दु:ख दिने जुम्रा - जुम्रा के हो ? कसरी पर्छ ? कसरी सर्छ ? यसबाट कसरी जोगिने ?

रातोघर, फाल्गुन ९, २०७२- भाइ बहिनीमध्ये धेरैलाई जुम्राले सताएको हुन सक्छ  । बच्चादेखि वृद्धसम्मलाई सताउँछ यसले  । अहिले ठूलो हुनुभएकामध्ये पनि धेरैलाई सानामा जुम्राले सताएको हुनुपर्छ  । जुम्रा के हो  ? कसरी पर्छ  ? कसरी सर्छ  ? यसबाट कसरी जोगिने  ? भाइबहिनीहरूलाई यसबारे जानकारी दिँदै छौं  ।  जुम्रा, कीरा/फटयांग्रा समूहमा पर्ने जीव हो  । यसको तीन जोडी खुट्टा हुन्छ  । जुम्राको खुट्टामा मसिनो वस्तु च्याप्प समात्न सक्ने रौं हुन्छ  । त्यसैले जुम्राले मान्छेको रौं समातेर मज्जाले हिँडडुल गर्न सक्छ  । यो परजीवी हो  । परजीवी भनेको अरूमा भर परेर बाँच्नु हो  ।  त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका प्राणीशास्त्री डा.मुकेशकुमार चालिसेका अनुसार जुम्राको मुखमा टोक्ने र चुस्ने गुण हुन्छ  । ‘त्यसैले छालामा टोक्छ र त्यही मुखले मान्छेको रगत तान्न सक्छ,’ चालिसेले भने, ‘जुम्राले आफ्नो सुँडले धेरै कुराहरू छोएर थाहा पाउँछ  ।’ जुम्राको जुंगा पनि हुन्छ  । पेट ठूलो हुन्छ  । एकपटक मान्छेको रगत चुसेपछि २४ घण्टासम्म खुराक पुग्छ  । धेरै रगत खाएपछिको जुम्रालाई ढाडी भनिन्छ  ।  डा.चालिसेका अनुसार मान्छेमा पाइने जुम्रा तीन प्रजातिका हुन्छन्  । टाउको अर्थात् कपालको जुम्रा जुन कालो हुन्छ  । कपडामा बस्ने जुम्रा जुन सेतो हुन्छ  । गुप्तांग वा अप्ठ्यारोमा बस्ने जुम्रा जसलाई ‘गंगटे जुम्रा’ भनिन्छ  । गंगटेलाई चम् जुम्रा पनि भनिन्छ  । गंगटाको जस्तो आकार भएकाले चम् जुम्रालाई गंगटे जुम्रा भनिएको हो  । यो निकै सानो हुन्छ  ।  ‘यी सबै आ–आफ्ना ठाउँ बस्न रुचाउँछन्,’ डा.चालिसे भन्छन्, ‘मान्छेलाई आफ्नो ठाउँ प्यारो भएजस्तै  ।’ कपालमा बस्ने जुम्रा कपालमा मात्र, कपडामा बस्ने जुम्रा कपडामा मात्र र चम् जुम्राचाहिँ आँखीभौं, काखी र गुप्तांगमा बस्छ  ।  तीनमध्ये चम् जुम्रा चलाख हुन्छ  । यो छिटो छिटो लुक्न सक्छ  । यो टाँसिएको टाँसियै भएर बस्छ  । जुम्राको आयु मुस्किलले एक महिनाको हुन्छ  । ‘त्यसलाई शरीरको तातो चाहिन्छ,’ डा.चालिसे थप्छन्, ‘मान्छेको शरीरमा बस्न पाएन भने मरिहाल्छ  ।’ नौ/दस दिनमै वयस्क हुन्छ  । वयस्क हुनासाथ त्यसले फुल (अण्डा) पार्छ  । आहारा पायो र न्यानोमा बस्न पायो भने एउटैले सयवटासम्म अण्डा पार्छ  ।  अण्डाचाहिँ मान्छेको कानको पछाडि, चस्मा लगाउने व्यक्ति छ भने चस्माको डन्डी, गर्दनमा पार्न रुचाउँछ  । मान्छेले झट्ट थाहा नपाऊन् भनेर यसो गरेको हो  । त्यसो हुँदा लुक्न पनि सजिलो हुन्छ  । त्यो ठाउँमा तातो बढी हुने भएकाले पनि जुम्राले बढी रुचाएको हो  । यसको अण्डालाई नै लिखा भनिन्छ  । भाले जुम्रा र पोथी जुम्रामा अलिकति फरक हुन्छ  । अण्डा पार्नुपर्ने भएकाले पोथी ठूलो आकारको हुन्छ  ।  जुम्राको टोकाइले ‘टाइफस’ भन्ने ज्वरो आउने सम्भावना हुन्छ  । यसले बेलाबखतमा महामारीको रूप पनि लिन सक्छ  । दोस्रो विश्वयुद्धभन्दा अघि विश्वभरि नै ‘टाइफस’ संक्रामक रूपमा फैलिएको थियो  । सफाइ कम भएका स्थान, फोहोर कपडा, नुहाइधुवाइको कमी भएका ठाउँमा जुम्रा फैलिन्छ  । दोस्रो विश्वयुद्धपछि विकसित मुलुकहरूमा शिक्षाको प्रवद्र्धन हुनाका साथै सरसफाइ अभियान बढ्यो र जुम्रा विस्तारै लोप हुँदै गए  । जुम्रा मार्न त्यतिबेला ‘डिडिटी’ को प्रयोग पनि गरियो  ।  अहिलेसम्म अमेरिकाको फ्लोरिडास्थित कृषि अनुसन्धान विश्वविद्यालयले जुम्राको अध्ययन गरेको पाइन्छ  । जुम्रोको दिसा कालो हुन्छ  । मान्छेको रगत नै उसको दिसा हो  । जुन सानो सानो थोप्ला आकारमा हुन्छ  । जानकारहरूका अनुसार मान्छेको उत्पत्तिसँगै जुम्राको पनि उत्पत्ति भएको विश्वास गरिन्छ  । ‘त्यसैले मान्छेको उत्पत्ति कहिले भयो होला भनेर वैज्ञानिकहरूले जुम्रालाई अनुसन्धानमा प्रयोग गरिरहेका छन्,’ डा.चालिसे भन्छन्  ।  सफाइको कमी, फोहोर कपडा, नुहाइधुवाइको कमी भयो भने जुम्रा पर्न सुरु हुन्छ  । जुम्रा परेको व्यक्तिसँग सुतेमा सहजै जुम्रा सर्छन्  । ‘सरसफाइ रहनु नै जुम्राबाट जोगिने मुख्य उपाय हो,’ डा.चालिसेसको सुझाव छ, ‘फोहोर लुगा नलगाउने, कपडा साटेर नलगाउने, जुम्रा भएको थाहा पाए सँगै नसुत्ने, त्यस्ता व्यक्तिको टोपी नलगाए जुम्रा सर्दैन  ।’ अहिले जुम्रा र लिखाबाट जोखिन बजारमा अनेक किसिमका एन्टिडेन्ड्रफ स्याम्पु, लोसन, तेलजस्ता औषधि पाइन्छन्  । त्यसको प्रयोगले पनि जुम्राबाट जोगिन सकिन्छ  ।

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
,

0 comments

Write Down Your Responses