सबैलाई समेट्नुपर्ने चुनौती कांग्रेसको काँधमा छ
फाल्गुन २, २०७२- धेरैजसो जिल्लामा नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन सकिएर महाधिवेशन प्रतिनिधि छनोट भइसकेका छन् । बाँकी जिल्लामा पनि क्षेत्रीय अधिवेशन अबको एक साताभित्रै सक्ने गरी निर्वाचन प्रक्रिया अघि बढेको छ । फागुन २० देखि २३ सम्म हुने कांग्रेस महाधिवेशनबाट सभापति र महामन्त्री हुन धेरै आकांक्षीहरू देखिएका छन् । संस्थापन पक्षमा सभापति र पदाधिकारीका आकांक्षीहरूको व्यवस्थापन गर्न रस्साकस्सी चलिरहेको छ । अर्को पक्षबाट सभापतिको उम्मेदवारमा शेरबहादुर देउवा सर्वसम्मत छन् । पदाधिकारीका आकांक्षीहरूको व्यवस्थापन गर्न भने देउवा पक्षलाई पनि चुनौतीपूर्ण छ । कांग्रेसको भावी नेतृत्व र नीतिबारे केन्द्रित रहेर महामन्त्रीका दुई आकांक्षी विमलेन्द्र निधि र अर्जुननरसिंह केसीसित कान्तिपुरका बलराम बानियाँ र कुलचन्द्र न्यौपानेले गरेको कुराकानी :
सभापति सुशील कोइरालाको निधनपछि पार्टीमा कस्तो खालको चुनौती महसुस गर्नुभएको छ ?
सुशील कोइरालाको सादा जीवन, सरलता र शान्त स्वभावलाई ग्रहण गर्दै पार्टीको आगामी महाधिवेशनलाई संयम, धैर्य र एकतापूर्ण ढंगबाट अघि बढाउनुपर्ने आवश्यकता छ । समग्र रूपमा पार्टीलाई एकताबद्ध गराउन र लोकतन्त्रवादीहरूलाई संयोजन गर्दै राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने, संविधानमा देखिएका अपूर्णतालाई पूर्णता दिँदै कार्यान्वयन गराउने र सबैलाई समेटेर अघि बढ्ने चुनौती कांग्रेसको काँधमा छ ।
सुशील कोइरालाको अनुपस्थिति खड्किने एउटा पक्ष हो, महाधिवेशनमा जो नेतृत्वमा आउँछ, त्यसले पार्टीलाई विभाजन र भागबन्डाबाट मुक्त गराएर एकतातर्फ केन्द्रित हुनुपर्ने, पार्टीलाई नेतामुखी नभएर नीतिमुखी बनाउनुपर्ने, व्यक्तिमुखी नभई संस्थामुखी बनाउन नयाँ फड्को मार्ने काम गर्नुपर्छ ।
कोइरालाको निधनपछि संस्थापन पक्ष छिन्नभिन्न हुने हो कि भन्ने चिन्ता छ नि ?
म त यो पक्ष र ऊ पक्ष भन्ने भन्दा पनि नेपाली कांग्रेस पक्ष भन्छु । साठी र चालिसको भागबन्डा अन्त्य गरेर एकीकृत कांग्रेस बनाउने अभियानमा हाम्रो जोड रहन्छ र रहनुपर्छ । धेरै लामो आरोह, अवरोहबीच पनि म सुशीलजीसँग बसेँ । समाजवादी युवा लिगको सम्मेलनका क्रममा बनारसमा पहिलोचोटि भेट भएदेखि मैली सुशीलजीलाई महामन्त्री, उपसभापति, सभापतिको चरणसम्म पनि साथ दिँदै आएको हो । सभापति र प्रधानमन्त्री भएपछि मेरो उहाँसँग निरन्तरताको निकटतामा कमी आएको हो । वैचारिक मतभेद रह्यो ।
तपाईंको असन्तुष्टि महामन्त्री नदिएको कारणले हो भन्ने छ नि ?
त्योभन्दा पनि कार्यशैलीदेखि धेरै कुरा छन् । सैद्धान्तिक रूपमा पनि मतभिन्नता भएको थियो । मैले अन्तिमपटक भेट्दा सुशीलजीले अर्जुनजी मलाई सहयोग गर्नुपर्यो भन्नुभयो । मैले तपाईंलाई जे गर्नुपर्ने हो, त्यो गर्न सकिनँ । मलाई पनि
अप्ठ्यारो पर्यो । तपाईंलाई अन्याय भएकै छ भन्नुभयो । मैले फेरि पनि एक थरीले मौकै मौका पाइराख्ने, अर्को थरीलाई पाखा नै पाखा परिरहने त्यस्तो निर्णय हुन्छ कि भनेर मैले अहिले सहयोग गर्ने वचन दिन सक्दिनँ भनेको थिएँ ।
तपाईं खालि नेतृत्वसँग माग्ने मात्रै कुरा गर्नुहुन्छ, संघर्ष गरेर माथि जान सक्नुहुन्न ?
कार्यकर्ताले मेरो मूल्यांकन पटकपटक गरेका छन् । संघर्षको अप्ठ्यारो समयमा म थिएँ । तर, त्यसको मूल्यांकन पार्टीभित्र भएन । त्यसैले यो महाधिवेशनले मेरो मूल्यांकन गर्छ भन्ने सोचेको छु ।
तपाईं कुन पदमा उठ्ने तयारी गर्नुभएको छ ?
मैले पार्टीभित्र वैचारिक आन्दोलन सुरु गरिरहेको छु । यसलाई समेटेर नयाँ दिशा दिन कुनै समूहसँग एलायन्स भयो भने म महामन्त्रीका लागि चुनाव उठ्ने हो । नभए वैचारिक दृष्टिकोणलाई अघि बढाउन म सभापतिकै लागि चुनाव उठ्छु । मेरो विकल्प अरू धेरै छैन । अब म फेरि केन्द्रीय सदस्यका लागि चुनाव उठ्दिनँ ।
तपाईं देउवा पक्षबाट महामन्त्रीमा उठ्ने चर्चा चलिरहेको छ नि ?
त्यसलाई अस्वीकार गर्दिनँ । संस्थापन र देउवा पक्ष दुवै कांग्रेस नै हुन् । यो संस्थापन र देउवा कांग्रेस भनेर विभाजन गर्न हुन्न भन्दै आएकाले मलाई संस्थापन पक्ष र देउवा पक्ष दुवै तर्फबाट माया गर्ने प्रशस्तै साथी छन् । चुनाव कोसँग मिलेर उठ्ने भन्ने चाहिँ त्यो बाध्यात्मक परिस्थितिको कुरा हो । चुनावमा वस्तुगत परिस्थिति र वैचारिक सामीप्य कोसँग नजिक हुन्छ, त्योसँगै म जाने हो । त्यस्तो भयो भने म महामन्त्रीमा चुनाव उठ्ने हो ।
त्यसो भए तपाईं जुन पक्षले महामन्त्री दिन्छ त्यतै लाग्ने हो ?
वैचारिक सामीप्य, अहिलेसम्म कार्यसञ्चालनमा देखिएका असफलतालाई दोहोरिन नदिने प्रतिबद्धतासाथ जोसँग संयोजन हुन्छ, त्यसैसँग म हुन्छु । अहिलेसम्म म छलफलकै क्रममा छु ।
पछिल्लो समय तपाईं देउवासँग अलि निकट भएको भनिन्छ नि ?
सबैसँग मेरो निकटता छ । अन्तिमपटक संस्थापन पक्षका साथीहरूसँग सल्लाह हुँदा म थिएँ । शेरबहादुरजीसँग मेरो भेटघाट भई नै रहेको छ । लोकतान्त्रिक पार्टीमा मत विभाजन हुन्छ । प्रतिस्पर्धा हुन्छ । त्यसलाई मैले अनौठो रूपमा लिएको छैन । प्रतिस्पर्धा र मत विभाजन भए पनि मन विभाजन हुन दिनु हुन्न । यसमा म सचेत छु ।
त्यसो भए तपाईं देउवा पक्षतिर गइसक्नुभएको छैन ?
निर्णय भइसकेको छैन । पार्टीभित्र संस्थापन पक्ष र देउवा पक्ष भन्ने तोड्नुपर्छ भन्ने मान्यता राखेका कारण मैले अहिल्यै यो र ऊ पक्ष भनिसकेको छैन । पक्ष र विपक्षका कुराले पार्टीलाई पक्षाघात गरिसकेको छ । यसलाई समाप्त पार्ने कामको संयोजन गर्नुपर्छ ।
सभापतिमा कति जनाबीच प्रतिस्पर्धा हुन्छ ?
अहिल्यै भन्न सक्दिनँ । तर सुशीलजीको अनुपस्थितिमा संख्या बढ्ने सम्भावना देख्दै छु ।
संस्थापन पक्षबाट कोको उम्मेदवार हुन्छन् ?
त्यो तपाईंहरूलाई बढी थाहा छ । मेरो मुखबाट किन नाम लिन लगाउनुहुन्छ ? अहिले जोजो उठ्छु भनेर सार्वजनिक रूपमा भन्दै आएका छन् । तिनीहरू नै दाबेदार होलान् भन्ने ठानेको छु ।
संस्थापनबाट एउटै उम्मेदवार हुने अवस्था देखिँदैन ?
हुन पनि सक्छ । धेरै कठिन छ ।
संस्थापन पक्ष छिन्नभिन्न हुने बाटोतिर गएको हो ?
संस्थापन मात्र होइन, दुवै पक्षलाई छिन्नभिन्न गराउनैपर्छ । पक्ष/विपक्षको ध्रुवीकरण अन्त्य गर्नुपर्छ ।
कसरी सम्भव छ ?
विधि र व्यवहारमा धेरै कुरा सम्भव छ । पहिल्यैदेखि अलि गतिशील ढंगले सोचेको भए धेरै छिमल्न सकिन्थ्यो ।
संस्थापन पक्षतिर महामन्त्रीको आकांक्षी धेरै देखेर तपाईं अर्को पक्षतिर ढल्कन लागेको भनिन्छ नि ?
भन्न त जे पनि भन्ने गरिन्छ । तर, मैले असहमति राख्दै आएको अहिले मात्रै होइन । धेरै पहिल्यैदेखि हो । ४/५ वर्षअघि महामन्त्री पाउने र नपाउने स्थिति भन्ने त थिएन नि । मैले नेतृत्वको कार्यशैली ठीक भएन भनेर सुरुदेखि नै मैले भन्दै आएको थिएँ । मैले कसैसँग आग्रहपूर्वाग्रह राखेको छैन । नेतृत्वले सघर्षका बेला जहिले पनि उपयोग गर्ने, तर अघिपछि केही नहुने र विवेक नपुर्याउने रहँदै आयो । त्यही कुरामा मेरो असहमति हो ।
विचार मिल्ने समूहसँग एलायन्स भएमा महामन्त्री लड्छु, नभए सभापतिमा लड्छु, पक्ष र विपक्षका कुराले पार्टीलाई पक्षाघात गरिसकेको छ । यसलाई समाप्त पार्नुपर्छ ।
अबको महाधिवेशनले ६० र ४० को भागबन्डालाई अन्त्य गर्नुपर्छ ।
म विधान संशोधन गरी मनोनीत हुने पदाधिकारीको संख्या बढाउने कुराको विपक्षमा छु ।
यो महाधिवेशनपछि पनि जित्ने र हार्नेबीच ६०–४० प्रतिशतकै भागबन्डा हुने होला नि ?
योग्यता, क्षमता र अनुभवका आधारमा पुरस्कृत गर्ने र अवसर दिने प्रवृति नीतिगत रूपमा विकास गर्नासाथ भागबन्डा अन्त्य हुन्छ । सरकार गठन भयो । तर, मन्त्री छान्न संसदीय समितिमा छलफल भएन । पद्धति संसदीय समितिमा छलफल गर्ने हो । त्यसैले हामीले पद्धतिको निर्माण गर्नुपर्ने खाँचो छ ।
गाउँ तहदेखि केन्द्रसम्म कांग्रेसको महाधिवेशन लोकतान्त्रिक छ । तर पार्टी सञ्चालन र निर्णय प्रक्रिया किन लोकतान्त्रिक हुन नसकेको हो ?
पार्टी सञ्चालनको शैली अझै लोकतान्त्रिक हुन सकेको छैन । आन्तरिक लोकतन्त्रलाई सुदृढ र मजबुत बनाउने प्रक्रियामा हामी धेरै पछि छौं । पार्टीमा पारदर्शी, संस्थागत, विधिसंगत र नीतिमुखी प्रक्रियालाई अवलम्बन गर्नु आवश्यक छ । पराक्रम गर्ने, योग्य, सक्षम र जनप्रियभन्दा नेताको अनुहार हेर्ने र वरिपरि दौडिनेले मात्र अवसर पाउने भएपछि पार्टीमा निराशा र असन्तुष्टि बढ्छ ।
पदाधिकारीको संख्या थप्न विधान संशोधनको कुरा आइरहेको छ नि ?
विधान संशोधन गरेर पदाधिकारी थप्ने काम हुनै सक्दैन । म सुरुदेखि यसको विपक्षमा छु । मान्छेहरूलाई भागबन्डा मिलाएर ठाउँ दिनका लागि पार्टीमा पदाधिकारी बढाउन हुँदैन । पदाधिकारी र नेतृत्व भनेको महाधिवेशनबाट स्थापित भएर आएको व्यक्तित्व हुनुपर्छ । यो बाँकी उपसभापति, महामन्त्री, सहमहामन्त्रीको पनि निर्वाचन नै हुनुपर्छ भन्ने मेरो मान्यता हो ।
विधान समितिको बहुमतले तीन पदाधिकारी थप्ने प्रस्ताव गरेको छ । त्यो प्रस्ताव केन्द्रीय समितिमा आयो भने तपाईंको पोजिसन के हुन्छ ?
म विपक्षमा हुन्छु । म त्यसलाई स्वीकार गर्दिनँ ।
पदाधिकारी बढाए पनि निर्वाचित हुनुपर्छ भन्ने मान्यता हो तपाईंको ?
हो, निर्वाचित हुनुपर्छ । तर, यही महाधिवेशनमा सम्भव छैन । सीमित रूपमा बढाउनुपर्ने अवस्था आएमा अर्को महाधिवेशनमा गर्न सकिन्छ ।
प्रदेशको संरचनाअनुसार कांग्रेसको संरचना खडा गर्नु पर्दैन ?
प्रदेशको संरचनाअनुसार गराउनका लागि हिजो अञ्चलको प्रतिनिधित्व गराएजस्तो केन्द्रीय समितिमा हरेक प्रदेशबाट दुई या तीन जना केन्द्रीय सदस्य छानिने गरी निर्वाचन गराउन सकिन्छ । प्रदेशभित्रका महाधिवेशन प्रतिनिधिहरूबाट प्रदेशको अध्यक्ष चुन्ने व्यवस्था गर्नुपर्छ । केन्द्रमा जस्तै पदाधिकारी पनि चुन्न सकिन्छ ।
माथिबाट लादेर लोकतन्त्र फस्टाउँदैन । प्रदेशभित्रैबाट नेता जन्मन दिनुपर्छ ।
प्रदेशको संरचनाअनुसार जाँदा केन्द्रीय कार्यसमितिको आकार त बढ्ने भयो नि ?
केन्द्रीय कार्यसमितिको संख्या दस/पन्ध्रजना बढ्दा केही फरक पर्दैन ।
तपाईंको आपत्ति पदाधिकारीमा मात्रै हो ?
हो, पदाधिकारी बढाउन हुँदैन । व्यक्ति व्यवस्थापन गर्न पदाधिकारीको संख्या थप्ने कुराको म सर्वथा विरोधी हुँ ।
एकजना वरिष्ठ उपसभापति राख्ने कुरा छ नि ?
सबै निर्वाचित गराउने कुरामा सहमत हुन सकिन्छ । एउटा निर्वाचित गराउने र अरू मनोनीत गराउने कुरामा सहमत हुन सकिँदैन । अहिले महाधिवेशन आइसकेको छ । अब समयले पनि भ्याइँदैन । विवाद पनि हुन सक्छ । त्यसैले यसपटक नगरी महाधिवेशनलगत्तै महासमिति बोलाएर विधान संशोधन गरी निर्वाचित हुने पदाधिकारीको संख्या बढाउन व्यवस्था गर्न सकिन्छ । अहिले विधान संशोधनको प्रक्रिया स्थगित हुने बाहेक अर्को विकल्प देखेको छैन ।
तपाईंले नयाँ दृष्टिकोण र विचार लिएर महामन्त्रीमा चुनाव उठ्छु भन्दै गर्दा पार्टीभित्र विचारमाथि छलफल भइरहेको देखिँदैन नि ?
विचारमाथि छलफल भएको छ । केही दिनपछि थाहा पाउनुहुन्छ ।
खै त कहाँ भएको छ त्यस्तो छलफल ?
सबै पक्षसँग छलफल गरेको छु ।
तपार्इंले छलफल गर्नुभएको होला । तर पार्टीले लिनुपर्ने दृष्टिकोण र कार्यक्रमका विषयमा छलफल भएको छैन नि ?
महाधिवेशन नीतिमुखी छैन । गाउँदेखिको निर्वाचन हेर्ने हो भने गाउँस्तरमा छलफल गर्ने भन्दा पनि सिधै निर्वाचन, प्रतिस्पर्धा मात्र भइरहेको छ । महाधिवेशन निर्वाचनमुखी भयो । नीतिमुखी महाधिवेशनको जरुरी छ । आउने दिनमा व्यवस्थित गर्नुुपर्छ । पार्टीले नीतिगत निर्णय गर्न छुट्टै अधिवेशन गर्ने कि, महासमितिको बैठक गर्ने भनेर अहिल्यै गम्भीर भएर सोच्नुपर्छ ।
कांग्रेसमा त बनाएको नीति पनि कार्यान्वयनमा आउँदैन नि ?
पार्टी संवाद क्लबजस्तो भयो । नीति बनाउन नसक्ने भन्दा पनि कार्यान्वयन गर्न नसक्ने अवस्थाले गर्दा पार्टी कमजोर भएको छ । छलफल गर्ने, नीति बनाउने र त्यसै छाडिदिने गरेकाले यो पार्टी टकिङ क्लबजस्तो भयो भनेर मैले भनेको हुँ । अहिले पार्टीको स्थिति तार चुँडिएको टेलिफोनजस्तो भएको छ । नेता के भन्छन् कार्यकर्तालाई थाहा हुन्न । कार्यकर्ता के भन्छन् नेतालाई थाहा हुन्न । यति आधुनिक जमानामा पनि पार्टीभित्र कम्युनिकेसन नेटवर्क बनाउन सकिएको छैन । अहिले पनि हाम्रा रेकर्ड र डकुमेन्ट हेर्यौं भने मुन्सी पाराकै छन् ।
बूढो पार्टी भएकाले यस्तो भएको हो कि ?
बूढो त म भन्दिनँ । कांग्रेस लोकतन्त्रको नारा दिएर संघर्ष र आन्दोलनको शंखनाद गर्ने जेठो पार्टी हो, आधुनिकीकरणको दिशामा प्रभावकारी ढंगले अघि बढाउन सकिएको छैन । कार्यशैली बूढो हो ।
पार्टीमा युवाहरूलाई कसरी आकर्षित गर्नुहुन्छ ?
युवाहरूको ठाउँ १२ औं महाधिवेशनपछि प्रशस्त विकसित भएको छ । अहिले पनि केन्द्रमा थुप्रै युवा नेता छन । एउटै घटनाक्रमले नेतृत्वको विकास हुन्न । भरपर्दो र विश्वासिलो युवा नेतृत्व हाम्रो पार्टीभित्र धेरै विकसित भइसकेको छ ।
१२ औं महाधिवेशनलाई एकताको महाधिवेशन भनिएको थियो । अहिले पनि एकताकै महाधिवेशन भनेर जाने हो ?
यो एकता र वैचारिक पुनर्जागरणको महाधिवेशन हो । समग्र रूपबाट पार्टीको आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउने महाधिवेशन पनि हो । यो महाधिवेशनमा पार्टीलाई समग्र रूपबाट एकताबद्ध बनाउनेतिर सबैको ध्यान केन्द्रित हुन्छ ।
‘मेरो दाबेदारी महामन्त्रीमै हो तर म यसमा खुला छु’
सभापति सुशील कोइरालाको निधनले पार्टीमा अप्ठ्यारो परिस्थिति निर्माण भएको हो ?
सभापतिको निधन भएको दु:खद बेला तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता छ । महाधिवेशन सम्पन्न गर्नुपर्ने हाम्रो पहिलो जिम्मेवारी हो । पार्टी सभापतिको छनोट महाधिवेशनको महत्त्वपूर्ण पाटो हो ।
सुशील कोइरालापछि पार्टीको विरासत कसले लिन्छ जस्तो लाग्छ ?
लोकतन्त्रमा विरासत हुँदैन । लोकतान्त्रिक प्रक्रियाअनुसार नेतृत्वको हस्तान्तरण हुन्छ । सँगै देशको अवस्थाअनुसार राजनीतिक कार्यक्रम र नीतिको निर्माण हुन्छ । विरासत भनेको तानाशाही प्रणाली हो । सामन्ती प्रणालीको शब्दावली हो । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ । नयाँ संविधान जारी गरेका छांै । नयाँ संविधानअनुसारको संरचनाको प्रक्रियामा हामी छांै । यसका लागि कांग्रेसले सांगठनिक र नेतृत्वको हिसाबले आफूलाई तयार गर्नुपर्छ ।
तपाईंले नस्विकारे पनि कांग्रेसमा विरासतबाटै नेतृत्व स्थापित हुँदै आएको छ नि ?
त्यस्तो छैन । कहाँ त्यस्तो देखिन्छ ?
कांग्रेसको इतिहासमा लामो समय कोइराला परिवार नेतृत्वमा थियो । यो विरासत होइन ?
हाम्रो मुलुकमा मात्रै होइन, दक्षिण एसियामै यस्तो छ । राजनीति, शासन प्रणाली र अरू पेसामा पनि प्राय: बाबु जेमा लागेको छ, छोराछोरी त्यसैमा लाग्ने चलन छ । कांग्रेसमा लामो समय यस्तो देखिएको हो । यहाँ मात्रै होइन । भारतमा पनि छ, बंगलादेश, पाकिस्तान र अमेरिकमा पनि छ । यसलाई अन्यथा रूपमा लिनु हुँदैन ।
अब कांग्रेसको सभापति को हुन्छ ?
अहिले सभापतिका लागि प्रमुख रूपमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल दाबेदार हुनुहुन्छ । यी दुईमध्ये एकजना हो नेतृत्वमा आउने । हुन त अरू आकांक्षीको नाम पनि आइरहेको छ । तर, ती नाम प्राथमिक नाम होइनन् । यी दुई जनाबीच पनि आपसमा सहमति भयो भने त्यहीअनुसार नेतृत्वको छनोट हुन्छ । भएन भने लोकतान्त्रिक प्रतिस्पर्धाबाट नेतृत्वको छनोट हुन्छ ।
सहमतिको सम्भावना देख्नुभएको छ ?
हिजो रामचन्द्रजीले मलाई फोन गर्नुभएको थियो । उहाँले मलाई पार्टी म राम्रोसँग चलाउँछु भनेर आफ्नो लागि भन्नुभयो । मैले लोकतान्त्रिक प्रणालीमा राजनीति गर्दा अन्तत: सत्ताका लागि गरेको हुन्छ । अन्तिम चाहना प्रमुख कार्यकारी प्रधानमन्त्री बन्ने नै हो । तपाईंको चाहना पनि प्रधानमन्त्री बन्ने हो । शेरबहादुरजीको चाहना पनि प्रधानमन्त्री नै बन्ने हो । पार्टी सभापति बन्नुको अर्थ पार्टीको माध्यमबाट कार्यकारी प्रमुखमा नै पुग्ने हो । सभापति त एउटा माध्यम मात्र हो । तपाईंहरूमध्ये एकजना पार्टी सभापति र एकजना प्रधानमन्त्री बन्नुहोस् भनेर पौडेलजीलाई सुझाव दिएको थिएँ । यो भयो भने ६०/४० को भागबन्डाको अन्त्य हुन्छ । सहमतिको सन्देश जान्छ । मैले रामचन्द्रजी तपाईं प्रधानमन्त्री बन्नुहोस् र शेरबहादुरजी पार्टी सभापति बन्नुहुन्छ भनेँ । उधारो प्रधानमन्त्री होइन । कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएकै बेला तपाईं प्रधानमन्त्री बन्नुहोस्, त्यसका लागि शेरबहादुरजीसँग वचनबद्धता लिनुहोस् । त्यसका लागि मेरो के भूमिका हुन्छ म सहयोग गर्छु भनेँ ।
त्यसो भन्दा पौडेलको जबाफ के थियो ?
कुरा गरौंला भनेर कुरा मोडिदिनुभयो ।
तपाईंलाई सहमति हुन्छ जस्तो लाग्छ ?
सुशील कोइराला जीवित भएकै बेलामा पौडेल सभापतिको उम्मेदवार बन्ने चर्चा थियो । तर, सबैले कोइराला नै उम्मेदवार बन्नुहुन्छ भन्थे । त्यस्तो बेलामा रामचन्द्रजीलाई प्रधानमन्त्रीका रूपमा सहयोग गर्ने गरी मिलाउनुहोला भन्ने थियो । त्यही हिसाबले मैले पौडेलजीलाई यो कुरा राखेको हो । यो स्वाभाविक पनि छ ।
धेरैजसो जिल्लाबाट महाधिवेशन प्रतिनिधि छानिइसकेका छन् । देशभरको तथ्यांकअनुसार देउवा पक्ष कति सबल छ ?
देशभरमा हेर्दा शेरबहादुरजी नै बलियो हुनुहुन्छ । वातवरण पनि पनि बनेको छ । सुशील कोइरालाले असोज २५ मा प्रधानमन्त्रीमा प्रतिस्पर्धा गरेपछि पार्टीभित्र उहाँहरूकै पक्षमा नकारात्मक सन्देश गएको छ । सुशीलजीले प्रधानमन्त्रीमा उठ्न हुँदैनथ्यो भन्ने थियो । उहाँको कार्यकालमा संविधान जारी भयो । सार्क सम्मेलन भयो । भारतसित विद्युत् व्यापार सम्झौता (पीटीए) भयो । अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत् आयोजना बनाउन परियोजना विकास सम्झौता (पीडीए) लगायत धेरै काम भएका थिए । तर, त्यत्तिले मात्र पुग्दो रहनेछ । पार्टीभित्र प्रधानमन्त्रीम्ाँ सुशीलजीले उठ्न हुन्न । अब शेरबहादुरजीलाई अघि बढाउनुपर्छ भन्ने मनोविज्ञान थियो । त्यतिबेलै पनि सुशीलजी नउठेर शेरबहादुरजीलाई दिएको भए हुन्थ्यो भन्ने आम भावना थियो । दोस्रो कुरा, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाबीच पार्टी एकता भएको थियो । पार्टी एकीकरण हुँदा मपछिको नेता तपाईं नै हो भनेर गिरिजाबाबुले भन्नुभएको थियो । शेरबहादुरमा नेतृत्वको क्षमता छ । गुण छ । कुनै पनि मुद्दालाई छिटो बुझ्नुहुन्छ र समाधानतर्फ पनि अग्रसर हुनुहुन्छ । उहाँ अरू दलहरूका लागि पनि सहज हुनुहुन्छ । सुशीलजी हुँदा नै अब शेरबहादुर हो भन्ने देखिएको थियो । यी सबै आधारले शेरबहादुरजी नै बलियो हुनुुहुन्छ ।
देउवा के आधारमा अगाडि हुनुुहुन्छ ?
पूर्वाञ्चल र मध्यमाञ्चलमा गिरिजाप्रसादको संगठन थियो । उत्तराधिकारीका रूपमा सुशील आउनुभयो । उहाँहरू बलियो भएका यी दुवै क्षेत्रमा समेत अहिले शेरबहादुरजी बलियो हुनुहुन्छ ।
तपाईं कुन पदमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ?
मेरो तयारी महामन्त्रीकै लागि हो । शेरबहादुरजी सभापति उठेपछि स्वाभाविक रूपमा यसपटक पनि म महामन्त्रीकै उम्मेदवार हो । तर, म खुला छु । सुशील कोइरालासँग काम गरेका धेरै इमानदार र प्रभावशाली साथी हुनुहुन्छ । रामचन्द्रजीको आफ्नो संगठन छैन । आन्तरिक शक्तिको हिसाबले कि सुशीलजीको संगठन हो कि त शेरबहादुरजीकै संगठन हो । गिरिजाप्रसाद कोइरालाको संगठनलाई सुशीलजीले निरन्तरता दिनुभयो । पौडेलजी संगठन होइन । व्यक्तित्व हो । अहिले उताबाट (संस्थापन) पनि धेरै साथी शेरबहादुरजीको टिममा आउन खोजिरहनुभएको छ । त्यसका लागि व्यवस्थापन गर्नुपर्यो भने म महामन्त्रीमा उम्मेदवार नहुन पनि सक्छु । उपसभापति हुनका लागि पनि म तयार छु ।
संस्थापनका अर्जुननरसिंह केसीलाई देउवाको टिममा महामन्त्रीको उम्मेदवार बनाउने चर्चा छ नि ?
छलफल जारी छ । शेरबहादुरजीले भन्नुभएको छ, जिम्मेवारी मेरो काँधमा छ । पार्टीलाई एक बनाएर लैजान्छु । हरेक साथीलाई समेटेर लैजान्छु भन्नुभएको छ । सुशील कोइरालासँग रहेर काम गरेका साथीहरूका लागि पनि उहाँ खुला हुनुुहुन्छ । मैले शेरबहादुरजीको काममा सघाउनुपर्छ भन्ने सोच बनाएको छु ।
नेतृत्वमा पुग्नका लागि तपाईंहरूको एजेन्डा के छ ?
नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी शासन प्रणालीमा अघि बढाउनु नै अहिलेको राजनीतिक एजेन्डा हो । यसमा कांग्रेसको विशेष भूमिका हुनुपर्छ । अरू पार्टीहरू खासगरी कम्युनिस्ट विचारधारमा आधारित पार्टीहरू मूल रूपमा लोकतान्त्रिक पार्टी होइनन । यिनीहरू बाध्य भएर लोकतान्त्रिक प्रणालीमा आएका हुन् । लोकतन्त्र र संघीयताको एजेन्डा भनेको कांग्रेसको हो । कांग्रेसले नयाँ संविधानलाई कार्यन्वयन कसरी गर्ने ? चुनौतीलाई कसरी सम्बोधन गर्ने र सफलतापूर्वक संघीय संरचना कसरी सञ्चालन गर्ने भन्ने नै हाम्रो एजेन्डा हो ।
अहिले कांग्रेस दुइटा पार्टीजसरी भागबन्डामा चलिरहेको छ । पार्टीभित्र भावनात्मक एकता गर्ने खालको एजेन्डा छैन ?
पार्टी भावनामा चल्दैन । भावनात्मक एकताको कुनै अर्थ छैन । एकता भनेको राजनीतिक एकता हो । भावना र राजनीतिक सिद्धान्त अलगअलग कुरा हुन् । राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता, मिश्रित निर्वाचन प्रणाली, धर्मनिरपेक्षता र अहिंसा तथा शान्तिको एजेन्डाका आधारमा एकता हुन्छ ।
यो नै भावना होइन र ?
होइन । यो विचार र सिद्धान्त हो । भावना भनेको अमूर्त कुरा हो । भावनात्मक एकताको पहिलो सर्त राजनीतिक एकता र सहकार्य हो ।
महाधिवेशन प्रक्रिया लोकतान्त्रिक छ । पार्टी सञ्चालन प्रक्रिया किन लोकतान्त्रिक हुन नसकेको हो ?
त्यो राम्रो अभ्यास होइन । यसलाई सुधार गरेर अघि बढ्नुपर्छ । सुशील कोइरालाको कार्यकालमा कार्यसम्पादन समिति बनेन । विभागहरूले राम्रो गरी काम गरेनन् । त्यसैकारण पदाधिकारी बैठक बस्नुपर्यो भनियो । पदाधिकारीबाहेक पनि सभापतिलाई मन लागेका सदस्य थप हुन्थे । कार्यसम्पादन समिति बनाएर अघि बढ्नुपर्छ ।
सभापतिका लागि शेरबहादुर देउवा र रामचन्द्र पौडेल दाबेदार हुनुहुन्छ । यी दुईमध्ये नै एकजना हो नेतृत्वमा आउने ।
सहमतिमा देउवा र पौडेलमध्ये एकजना सभापति, एकजना प्रधानमन्त्री बन्दा पार्टीभित्र एकताको सन्देश जान्छ ।
पार्टीमा जित्नेले पराजित हुनेलाई उचित ठाउँ दिएमा भागबन्डा स्वत: अन्त्य हुन्छ ।
१२ औं महाधिवेशनपछि पार्टीभित्र ६०/४० को भागबन्डा संस्थागत भयो । यसलाई मेट्ने कुनै एजेन्डा छ कि ?
रामचन्द्र पौडेल र शेरबहादुर देउवाबीच सहमति भएर एउटा सभापति भएमा भागबन्डाको अन्त्य हुन्छ । सहमति भएन र लोकतान्त्रिक विधिबाट सभापति छानिएर पार्टीलाई संस्थागत र लोकतान्त्रिक विधिबाट अघि बढाउँदा पनि भागबन्डा अन्त्य हुन्छ ।
१२ औं महाधिवेशनमा पनि मतदानबाटै नेतृत्व चयन भएको हो । किन भागबन्डा भइरह्यो त ?
जित्नेले हार्नेलाई उचित सम्मान गरेमा यस्तो भागबन्डा हुँदैन । अमेरिकामा त ओबामाले राष्ट्रपतिमा जितेपछि आफ्नै प्रतिस्पर्धी हिलारी क्लिन्टनलाई विदेशमन्त्री बनाए । त्यसो गर्न सकेमा पार्टी एकढिक्का हुन्छ ।
शेरबहादुर सभापति निर्वाचित हुनुभयो भने अहिले देखिएको ६०/४० को भागबन्डा अन्त्य हुन्छ त ?
उहाँले पार्टीलाई एकजुट बनाउनुहुन्छ । उहाँले जितेपछि हार्नेलाई पनि उचित स्थान दिएर एक बनाउने काम गर्नुहुन्छ । बीपी कोइरालाले जनमतसंग्रहमा बहुदलको हार र निर्दलको विजय हुँदा चुनाव परिणामलाई स्वीकार गर्नुभएको थियो । तर, तत्कालीन राजा वीरेन्द्रले हार्ने बहुदल पक्षको भावनालाई नसमेटी एकतर्फी रूपमा संविधान संशोधन गरेपछि वीपीले संविधानमा बहुदलवादी पक्षको ठाउँ कहाँ छ भन्ने प्रश्न उठाउनुभएको थियो । पार्टीमा जित्नेले पराजित हुनेलाई उचित ठाउँ दिएमा भागबन्डा स्वत: अन्त्य हुन्छ ।
विधान संशोधन गरेर पदाधिकारी बढाउने कुरा आइरहेको छ नि ?
यो सम्भव छैन । व्यक्तिको व्यवस्थापन गर्नका लागि विधान संशोधन गरी पदाधिकारी बढाउनु जरुरी छैन ।
पदाधिकारी बढाउने प्रस्ताव केन्द्रीय समितिमा आयो भने तपाईंहरू के गर्नुहुन्छ ?
हामी मान्दैनौं ।
तपाईंहरूको ठहर संस्थापन पक्षले व्यक्तिको व्यवस्थापनका लागि मात्रै पदाधिकारी बढाउने प्रस्ताव गरेको भन्ने हो ?
हो । अरू कुनै कारण छैन ।
केन्द्रीय कार्यसमितिको संख्या बढाउने कुरा पनि चलिरहेको छ नि ?
मुलुक संघीय संरचनाअनुसार अघि बढेको छ । यही संरचनाअनुसार पार्टीको संरचना पनि बनाउनुपर्छ । हरेक प्रदेशमा पार्टीको समिति गठन गर्नुपर्ने हुन्छ । पार्टीलाई संघीय संरचनाअनुसार रूपान्तरण गर्न बाँकी नै छ । अहिले अस्थायी रूपमा पदाधिकारीको संख्या बढाएर के काम ? मुलुकको शासन प्रणाली जस्तो हुन्छ, पार्टीको संरचना पनि त्यस्तै हुनुपर्छ । पदाधिकारी बढाउनुभन्दा प्रदेशअनुसारको पार्टीको संरचना बनाउनुपर्छ ।
केन्द्रीय कार्यसमितिको संख्या सयभन्दा बढी पुर्याउने योजना छ नि ?
मलाई थाहा छैन । अहिले १४ अञ्चलबाट प्रतिनिधित्व हुने व्यवस्था छ । संख्या १४ नै रहने, सात प्रदेशमा प्रत्येक प्रदेशबाट दुई/दुई जना निर्वाचित गर्ने भन्ने अनौपचारिक सहमति भएको हो । त्यसमा दुईको ठाउँमा तीन हुन सक्ला । त्यो बेग्लै हो । विधानको मूलभूत संशोधन गर्ने महासमितिले हो । महाधिवेशन नेतृत्व चयनमा व्यस्त हुन्छ । चार वर्षको अवधिभित्रमा प्रत्येक वर्ष महासमितिको बैठक हुने भनिएको छ । महासमितिको बैठकबाट विधान संशोधन हुने व्यवस्था छ । १३ औं महाधिवेशनमा पदाधिकारी बढाउनु थियो भने पहिल्यै किन महासमितिको बैठक नगरेको ?
संस्थापन पक्षमा सभापतिको एउटै उम्मेदबार बनाउने चुनौती छ, तपाईंहरूलाई कस्तो खालको चुनौती छ ?
हाम्रोमा सभापतिको उम्मेदवार बनाउन कुनै चुनौती छैन । अरू पदाधिकारीमा केही साथीको इच्छा छ । तिनलाई व्यवस्थापन गर्नु छ । संस्थापन पक्षबाट केही साथी आउने कुरा भइरहेको छ । उहाँहरूलाई कसरी व्यवस्थापन गर्ने भन्नेबाहेक अरू केही चुनौती छैन ।
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses