बेचिनबाट जोगिएकी युवतीको वकिल बन्ने चाहना

काठमाडौं, असार २३–म्याग्दीकी इशा बोहोरा (परिबर्तित नाम) १४ वर्षकी भइन् । बोहोरा कक्षा ९ मा अध्ययनरत छिन् । उनलाई केआई नेपालले ललितपुरको हात्तीवनमा रहेको एन्जल हाउस पुनःस्थापना गृहमा आवासीय सुविधासहित पढ्ने व्यवस्था मिलाइदिएको छ ।
१४ वर्षको उमेर भनेको सपना, उमंग र कल्पनाले भरिएको हुन्छ । जीवनका आगत कस्ता होलान् भनेर मीठा–मीठा कल्पनाले रोमाञ्चित बन्ने उमेर हो । त्यस्तो उमेरमा पनि उनी गम्भीर कुरा गर्छिन् । उनी आफ्नो उमेरभन्दा बढी गम्भीर छिन् । बालसुलभ जिज्ञासाले भरिएको उनको अनुहारमा चञ्चल होइन गम्भीरता देखिन्छ ।

गाउँमा रहँदा उनी ८ कक्षामा पढ्थिन् । नाताले हजुरबुवा पर्नेले उनलाई भारत गएर सुखले बाँच्न सकिन्छ भनेर फकाउन थाले । गाउँलेभन्दा त सहरिया जिन्दगी बेस भनेर हजुरबुवासँग भारत हान्निइन् । उनले सुरुसुरुमा त हजुरबुवाका कुरा एक कानले सुनेर अर्को कानले उडाइदिइन् ।
भनिन्छ– हजारपटक भनेपछि झुटो पनि सत्यजस्तो लाग्छ । इशालाई पनि हजुरबुवाले भनेका कुरा सही नै हुन् भन्ने लाग्यो । हजुरबुवाले नै उनलाई नयाँ जीवन दिन्छन् जस्तो लाग्यो । अन्ततः उनी हजुरबुवासँगै भारत जाने निधो गरिन् ।

आमाबुवाको मनस्थिति बुझ्ने फुर्सद थिएन । उनीहरू आफ्नै गृहस्थीमा अल्झिएका थिए । ‘ममीले मलाई नै गाली गर्नुहुन्छ कि भनेर मैले हजुरबुवासँगका कुरा ममी र बाबालाई सुनाउन सकिनन् । हजुरबुवाले एक दिन तिमी आमाबुवालाई छाडेर पराईघर जानुपर्छ । जानैपर्ने हो भने अहिल्यै मसँग इन्डिया किन नजाने ? म तिमीलाई राम्रो जीवन दिन्छु भनेर फकाउने र धम्काउने गरिरहेको पनि इशाले सुनाइन् ।
अन्ततः एक दिन स्कुल ड्रेसमै हजुरबुवासँग भारत जान बाटो लागिन् । पैदलै हिँडेर कुस्मा हुँदै बाग्लुङ बजार पुगेका उनीहरू त्यहाँबाट रात्रिबस चढेर सुनौलीतर्फ लागे ।

बाटोभरि आमाबुवा र दाइलाइ सम्झेर रुँदै हिँडेकी उनलाई उनै हजुरबुवाले सान्त्वना दिए । ‘आमालाई छाडेर यसरी हिँडुला भन्ने सोचेकी थिइनँ तर लहैलहैमा लागेर यत्तिकै हिँडिदिएँ,’ इशाले गहभरि आँसु पार्दै सुनाइन् ।

हजुरबुवाको उमेर २६ वर्षमात्रै थियो । उनकी दिदी पनि इन्डियामै बस्दी रहिछन् । इशा उनैसँग सुनौली सिमाना क्रस गर्न लागेकी थिइन् । ती दिदीभाइले त्यहाँ कसैले सोध्यो भने मामासँग ममीलाई भेट्न जान लागेको भन्नू भनेर सम्झाएका थिए । तर, कसो–कसो उनले कुरा बनाउन नजान्दा पक्राउ परिहालिन् । हजुरबुवाचाहिँ चेलीबेटी बेचविखन मुद्दामा जेल परेका छन् ।

मैले हजुरबुवालाई पक्राउ गर्न सघाउ पुर्याँदा धेरै दिदीबहिनीको इज्जत जोगाएँ,’ उनले भनिन्, ‘जीवन बर्बाद हुनबाट जोगाएँ ।’ इशा फर्केर घर जान चाहन्थिन् । आफन्त लिन नआएको पनि होइन ।

उनलाइ केआई नेपालले बुटवलमा रहेको पुनःस्थापना केन्द्रमा राखेर पढ्ने व्यवस्था मिलाइदियो । उनले त्यहीँ बसेर कक्षा ८ को जिल्लास्तरीय परीक्षा दिइन् । स्कुलभरिका चौथो नम्बरमा पास गरिन् । नतिजाले उनलाई पढेर छुट्टै पहिचान बनाउँछु भन्ने आत्मविश्वास बढाएको छ ।

उनलाई विगत सपनाजस्तो लाग्छ । अब के गर्ने मन छ ? भन्छिन्, ‘अतीतलाई बिर्सिदिएकी छु । पढेर वकिल बन्न चाहन्छु । मजस्तै बेचिनबाट जोगिएका गरिब परिवारका छोरीका लागि निःशुल्क सेवा दिन चाहन्छु ।’

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, ,

0 comments

Write Down Your Responses