पीडितको नाममा पैसा मागेर राजनीतिक दलदेखि पत्रकारसम्मको रजाईँ

रातो घर, काठमाडौं– गतवर्षको भूकम्पमा परी घरबारबिहीन बनेकाहरुको सहयोगका लागि अमेरीकामा रहेका गुल्मेलीहरुको संस्था गुल्मी अमेरीका मोडल (गाम) मुभमेण्टले पाँचलाख रुपैयाँ पठायो ।

वैदेशिक रोजगारका लागि कुवेतमा पुगेका लुम्विनी अञ्चलवासीहरु गुल्मीको बडागाउँ गाविसका अग्नी पिडितहरुलाई आर्थिक सहयोग गर्ने क्रममा । फाइल तस्बीर 
वैदेशिक रोजगारका लागि कुवेतमा पुगेका लुम्विनी अञ्चलवासीहरु गुल्मीको बडागाउँ गाविसका अग्नी पिडितहरुलाई आर्थिक सहयोग गर्ने क्रममा । फाइल तस्बीर

विदेशी भूमिमा पसिना बगाउनेहरुले आफू जन्मेको जिल्लाबासी दुःखमा हुँदा सहयोग पुगोस् भनेर गरेको सहयोग अहिलेसम्म पनि व्यक्तिको खातामा छ ।
यसपटक जिल्लाको बडागाउ लगायतका विभिन्न आगलागी पिडीतलाई राहत दिन गाम भुममेण्टले पत्रकार महासंघका सचिव तारा भुसालको बैंक खातामा तीन लाख १५ हजार ६ सय २४ रुपैयाँ पठायो तर तीन जना पिडीतलाई ३ हजारका दरले दिएको बाहेक अन्य जानकारी कतै भएन ।
यी सामान्य उदाहरण हुन् गुल्मी जिल्लाका । जिल्लामा भएका विभीन्न विपदका घटनाका विषयमा समाचारमा प्रचार गर्ने अनि विदेशमा रहेका नेपालीसंग बार्गेनिङ्ग गरेर चरम अनियमितता गर्ने गरेका प्रमाण गुल्मीमा धेरै छन् ।

पीडितको नाममा कमाउ धन्दा
गुल्मी जिल्लामा कोही विरामी परेको, परीवारले दुःख दिएको, विपद्मा परेको समाचार अन्य जिल्लाभन्दा बढी नै चर्चामा ल्याउने गर्छन् । सामान्य रुपमा हेर्दा पिडीतको घाउमा मल्हम लागाउने जस्तो देखिन्छ तर त्यो पैसा कमाउने धन्दा भएको खुलेको छ ।
‘पिडितको लागि पैसा संकलन गर्नका लागि पत्रकारहरुले प्राय आफ्नै खाता नम्बर दिन्छन, कि त मनि ट्रान्स्फरमार्फत मगाउँछन्’ गुल्मी उद्योग वाणिज्य महासंघका एक अधिकारीले भने ‘गरीव विपन्न रहेछ भने पिडीतलाई थोरै देखाएर केही पैसा आफूले राख्छन्, टाठो बाठो रहेछ भने मैले पैसा जुटाउन यति खर्च लागेको छ भनेर बार्गेनिङ्ग गर्छन ।’ यसका लागि विभिन्न संस्थामा आवद्ध व्यक्तिहरुले विभीन्न संघ संस्था समेत खोलेका छन् । केही पत्रकार, केही अधिकारकर्मी यो कार्यमा संलग्न भएको जिल्लाका प्रवुद्ध व्यक्तिहरुको आरोप छ ।

सहयोगको पैसामा राजनीति
सहयोगदाताहरुले दिएको पैसामा राजनीतिकरण गर्ने संस्कार पनि जिल्लामा तिब्र बढेको छ । एकथरीले देश विदेशबाट संकलन गरेको रकम नेपाल भित्रीसकेपछि कुनै राजनीतिक दलका नेतालाई हस्तान्तरण गर्न लगाएर राजनीति गर्छन् भने अर्कोथरीले राहतका लागि आएको रकम आफ्नो पार्टी निकटका व्यक्तिलाई मात्र बाँडेर कसैलाई काखा कसैलाई पाखा गर्छन् ।

‘यो त काम गर्ने कालु मकै खाने भालु जस्तै भएको छ’ राष्ट्रिय यूवा जनस्वयंसेवकका केन्द्रिय सदस्य खिम खड्का भने ‘जसले पैसा दिएको छ उसको थाहा पत्तै छैन तर यहाँ नेतालाई देखाएर राजनीति छ ।’


                            आगलागीबाट ध्वस्त भएको दजोकोटको एक घर
गतवर्ष भुकम्पपीडितका लागि भनेर नेदरल्याण्डबाट पठाएको पैसामा शान्तिपुरका द्रोण कार्कीले आफ्नो नजिकका व्यक्तिहरुलाई दिएको भन्दै चर्को विरोध भएको थियो । शान्तिपुरका लक्ष्मण थापाले त्यसको सार्वजनिक रुपमै आलोचना गरे । ‘धन्य रहेछौँ मेरा विद्धान भित्र, तिमीले गर्ने समाजसेवा आफ्नो पार्टीका लागि रहेछ… तिम्रो भोली मलामी पनि हुन सक्ने छु’ फेसबुकमा कडा आलोचना गर्दै उनले लेखेका छन् ।

संस्थाको नाममा चरम भ्रष्टाचार
जिल्लामा केही संघ संस्थाहरुले पिडीतलाई देखाएर चरम भ्रष्टाचार गरेका छन् । जिल्लाको कतिपय संस्थालाई केही व्यक्तिहरुले मागीखाने भाँडो बनाएका छन् ।
संस्थाको कार्यसमितिमा रहेका र काम गर्ने केही व्यक्तिलाई देखाएर बर्षेनी लाखौँ रुपियाँ चन्दा मागी केही व्यक्तिलाई पाल्ने काम गरीएको सरोकारवालाको भनाई छ । ‘जिल्लाका ठूलाबडाहरु नै त्यसैलाई हाई हाई भन्छन् तर हिसाव किताव र कामको उपलब्धि देखाउँदैनन्’ खड्काले भने ‘यो मागीखाने भाँडो जस्तै भएको छ ।

सिडिओको समेत मिलेमतो
पिडीतको नाममा मागेको चन्दा दुरुपयोग गर्नेलाई जानेर वा नजानेरै प्रमुख जिल्ला अधिकारीले समेत संरक्षण गरीरहेको आरोप सरोकारवालाको छ । भैहरेको काम कानुनसम्मत छ या छैन भनेर हेर्नुको साटो प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले अनियमिततलाई आँखा चिम्लेर प्रस्रय दिईरहेको आरोप जिल्लामा छ ।
‘कतिपय सहयोग गरेको देखाएर प्रमुख जिल्ला अधिकारीलाई नै गुमराहमा पारेका छन्, कतिले ढाँटछल गरको छन्’ जिल्ला प्रशासन कार्यालयकै एक कर्मचारीले भने ‘तर सिडिओसापले अन्धभक्त भएर उनीहरुलाई साथ दिने होईन, सहि गलत छुट्याएर काम गर्नुपर्ने हो ।’

बडागाउँका अग्नी पिडीतका लागि गुल्मी समाज यूकेबाट आएको १२ लाख १० हजार रुपैयाँ मध्ये २ लाख रुपैयाँ संस्थाको नाममा राख्न खोजेपनि आफ्नो पहलमा अग्नीपिडीतलाई नै दिएको एक पत्रकारले रातोपाटीलाई बताए ।
‘यूकेबाट रकम आएपछि २ लाख १० हजार प्रमुख जिल्ला अधिकारीको समेत सल्लाहमाएउटा संस्थालाई दिन खोजिएको थियो, तर मैले यसको विरोध गरेपछि छुट्टै शिर्षकमा वितरण वितरण गरीयो’ उनले भने ‘समाचारमा यसको पहलमा उसको पहलमा भनेर हल्ला गरीयो, रकम उठाउने बेलायतमा बस्ने नेपाली, यहाँ बाँड्नेको नाम, यो सबै नाटक हो ।’ आफ्नो पहल देखाउनका लागि पत्रकार र अधिकारकर्मीले समेत पहिला विरोध गर्ने र पछि मिलेमतो गर्ने गरेको भेटिएको पनि उनले बताए ।

आफ्ना प्रचारको लागि अनियमितालाई प्रश्रय
एउटा गैर सरकारी संस्थाले ईण्टिग्रेटेड आईडलमा छनौट गरेपछि पत्रकारलाई आफ्नो पक्षमा समाचार लेखाएर ‘आईडल पदवी’ धारण गरेका प्रजिअ कँडेल त्यसैको गुन तिर्नका लागि अनियमिततालाई पनि प्रश्रय दिईरहेको जिल्लाबासीको आरोप छ ।
जिल्लाका सबै सरोकारवालालाई खोजी गर्नुको साटो केही व्यक्तिलाई काखी च्यापेर हिँड्ने गरेकोले पनि उनी बढी आलोचित छन् ।
कँडेलले कतिपय काम सकारात्मक गरेपनि आफ्नो निकट हुनेहरुका कमजोरी आँखा चिम्लेर स्विकार्ने प्रवृत्ति गलत रहेको गुल्मी उद्योग वाणिज्य संघका एक पदाधिकारीले बताए । ‘कानुनतः गल्ती गर्ने ठूला साना सबैलाई कार्वाही हुनुपर्छ, तर यहाँ आफू निकटकालाई भतिज बनाउने चलन छ ।’ ति पदाधिकारीले भने ।
कडेललाई गृह मन्त्रालयमा पनि प्रचारमुखि आईडल पदवी दिईएको श्रोतले बतायो । ‘सिडियोको काम प्रशासन चुस्त दुरुस्त पार्ने, जिल्लामा शान्ति सुव्यवस्था कायम गर्ने पनि हो, आफू निकटका पत्रकार भेला पारेर फोटो खिच्ने सेलिब्रेटीको हो’ ति अधिकारीले रातोपाटीसंग भने ‘पत्रकार किनेर प्रचार गर्ने अनि गैर सरकारी संस्थाले दिएको आईडल गृहले दिएको मानिदैँन ।’

ठगका जालो विदेशमा पनि
नेपालमा पैसा पठाउने नाममा विदेशमा पनि ठगी गर्ने गिरोह सक्रिय छ । पिडीत, गरीव, दुखि, विरामी, अपाङ्गलाई सहयोगको नामा रकम संकलन गरेर अनियमिता गर्ने गिरोह नै सक्रिय भएको अमेरीकामा रहेका दुर्गा शर्माले बताए ।
‘यहाँ पैसा नदिनेलाई जंगली भनिभनि गठाउँछन् अनि पछि हिसाव कितावै हुँदैन’ उनले भने ‘बाटोमा बसेर चन्दा मागेको पैसा विचमै गायव हुँदा कति मन दुख्छ, तर न कसैले हिसाव दिन्छन् न कसैले सोधिखोजी ।’
उनीहरुले नेपालमा पैसा पठाउँदा संस्थागत रुपमा नपठाई व्यक्तिका नाममा पठाउने र मिलेमतोमा अनियमितता गर्ने गरेको उनले बताए ।

पिडीतलाई भने फाटेका लुगा र म्याद सकिएको चाउचाउ
पिडीतका नाममा लाखौँ रकम खर्च गरिएपनि वास्तविक पिडीतले भने आफूलाई तुच्छ व्यवहार गरेको गुनासो गरेका छन् । पछिल्लोपटकवडागाउँमा यसरी तुच्छ व्यवहार गरीएको गुनासो गरे । ‘सहयोगकै नाममा तुच्छ व्यवहार गरियो । उनले गोदाममा स्टक भएका अधिकांश कपडा पुराना तथा एकपटक लगाएका, जुत्ता चप्पल च्यातिएका, मुसाले खाएका, जोडि नभएका भेटिए’ बडागाउँ २ का नर बहादुर गाहाले भने ।
कपडा गोदममै व्यावस्थान गरिरहेका दील बहादुर सोनारीले पनि पुरानो र च्यातिएको तन्ना देखाउँदै भने धेरै जसो लेडिज सामाग्री पुराना रहेका छन् । ‘केहि त छोए च्यातिन्छन्, सबै सामानको चेकजाँच गर्ने र वितरण गर्ने काम भइरहेको छ,’ सोनारीले भने ‘बजारमा थन्काउन धौ भएका त्यस्ता सामाग्री अग्नी पीडितलाई भन्दै वडागाउँ पठाइएको छ ।’
कपडाका साथै चोकोलेट, बिस्कुट, चाउचाउ लगायतका खाद्य सामग्री पनि म्याद सकिएको वितरण गरीएको बताए । ‘कुहिएका आलु त धेरै फालियो भनेर जनताले गुनासो गरेका छन्’ इन्सेक प्रतिनिधी टोपलाल अर्यालले भने ‘ठुलै निकायले पठाएका, विभिन्न खाले चाउचाउ, बिस्कुट र भुजा म्याद नाघेका छन् ।’
साभार: रातो पाटी

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , ,

0 comments

Write Down Your Responses