानका रुपमा सञ्चालन गर्ने तयारी छ, नीतिनिर्माण गर्ने तहमै महिला नभएसम्म महिलाको पहुँच वृद्धि हुँदैन” – लामाले जोड्नुभयो ।
त्यस्तै, सङ्गठनले ७० वर्षको इतिहासमा लामो सङ्घर्षपछि जारी भएको नेपालको संविधान कार्यान्वयन गराउनका लागि ‘संविधान कार्यान्वयन अभियान’ सञ्चालन गर्ने अर्को एजेन्डा रहेको भन्दै लामाले सुनाउनुभयो – “देशभर अनेरास्ववियुका कार्यकर्ता छन्, यो क्रियाशील र गतिशील विद्यार्थी सङ्गठन हो, ७५ वटै जिल्लामा संविधान कार्यान्वयन अभियान चलाउने योजना छ ।”
विद्यार्थी सङ्गठनहरुलाई बेलाबेलामा आर्थिक अनियमितता, कम पढेका विद्यार्थी राजनीतिमा लाग्ने जस्तो आरोप लाग्ने गरेकाले आर्थिक रुपमा पारदर्शी, पढेलेखेका दक्ष तथा क्षमतावान विद्यार्थीे मात्र अनेरास्ववियुमा सङ्गठित हुन्छन् भन्ने बनाउनका लागि आफू लाग्ने लामाको भनाइ छ ।
अनेरास्ववियुको नेतृत्व गर्ने अध्यक्ष पदमा निर्वाचित हुने लामा दोस्रो महिला अध्यक्ष हुनुहुन्छ । यसअघि वर्तमान नेकपा (एमाले) केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले अध्यक्षको रुपमा नेतृत्व गर्नुभएको थियो । यसअघि लामाले महासचिवमा रही नेतृत्व गरिरहनुभएको थियो ।
अध्यक्ष लामाले ८६५ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी दीपक गौतमले ६४९ मत प्राप्त गर्नुभएको छ । । अध्यक्षमा लामाले २१६ मत बढी ल्याएर विजयी हुनुभएको हो । कुल मत १५९७ रहेकामा १५१९ मत खसेको थियो ।
उपाध्यक्षमा रश्मी आचार्य (७४२), सुनिता बराल (७२१), महेश बर्तौला (७८४) र शैलेश लामा (६८२) मत छन् । उपाध्यक्षमा लामा समूहकै चार उपाध्यक्ष निर्वाचित भएका छन् । गौतम समूहका उपाध्यक्षमा जीवन राई (६३२), राधिका खतिवडा, (६७९), नीलकण्ठ आचार्य (५४६) र सरोज यादव (६३५) रहेका थिए ।
महासचिवमा ऐन महर (८३१) प्राप्त गरी विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी अब्दुल हुसेन खाँले ६६७ मत प्राप्त गरी पराजित हुनुभयो ।
सचिवमा आरसी लामिछाने, समिक बडाल, मकर खड्का, सुदेश पराजुली, आरती लामा, वासिम आलम र अमृत बुढा निर्वाचित हुनुभयो भने कोषाध्यक्षमा झपिन्द्र खत्री निर्वाचित हुनुभयो ।
त्यस्तै, सचिवालय सदस्यमा पनि लामा पक्षकै बहुमत रहेको छ । सचिवालय सदस्यहरुमा उमेश आचार्य, अर्जुन अधिकारी, डम्बर अधिकारीलगायत लामा पक्षबाट विजयी हुनुभएको छ भने गौतम पक्षबाट यशु लामा, केशरी रेग्मी, लोकश निरौलालगायत विजयी हुनुभयो ।
अनेरास्ववियुका १७ पदाधिकारीसहित १४२ जनाको केन्द्रीय कमिटी छ । त्यसमा गौतम समूहबाट जम्मा २७ जनामात्र निर्वाचित भएका छन् । बाँकी सबै लामा समूहकै विजयी भएका हुन् । रासस

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, ,

0 comments

Write Down Your Responses