सात महिना कैदपछि बल्ल सफल भयो सात वर्षको प्रेम

रातो घर, ‘सानु अब हामी गाडी चढेर पर घर जाने है, आफ्नै घर।’
शान्तिले गएको शनिबार बिहानै छोरीलाई यसै भनेकी थिइन्। उनको कुरा एकवर्षे छोरीले कति बुझिन् थाहा छैन, खुसीले लाढे भने पल्टिइन्। चम्किला आँखा झन् उज्यालो भएर आयो । बालखालाई देउताको रूप त्यसैले भनिएको होला। उनीहरू आमाको न्यानो जहाँ पाउँछन्, त्यहीँ मुस्कुराउँछन्– चाहे त्यो घरको झोलुंगा होस् वा जेलको चिसो छिँढी।
यी सानीछोरी पाँच महिनाकी मात्र थिई, शान्ति लमजुङ, बेसीसहरको जेलमा आउँदा। उनी १७ महिनाकी ठूलीछोरीलाई हातले डोर्याउँदै र सानीलाई छातीमा च्यापेर जेलभित्र छिरेकी थिइन्। जेल प्रशासनले केही महिनाअघि यी बालखाप्रति सद्भाव देखाउँदै बाहिरै राख्ने अनुमति दियो। शान्तिले ठूलीलाई आमासँगै घर पठाइदिइन्।
आमाको हात समाएर टुकुटुकु हिँडेकी छोरीले फर्की–फर्की हेर्दा शान्तिलाई मुटुको एकतिहाइ नै चुँडिएजस्तो भएको थियो। आमाले सानीलाई पनि लैजाने इच्छा देखाएकी थिइन्। तर, शान्तिलाई जेलभित्र बाँच्न पनि त एकतिहाइ मुटु चाहियो! अर्को एकतिहाइ त पहिले नै चुँडिएर तनहुँको जेलमा बन्द जो थियो।
यसरी टुक्राटुक्रा मुटु बाँडेर सात महिनादेखि जेलमा टुक्राटुक्रा जिन्दगी काटिन् शान्तिले। अघिल्लो साता जब मुक्तिको खबर आयो, त्यसै दिनदेखि हरेक टुक्रा आपसमा जोडिन थाल्यो। हिजोबाट त लगभग सग्लै जीउकी भइसकिन्। औंसीमा अन्धकारभित्र हराएकी चन्द्रमा विस्तारै आकार लिँदै पूर्णेको झल्झलाकार जून भएजस्तै।
मान्छे सग्लो जीउको भइसकेपछि उसका आकांक्षा पनि उत्तिकै तीव्र भएर आउँदा रहेछन् क्यारे! शान्ति कुरै नबुझ्ने छोरीसँग लाढिएर तोतेबोलीमा नानाभाँती कुरा गर्थिन्। उनका गाला मुसार्दै ठूलीछोरीका गालासँग दाँज्थिन्। घरि आँखातिर टोलाउँदै भन्थिन्, ‘था छ तँलाई, तेरो आँखा त काटीकुटी तेरा बाको जस्तै छ।’
‘बा’ भन्ने शब्दमा के जादु छ कुन्नि, छोरी सुन्नेबित्तिकै चल्मलाउँथी।
छोरी फुर्किएको देखेर शान्ति थपिहाल्थिन्, ‘नाक त मेरैजस्तो छ नि।’
शान्तिको त्यो बिहान एक–एक पल एक–एक युगजस्तो बित्यो। दिउँसो एक बजेतिर बल्ल प्रहरीले जेलको ढोका खोलिदिए। उनी प्रहरी र जेलका सबै साथीहरूसँग बिदावारी भइन्। एक हातमा छोरी र अर्को हातमा झोला बोकेर बाहिर निस्किन्। र, दिउँसभरि बाहिर चौतारीमा झोला बिसाएर कसैलाई पर्खिरहिन्। 
उनको एकतिहाइ मुटु बाँकी टुक्राहरूसँग जोडिन बेतोड उफ्रिँदै थियो।
***
त्यही शनिबार तनहुँको दमौलीमा बिहानै झमझम पानी दर्कियो। प्रमोदले धेरैचोटि घडी हेरे। कतिखेर १० बज्ला र जेल अफिसको ढोका खुल्ला भन्ने हुटहुटी थियो उनको मनमा। उनको मुटु घडीको सुईसँगै सेकेन्ड–सेकेन्ड फड्किँदै समय नाप्दै थियो।
दस बजे जेलको भित्री गेट खुल्यो। प्रमोद आफ्ना सामान बोकेर बाहिर निस्के। सात महिनापछि जेलमुक्त भएका प्रमोदलाई लिन उनका बा आएका थिए। झरी नथामिएकाले उनीहरू केही बेर त्यहीँ रोकिए। त्यो एक–एक पल प्रमोदको बेचैनी बढ्दो थियो।
झरी थामिएपछि उनीहरू दमौली बजार आइपुगे। प्रमोदले आफ्ना सामान बाको हातमा थमाएर उनलाई घर पठाइदिए। आफू भने त्यहीँबाट बेसीसहरको गाडी चढे। छुट्टिने बेला बालाई भनेका थिए, ‘बा, म शान्ति र छोरीलाई लिएर भोलि नै घर आइपुग्छु।’
***
शान्ति र प्रमोदको यो कथा सात वर्षअघि सुरु हुन्छ।
वर्ष, २०६६। तनहुँ, भोर्लेटारकी शान्ति आचार्य व्यास नगरपालिका, दमौलीमा क्याम्पस पढ्थिन्। उनी भोर्लेटारबाट दमौली जाँदा दिनहुँ जुन बस चढ्थिन्, त्यही बस चलाउँथे प्रमोद सुनार। दुई वर्ष एउटै गाडीमा एउटै ठाउँ ओहोरदोहोर गरेपछि उनीहरूबीच प्रेम टुसाउन थाल्यो।
शान्तिका बुवा छ महिना भारत बस्थे, छ महिना घर। दुई दिदी–बहिनी र एक भाइसहित पाँच जनाको परिवार थियो उनको। घरको सानोतिनो काममा आमालाई सघाउनुबाहेक शान्तिको काम पढ्नु मात्र थियो। 
बाह्र कक्षा पढ्दापढ्दै घरमा बिहेको कुरा चल्न थाल्यो। बढेकी छोरीलाई धेरै घरमा राख्न हुन्न भन्दै नातागोताका मान्छे आमाको कान भर्न थाले। शान्तिले प्रमोदबाहेक अरू कसैसँग बिहे गर्ने कल्पनासम्म गरेकी थिइन। प्रमोदले भने शान्तिको हात माग्ने आँट गरेनन्। उनलाई थाहा थियो, सँगसँगै धड्किने यी दुई मुटुको बीचमा जातीय विभेदको गहिरो खाडल छ। त्यो खाडल नाघ्न उनीहरूले ठूलै छलाङ मार्नुपर्नेछ। 
भारतमा जन्मेहुर्केकी शान्तिलाई समाजको यो जकडबारे उतिसारो भेउ थिएन। गाउँको रितिथिति भोगेर हुर्केबढेकी भए उनले घरगाउँ र स्कुलमै छुवाछुत देखिसकेकी हुन्थिन्। बाहुनकी छोरी भएर सुनार केटोसँग प्रेम गर्नु भनेको कति ठूलो सामाजिक चुनौती मोल्नु हो भन्ने अन्दाज गरिसकेकी हुन्थिन्।
एकदिन प्रमोदले भने, ‘बाआमाको अनुमतिमा बिहे गर्ने भनेको अर्को जूनीको कुरा हो शान्ति, म तिमीलाई अर्को जूनीसम्म पर्खन सक्दिनँ।’
उनले शान्तितिर दाहिने हात बढाए।
शान्तिले आफ्नो देब्रे हात अघि सारिन्।
२०६८ कात्तिक अन्तिम साता उनीहरू केही थान लुगा झोलामा कोचेर घरबाट भागे। गाउँभरि हल्ला चल्यो– शान्ति डाइभरसँग भागी अरे!
तीन दिनपछि प्रमोद शान्तिलाई लिएर सुटुक्क घर फर्के। भोलिपल्टै शान्तिको सिउँदोमा आफ्नो प्रेमको रङ भरिदिए। उनको परिवारले धुमधामसँग छोराबुहारी भित्र्यायो।
बिहेपछि उनीहरू धादिङतिर बस्न थाले। माइतीतर्फ सम्बन्ध चटक्कै टुटे पनि प्रमोदको माया पाएर शान्ति आफूलाई भाग्यमानी ठान्न थालेकी थिइन्।
सुखद दाम्पत्य जीवनको सपना साँचेर हिँडेको एक महिना पनि बितेको थिएन, शान्तिको जिन्दगीमा बज्रपात पर्यो। उनले थाहा पाइन्, प्रमोदको त अर्की श्रीमती पनि रहेछ।
उनलाई प्रमोदको पहिलो बिहेको खबर त्यसबेला मात्र थाहा भएको थियो, जब उनकी पहिली श्रीमतीले अदालतमा मुद्दा हालेकी थिइन्। 
यो घटनापछि उनलाई आमाको बेस्मारी याद आयो। उनी पछुतो मान्दै माइत फर्किइन्। आमा त पिरैपिरले ओछ्यानै परेकी थिइन्।
एक महिनापछि प्रमोद आइपुगे। ‘मैले गल्ती गरेँ,’ उनले अँध्यारो अनुहार लाउँदै भने, ‘तिमीलाई त्यो कुरा भनेको भए तिमी मलाई हेर्दैनथ्यौ भन्ने डर लाग्थ्यो।’
खासमा प्रमोदको मागीबिहे भएको रहेछ। तर, जुन केटीसँग उनको बिहे हुन आँटेको थियो, तिनी लगनकै दिन भागिछन्। त्यसपछि उनले अर्कै केटीलाई दुलही बनाएर ल्याएछन्। बिहे भएदेखि नै उनीहरूको खटपट सुरु भएछ।
‘मलाई उ मन परेकै हैन,’ प्रमोदले शान्तिलाई फकाउँदै भने, ‘उसले पनि मसँग बस्न मन गरिन र माइत गई। हाम्रो बिहे भए पनि उसको र मेरो सम्बन्ध पराईको जस्तै छ।’
सबै कथा सुनेपछि शान्तिको मन पग्लियो। त्यो एक महिना प्रमोदसँग टाढिएर बस्दा उनलाई पनि कम्ता सकस भएको थिएन।
मनका सबै गुनासा आँसुका ढिक्का बनेर बगे।
त्यसपछि चार वर्ष उनीहरूले सँगै बिताए। छोरीहरू जन्मे। सासू–ससुरा र परिवारका सबैबाट खुबै माया पाइन्। बिहेपछि छाडेको पढाइ पनि सुरु गरिन्। 
***
गएको कात्तिक अन्तिम साताको कुरा हो। आँगनमै तिहार नाचिरहेका बेला एक साँझ घरमा नयाँ मानिस आए।
‘तपाईंका श्रीमान कहाँ हुनुहुन्छ?’ एक जनाले शान्तिलाई सोध्यो।
‘काठमाडौं।’
त्यतिखेर प्रमोद वैदेशिक रोजगारका लागि अरब जाने भिसा लगाउन काठमाडौं गएका थिए।
ती मानिस त्यत्तिकै फर्के। केही छिनपछि प्रहरी आएर भने, ‘श्रीमानलाई बोलाउनुस्, तपाईंहरूलाई जिल्ला अदालतले ५ हजार जरिवाना सुनाएको छ, तिर्नपर्यो।’
शान्तिको मन चिसो भयो।
प्रमोदकी पहिली श्रीमतीले जिल्ला अदालतमा बहुविवाहको मुद्दा हालेकी छन् भन्ने बल्ल याद आयो। उनी आफैं दोस्रो बिहे गरेर गइसकेकी र अंशदाबीसमेत नगरेकीले उनीहरूले त्यो मुद्दा बिर्सिसकेका थिए। कानुनको ज्ञान नभएका उनीहरूलाई त्यो मुद्दा स्वतः खारेज भयो भन्ने लागेको थियो।
‘हामीलाई त थाहै थिएन, कहिले फैसला भएको हो?’ उनले सोधिन्।
‘अदालतले तपाईंहरूलाई बोलाएको थियो,’ ती प्रहरीले भने, ‘तपाईंहरू आउनुभएनछ।’
‘हामीलाई अदालतले सूचना दिएकै थाहा भएन, नभए त हामी पनि आफ्ना कुरा राख्न जान्थेम्,’ उनले सफाइ पेस गरिन्।
‘अब अदालतले फैसला सुनाइसक्यो, हाम्रो काम कार्यान्वयन गर्ने हो, श्रीमानलाई बोलाउनुहोला, हामी भोलि नै आउँछौं,’ यति भनेर उनीहरू गए।
शान्तिको मनमा हुन्डरी चल्न थाल्यो। उनले तुरुन्तै प्रमोदसँग मोबाइलमा कुरा गरिन्। उता, प्रमोदको मेडिकल जाँच सकिसकेको थियो। विदेश जाने अन्तर्वार्ताधरि पास भइसकेका थिए उनी।
‘अब अदालतले भनेको जरिवाना तिरेर मात्र (अरब) जानुहोला, त्यति गरेपछि ढुक्क हुन्छ,’ शान्तिले भनिन्, ‘बरु आजकै नाइटमा आउनू, भोलि फर्के हुन्छ।’
प्रमोद गाउँ फर्के। भोलिपल्ट प्रहरी आए। ठूलीछोरीलाई डोर्याउँदै, सानीलाई काखमा च्यापेर शान्ति र प्रमोद प्रहरीको पछि लागे। अदालत गएपछि थाहा भयो, उनीहरूलाई एक–एक वर्ष जेल सजाय पनि तोकिएको रहेछ। त्यो बेला उनीहरू दुवैलाई भाउन्न भएको थियो। छाँगाबाट खसेजस्तै भए। पैतालामुनिको जमिन भासिएजस्तो गरी लर्खराए।
प्रमोदलाई तनहुँकै जेलमा राखियो। शान्तिलाई भने त्यहाँ ठाउँ नभएर लमजुङ सरुवा गरियो। 
पुतलीजस्ता छोरीहरूबाट अलग्गिएर कहिल्यै एक्लै नबसेकी शान्तिले दुवैलाई आफूसँगै लैजाने निर्णय गरिन्। 
‘अदालतमा मुद्दा परेको थाहा भए पनि त्यहाँ गएर हामीले आफ्ना कुरा राख्नै पाएनौं,’ शान्तिले भनेकी थिइन्, ‘आफ्ना कुरा राख्न पाएका भए हामी निर्दोष ठहरिन्थ्यौं।’ 
उनलाई अहिले पनि यही लाग्छ।
***
अदालतले एक वर्ष सजाय सुनाएको भए पनि जेलरले शान्ति परिबन्दमा परेको थाहा पाए। बाँकी कैद मिनाहा गरिदिन सरकारलाई सिफारिस गरे। त्यही सिफारिस राष्ट्रपति विद्या भण्डारीले गणतन्त्र दिवसको अवसरमा प्रमाणीकरण गरेपछि शान्ति जेलमुक्त भइन्।
‘राम्रो व्यवहार गर्ने कैदीको आधा सजाय मिनाहा गर्ने सिफारिस पठाउन मिल्छ, हामीले त्यही कानुनमा टेकेर शान्तिको कैद मिनाहा गरिदिएका हौं,’ लमजुङका जेलर काजिमान सुनारले सेतोपाटीसँग भने, ‘छोरीसँगै यहाँ बस्न धेरै गाह्रो थियो उनलाई।’
प्रमोदलाई पनि तनहुँ कारागारले त्यसैगरी कैद मिनाहा गरेको हो। शनिबार जेलमुक्त भएपछि उनी बुवालाई घर पठाएर सोझै बेसीसहर हानिएका थिए। लगभग दुई घन्टाको बस यात्राभरि दुई छोरीका चन्चले आँखा र शान्तिको मायालु अनुहार सामुन्ने नाचिरहेका थिए। उनले मनमनै बाचा गरे, ‘अब त यिनीहरूलाई सधैं खुसी राख्छु, कहिल्यै आफूबाट अलग हुन दिन्न।’
बेसीसहर पुग्दा शान्ति र छोरी जेलबाहिरको चौतारीमा उनकै बाटो हेरिरहेका थिए।
उनले छोरीलाई बोलाए। छोरी डराई। शान्तिले भनिन्, ‘नानी, बा हो तिम्रो, जाऊ।’
‘बा’ भन्ने शब्दले ऊ हल्का चल्मलाई, फेरि आमाकै काखमा घुस्रिन पुगी। त्यसपछि त मान्दै मानिन।
त्यो दिन उनीहरू बेसीसहरमै बास बसे। भोलिपल्ट घर फर्कंदा दुई वर्षीया ठूली छोरी उनीहरूलाई लिन अलि वरैसम्म आएकी थिइन्। 
‘मलाई देख्नेबित्तिकै च्याप्प हात समातिन्, त्यसपछि छोडेकै छैन, जतिखेरै मसँगै हो,’ प्रमोदले सेतोपाटीसँग फोनमा भने, ‘सानी छोरीले नचिने पनि ठूली छोरीसँगै बसेपछि मेरो नियास्रो हट्यो।’
शान्तिलाई पनि छोरीहरू घरको आँगनमा रमाएर खेलेको देख्दा मनमा शान्ति मिलेको छ। ‘अब सबभन्दा पहिला छुटेको पढाइ पूरा गर्छु,’ उनले भनिन्। 
प्रमोद पनि आफ्नो योजनामा स्पष्ट छन्।
‘उनलाई पढाउनुपर्यो, म पनि इलम गर्छु, केही गरेरै देखाउँछु,’ उनले भने, ‘अब त जेल पर्नेजस्तो काम कहिल्यै गर्दिनँ, अन्जानैमा पनि गर्नु नपरोस्।
‘हाम्रा कारणल यी बालखाले दुःख पाए। के गर्नु हामी पनि परिबन्दमा परेका थियौं, अब यस्तो कहिल्यै नहोस्,’ प्रमोदले भने।
अहिले शान्तिको मुटु एक ढिक्का भएर उनकै छातीभित्र धड्किरहेको छ। त्यसैले त, तीन महिनाअघि मैले लमजुङ जेलमा भेट्दा उनको अनुहारमा घरिघरि साउन–भदौ छाउँथ्यो, अस्ति आइतबार फोनमा कुरा गर्दा उनको स्वर लट्टाइको बन्धनबाट फुस्किएको स्वतन्त्र चंगाजस्तो सुनिँदै थियो।
उनको सात वर्षको प्रेम सात महिना जेलको अग्निपरीक्षापछि बल्ल सफल जो भएको थियो।

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, ,

0 comments

Write Down Your Responses