डान्सबार र मसाज सेन्टरबाट हराएका किशोरी कहाँ पुग्छन् ?भिजिट र कल्चरल भिसामा तस्करी !
रातो घर, ११ जेठ, काठमाडौं : विदेशी पर्यटक र मनोरञ्जन केन्द्रहरुको पनि ‘केन्द्र’ हो ठमेल । जहाँ डान्सबार, मसाज तथा स्पा सेन्टर, दोहोरी साँझ र रेष्टुरेन्ट छन् । तीन मध्ये कतिपयमा यौनजन्य क्रियाकलाप हुने गरेको भन्दै प्रहरीले बेला बेला छापा मार्छ । र, केहीलाई उद्धार गर्छ ।
तर, पछिल्लो समय यस्ता केन्द्रहरु मानव तस्करीको गतलो श्रोत बनेको सरोकावालाहरु बताउँछन् ।
यस्तो छ अवस्था
ठमेलमा मनोरञ्जनात्मक केन्द्रहरुमा काम गर्ने महिलामध्ये ३३ प्रतिशत भन्दा बढी बालिकाहरु नै छन् । माइती नेपालले गरेको एक अध्ययनमा त्यस्ता महिला मध्ये ९३ प्रतिशतमाथि व्यवसायिक यौनशोषण हुने गरेको छ । यौनशोषण भोग्नेमध्ये बालबालिकाको अनुपात एक तिहाइ भन्दा बढी छ ।
तथ्यांकअनुसार ठमेलका सञ्चालनमा रहेका ८० प्रतिशत मसाज सेन्टरमा व्यवसायीक यौन गतिविधि हुन्छ । यहाँ पैसा दिएर किशोरीहरुलाई यौन शोषण गरिन्छ र यसको लाभ सञ्चालकले मात्रै लिन्छन् ।
यस्तै अधिकांश डान्सबारमा नाच्नेदेखि ग्राहकलाई खुसी बनाउने जिम्मा १८ वर्ष मुनिकाले नै पाएका छन् ।
तर, टिप्सका लागि वाइन, ककटेल, चुरोट पिउनुपर्ने र अन्य अपमानजनक काम गर्नुपर्ने भएपछि अधिकांशले यो पेशालाई निरन्तरता दिन चाहँदैनन् । त्यसमाथि विभिन्न किसिमका ग्राकहरुसँगको भेटघाटले उनीहरु अझै धेरै पैसा कमाउने सपना देख्छन् र मानव तस्करको चंगुलमा पर्छन् ।
१८ नकटेका युवतीलाई प्रयोग गरेर विभिन्न अवैधानिक धन्दा गर्नेहरु पछिल्लो समयमा निकै सक्रिय भएको पाइएको छ ।
अधिकांश हराउँछन्
आर्थिक समस्यादेखि रोजगारी खोज्दै आउने र काठमाडौंको रमझम देखेर शहर झरेका किशोरीलाई सबैभन्दा सहजरुपमा प्रवेश पाउने क्षेत्र मनोरञ्जन केन्द्र र मसाज सेन्टरहरु नै हुन् । यस्ता व्यवसायमा प्रवेश पाउन किशोरीहरुसँग कुनै कागजात र योग्यता आवश्यक पर्दैन ।
सञ्चालकले उनीहरुलाई एउटै दायित्व दिएका हुन्छन्, ग्राहकहरुलाई रिझाउने र धेरै खर्च गराउने । किशोरीहरुलाई न मासिक तलव तोकिएको हुन्छ, न कुनै नियुक्ति दिइन्छ । काममा आएको दिन ज्याला पाउँछन् ।
पीडित श्रमिक महिलाको हितका लागि काम गरिरहेको संस्था ‘विश्वास नेपाल’की बालकुमारी आलेका अनुसार टिप्सका भरमा काम गर्नुपर्ने बाध्यताले किशोरीहरु यो पेशामा धेरै दिन टिक्नै सक्दैनन् ।
त्यसमाथि मनोरन्जन क्षेत्रमा काम गरेको भनेपछि बदनाम हुने डरदेखि शोषणमा पर्ने डरले अधिकांश यो पेशामा नटिक्ने उनले बताइन् । ‘६ महिनादेखि २ वर्षसम्म यो पेशामा रहेका महिला एकाएक हराउँछन्,’ आले भन्छिन्, ‘भूकम्पअघि ठमेलका मनोरञ्जन केन्द्रमा काम गर्ने अधिकांश किशोरीहरु अहिले सम्पर्कमा छैनन् । अधिकांश गाउँबाट नयाँ ल्याइएको छ । पुराना कता गए थाहा छैन ।’
व्यवसाय सञ्चालकहरुले भने पुराना कामदार विदेशमा काम गर्न गए भन्ने जवाफ दिन्छन् । एक अध्ययनले यस्ता पेशा छाडेर विदेशमा कामका लागि जानेको संख्या मासिक १५ सयको हाराहारीमा रहेको देखाएको छ । त्यतिकै संख्यामा गाउँबाट किशोरीहरुलाई काठमाडौंमा यस्तै कामका लागि ल्याइने गरिएको छ ।
कहाँ जान्छन् त ?
रक्षा नेपालकी मेनुका थापा यसरी हराउने अधिकांश महिला भिजिट वा कल्चरल भिसामा विदेश उड्ने गरेको बताउँछिन् । १६ वर्ष नपुगेका किशोरीले कसरी नागरिकता र पासपोर्ट बनाउँछन् भन्नेबारे कसैसँग जानकारी छैन । उनीहरु अधिकांशलाई वैदेशिक राजगारीको नाममा भारतबाट उडाइने गरेको थापाको भनाइ छ ।
अहिले खाडी मुलुकसहित अफि्रका र युरोपका डान्सबारमा नेपाली महिला पुग्ने गरेको तथ्यहरु भेटिन थालेको छ । उनीहरुलाई मानव तस्करले फर्जी कागजपत्र बनाएर उडाउने गरेका छन् । भिजिट भिसामा उड्नका लागि तस्करहरुले नै रकमको व्यवस्था गर्ने गरेको अनुमान गरिएको छ ।
यसरी उडेका अधिकांश किशोरीहरु कहाँ, कुन अवस्थामा छन् ‘दैव जानुन्’ । भिजिट र कल्चरल भिसा लगेर विदेशमा पनि डान्सबार र मसाज सेन्टरमा लगेर बेचिएको सरोकारवालाहरुको दावी छ ।
संसदको महिला बालबालिका तथा समाजकल्याण समितिकी सभापति रञ्जुकुमारी झाले यसरी हुने व्यवयसायिक बाल यौनशोषण र बाल तस्करी नियन्त्रणका लागि सरकारले अनुगमन बलियो बनाउनुपर्ने बताउँछिन् ।
केन्द्रीय बालकल्याण समितिका अध्यक्ष डिल्लीराज गिरीले अब डान्सबार, रेष्टुरेन्ट, मसाज सेन्टर लगायतका क्षेत्रमा काम गर्ने बालश्रमिकको उद्धार र यसमा संलग्नलाई कारवाही गर्न सुरु गर्ने बताए । यसै विषयमा समितिले सांसदहरुसँग छलफल पनि गरेको छ ।
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses