नेताले गर्नुपर्ने कम एउटा गायकले गरिदेखाए: भूकम्पमा मृत्यु भएकाको स्मृतिमा बनाए गायक राजु लामाले झोलुङ्गे पुल, हेर्नुहोस् फोटोहरु सहित

रातो घर, सिन्धुपाल्चोक–जुगल हिमालको फेदैमा, आमा याङरीको पाउमा अवस्थित सिन्धुपाल्चोक बरुवा—१, तासिबामा विभिन्न गाउँका स्थानीय जम्मा हुँदै थिए । सबैको हात—हातमा खादा थियो । खुशीले सबैको मुहार चम्किरहेको थियो । ती लेकाली तामाङको गाला स्याउ जस्तै राता । ९० वर्षको जेष्ठ नागरिक देखि साना–साना वालवालिका थिए । हामी पुग्ने वित्तिकै उनीहरुको प्रतिक्षाको घडी सकिएको थियो ।
उनीहरु कुनै लामा, गुरु वा कुनै जन्तीको प्रतिक्षामा थिएनन्, उनीहरु त आफ्नै गाउँको छोरा अर्थात सुनचौर घर भएका मंगोलियन हर्टका चर्चित गायक राजु लामा र उनका साथीको प्रतिक्षामा थिए । यतिखेर चर्चित गायक राजु लामा गायकको रुपमा मात्र गाउँमा पुगेका थिएनन् । उनी त समाजसेवी पनि बनेर पुगेका थिए । अनि तासिबामा राजुको भव्य स्वागत भयो । हर्षका आँशु सबैको आँखामा मोती झैं चम्किरहेको थियो ।
गायक तथा समाजसेवी राजु लामा पनि भूकम्पका कारण सबै थोक विर्सेर पनि खुशी देखिएका र घरका भाग्नावशेष देखेर भावुक हुँदै आँशु खसाउन पुगेका थिए । गायक राजु आफ्नै पहलमा बनेको झोलुंगे पुल उद्घाटन गर्न र पहिलो चोटी आफ्नो गाउँमा ‘लाइभ कन्सर्ट’ गर्न पुगेका थिए ।
तासिबा निवासी ८० वर्षीय फूर्वा ग्याल्मो तामाङ पनि राजुको स्वागतमा सामेल थिए । उनी धेरै खुशी देखिन्थे । ‘भूकम्प पछि खोला तर्न कठीन भयो मलाई । मेरो इष्टमित्र कहाँ जान पुल नभएपछि कहीं जानै सकेनौं । राजुले पुल बनाई दिनुभयो । अब चाहिं म मेरो आफन्तकोमा जान सक्छु ।’ उनी बोल्दै थिइन्, ‘साह्रै खुशी लागेको छ । खुशी भएर यहाँ आएको । खुशी भएर म त राजुलाई नमस्कार गर्न आएको ।’
यसैबीच स्थानीय लातेन डोल्मो ह्योल्मो पनि राजुले पुल बनाएपछि खुशी छिन् । ‘म धेरै खुशी छु । पहिला कलाकारको रुपमा मात्र चिनिनु हन्थ्यो, अहिले समाजसेवी पनि बन्नुभयो ।’ उनले भन्दै थिए, ‘कलाकार र समाजसेवी बनेर राष्ट्रको छोरो बन्नु भयो । दुःख जति आफूले लिने र सुख चाहिं बाँड्नुपर्छ भन्ने कुरा राजुले गरेर देखाउनुभयो ।’
राजुले ‘मायाको साँघु’ निर्माणका लागि स्थानीय सुरेन्द्र तामाङ (कामी)लाई जिम्मा दिए । तामाङले पनि बडा मिहनेतका साथ काम गरे । अनि २ महिनामा नै काम सम्पन्न भयो । सरकार वा अन्य गैरसरकारी निकाय आउन नमान्ने ठाउँमा राजुले यति धेरै सहयोग गरेर गाउँलेलाई ठूलो गुण लगाएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष समेत रहेका तामाङले बताए ।
भूकम्पपछि यहाँका बासिन्दाहरु खोला तरेर आवत जावत गर्न धेरै कठीन भएको देखेपछि बनाएरै छाड्ने ग्यारेन्टी राजु लामाले लिएको उनले बताए । ‘उहाँले मिहनेत गर्नुभयो । साँच्चै बन्यो ।’ उनले भने, ‘वर्षातको बेला वारिको वारि अनि पारिको पारि । आफूलाई चाहिने खानेकुरा ल्याउन समेत समस्या भएको थियो ।’ आफूहरुले गुहार्ने ठाउँ नभएको गुनासो पोख्दै उनले भने, ‘कसलाई गुहार्ने ? सरकारको ताल त्यहीं हो, सरकारले बनाएको भए ५ वर्ष लाग्थ्यो होला । तर हामीले २ महिनामा बनायौं ।’
सुनचौरका ५५ वर्षीय बीरकाजी तामाङ यो पुल नहुँदा धेरै दुःख व्यहोरेको बताउँदै थिए । याङरीबाट ल्याएको चामल खोला तर्दा खोलामै खसेपछि छाक टर्न समेत मुस्किल भएको थियो उनलाई । पुल बनेपछि उनी पनि धेरै खुशी भएका छन् । ‘अब चाहिं त्यस्तो नहुने भयो । राजुले हामीलाई यत्रो ठूलो सहयोग गर्नुभयो ।’ उनले भन्दै थिए, ‘सरकारले नसक्ने काम राजुले पनि गर्न सक्दैन भन्ने लागेको थियो हामीलाई, तर उहाँले सक्नुभयो ।’
स्थानीय निमा दाङबो तामाङसँग खुशीका साथमा चिन्ता पनि छ । उनको गाउँमा पुग्न अझै ३ वटा पुलको आवश्यक छ । सबै पुल भूकम्पले ध्वस्त बनाएको छ । बर्षमा खोला तर्न कठीन छ । ‘राजु लामाले हाम्रो लागि ठूलो गुण लगाउनुभएको छ । अब बाँकी कामको लागि पनि उहाँले पहल गरिदिए हुन्थ्यो ।’ उनले भने । यसैगरि याङरी निवासी गोपाल स्ह्योङबो राजुको कामप्रति खुशी व्यक्त गर्दै गाउँ—गाउँबाट राजु लामा निस्कीनुपर्ने बताए ।
पुल निर्माण भएपछि पुलले सबैलाई जोडेकोमा गायक राजु लामा पनि खुशी छन् । गतवर्षको भूकम्पको बेला उनी अमेरिका थिए । भूकम्पले देशैभरि पु¥याएको क्षति, भूकम्पका कारण आमा घाईते भएको खबर र याङरी खोला पहिरोले थुनेर ताल बन्यो भन्ने खबरले उनलाई मर्महत बनाएको थियो । ‘गाउँको अवस्था बुझ्ना गाउँ आएँ । भूकम्पले जे जति क्षति भयो, यसले मेरो मुटुमा गहिरो चोट प¥यो । पीडाबोध भयो ।’ लामाले भने, ‘सबैभन्दा पहिलो मैले आवत जावतको समस्या देखें । यहाँको पूल क्षतिग्रस्त थियो । जे जति दुःखमा परेपनि सबैलाई मायाले बाँधिराख्नका लागि यो पुल बनाउने सोंचका साथ गाउँबाट फर्कें ।’
समाजसेवीका रुपमा स्थापित लामाले आफ्नो व्यक्तिगत लगानी र पहलमा तासिबामा झोलुंगे पुल निर्माण गरेका छन् । उनले यो पुलको नाम ‘मायाको साँघु’ नामाकरण गरेका छन् । ‘बरुवा गाविसमा निधन भएका १ सय २१ र देशैभरि निधन भएका ९ हजार जनाको स्मृतिमा यो पुल बनाएको हुँ ।’ भावुक हुँदै उनले भने, ‘सबैको माया यहाँ मिसिएको छ त्यसैले मैले यसको नाम ‘मायाको साँघु’ राखेको हुँ ।’
संसारको विभिन्न स्थानमा सांगितिक कार्यक्रम गरेर आफ्नो व्यक्तिगत पहलमा पुल बनाएको सुनाउँदै यो सामाजिक काम नभएको र सबैले दुःख भुल्न सकोस भनेर पुल बनाएको भन्दै गाउँबासीहरुसँग कुरा गर्दै थिए उनी । २५ दिनसम्म विभिन्न देशमा साँगितिक अभियानमा रात दिन नभनि लाग्दा आफू ५ किलो घटेको उनले सुनाउँदै थिए ।
‘यो अत्यन्तै दुर्गम ठाउँ, न सरकारले देख्छ न त सञ्चारले । त्यसैले मैले आफ्नै गाउँलाई रोजें । तपाईंहरुलाई नै रोजें ।’ गाउँलेहरुसँग भलाकुरी गर्दै थिए राजु, ‘देशमा म जस्तो धेरै युवाहरु छन्, सबैले पहल गरे गाउँको विकास हुन कति नै समय लाग्छ र ? त्यसैले सबैलाई यो सन्देश दिन चाहन्छु म ?’ गीत गाएर स्थापित हुन जति गाह्रो छ, त्यति नै गाह्रोे पुल बनाउन भएको उनले बताए ।
‘यो पूल बरुवा—१ तासिबामा बने पनि यो पुलको नाम ‘मायाको साँघु’ राखेको छु । ‘मायाको साँघु’ तरेर गएपछि सबैलाई राम्रो होस् ।’ उनले गाउँका सबैसँग भन्दै थिए, ‘यो मेरो मायाको चिनो, मुटुको टुक्रा, ‘मायाको साँघु’ सम्हालेर राख्नुहोस् है हजुर ।‘
राजु लामा फाउन्डेशन न्यू योर्क, अमेरिकाको संयोजनमा निर्माण भएको यो पुल ७५ मिटर लामो रहेको छ । यो पुल करिब ४२ लाख लगानीमा बनेको थियो । राजुले यति धेरै पैसा आफ्नो मिहनेत र श्रम गरेर जम्मा पारेका थिए । पैसा जुटाउन न्यूयोर्क, स्वीजरल्याण्ड, हङकङ, जापान, आयरल्याण्डमा कन्सर्ट गर्न सहयोग गर्नुहुने साथीहरु, केही रकम सहयोग गर्नुहुने अष्ट्रेलियाका आफ्ना शुभचिन्तक साथीहरु, र नम्स वेलफेयर फाउन्डेशन, नेपालका आनी छ्योइङ डोल्मालाई हृदय देखिको धन्यवाद समेत प्रकट गरे राजुले । साथै निरन्तर सहयोगको समेत उनले अपेक्षा गरेका छ् । पुलले भोताङ, थाङपल, बरुवा गाविसबासी लाभान्वित भएका छन् । प्रत्यक्ष लाभ लिने गाउँहरुमा ब्राथो, डाले, वाङताङ, गाङखर्क, लाखाङ, ह्रीवार, वागाङ, ब्राजो, सुनचौर आदि गाउँहरु रहेका छन् ।
पर्यटकीय महत्व
मेलाम्ची, याङरी हुँदै आमा याङरी र लाङटाङ जाने आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्थे । पर्यटकहरु आउँदा यस भेगका बासिन्दाहरुको आयस्रोतको रुपमा पर्यटक पनि थियो । तर भूकम्प पछि आन्तरिक तथा बाह्य पर्यटक ठप्पै भएको छ । अब पुल निर्माण भएपछि पर्यटकहरु आउने विश्वास छ ।
पर्यटकहरु आउँदा एउटा फर्सी ८०÷९० रुपैयाँमा विक्रि हुने गरेको स्थानीय बताउँछन् । ‘पुल नहुँदा पर्यटक कसरी आउने ? पर्यटक आउँदा हामीले भारी बोकेर पनि हातमुख जोड्न समस्या थिएन ।’ स्थानीय वीरकाजी तामाङले भने । भोताङ तरेपछि याङरी, तासिबा, सुनचौर, लाखाङ, आमा याङरी हुँदै लाङटाङ पुग्छ । आमा याङरीमा बुद्धधर्मोलम्बीहरुको महत्वपूर्ण तीर्थास्थल हो । विभिन्न ठाउँबाट दर्शन गर्न आउने गर्छन् । त्यसैले यो मायाको साँघुले भूकम्प पिडितहरुकाले लागि त राहत दियो नै पर्यटकहरुलाई समेत राहत मिल्ने छ ।
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
1 comments
Write Down Your Responses







5 June 2016 at 11:58
janma vumiko lagi kehi garnu vayachha congratulation Raju lama