दीपक मनाङ्गेलाई छुटाउन भिआइपीको फोन ! विक्रम सिंह भन्छन्–मलाई फोनले फरक पर्दैन

रातो घर, काठमाडौं– संगठित अपराधको आरोपमा पक्राउ परेका गुण्डा नाईके दीपक मनाङ्गेलाई छुटाउन नेपाली राजनीतीको उच्च तहबाट समेत प्रयत्न भएको पाईएको छ । विहिवार साँझ ठमेलबाट पक्राउ परेका मनाङ्गेलाई छुटाउन हाईलेभलबाट आफुलाई फोन आएको स्विकार्दै काठमाडौंका प्रहरी प्रमुख विक्रम सिंह थापाले भने, ‘फोन आएका छन्, त्यस्तो फोन आउँछन्, जान्छन्, सोर्स फोर्सले विक्रम थापा गल्दैन ।’

ठमेल क्षेत्रलाई केन्द्रविन्दु बनाएर गुण्डागर्दी गर्दै आएका मनाङ्गेलाई बिहीबार साँझ काठमाडौं प्रहरीको विशेष टोलीले धम्क्याएर असुल गरेको रकम सहित पक्राउ गरेको थियो ।

मनाङ्गे विरुद्ध पछिल्लो पटक महानगरीय प्रहरी परिसर काठमाडौंमा आधा दर्जन उजुरी परेपछि प्रहरीले उनलाई पिछा गरेको थियो । ठमेल क्षेत्रका ब्यापारीलाई आफ्ना केटा प्रयोग गरेर धम्की दिनेगरेको र रकम असुल गर्ने गरेकोबारे उजुरी परेपछि मनाङ्गेलाई पक्राउ गर्न बिहीवार महानगरीय प्रहरी परिसरको विशेष टोली ज्याठा पुगेको थियो ।

ज्याठाको तिलोच नामक जिमखानामा शारीरिक अभ्यास गर्ने मनाङ्गे सोही जिमखाना सँगैको होटलबाट बाहिरिँदै गर्दा पक्राउ गरे । प्रहरी स्रोतका अनुसार धम्क्याएर असुल गरेको ५० हजार प्रहरीले उनको साथबाट बरामद गरेको छ ।

कुमार घैंटे प्रहरी ईन्काउन्टरमा मारिएसँगै उनको छत्रछायाँमा रहेका केटाहरु मनाङ्गेतिर लागेका थिए । ‘ठमेल क्षेत्रमा दिपक मनाङ्गेको संयन्त्र रहेछ’ काठमाडौं प्रहरी प्रमुख एसएसपी थापा भन्छन्, ‘त्यो संयन्त्रमा रहेका अरु पाँच–सात जना छन्, तिनीहरुलाई प्रमाणको आधारमा खोजिरहेका छौं ।’

पछिल्लो पटक मनाङ्गेले शरीर बन्धक राखेर फिरौती लिएको उजुरी परेसँगै प्रहरी उनलाई पक्राउ गर्ने निष्कर्षमा पुगेको थियो । ‘मनाङ्गेले शरीर बन्धक राखेर फिरौती लिएको प्रमाण हामिसँग छ’ एसएसपी थापाले भने, ‘अरुले खुन पसिना बगाएर कमाएको पैसा आरामपुर्वक असुल्ने छुट कसैलाई छैन ।’

धम्क्याएर उठाएको पैसा खल्तिमा हाल्न नपाउँदै कर्याप्प

गुण्डागर्दी गर्नेहरुप्रति प्रहरी आक्रामक रुपमा प्रस्तुत भएसँगै आफ्ना सहयोगीहरुमार्फत रकम असुल्दै आएका मनाङ्गेलाई बिहीबार साँझ उनका सहयोगी राजिवकुमार सिंहले ५० हजार रुपैयाँ बुझाएका थिए । सोही रकम खल्तीमा हालेर ज्याठाको एक रेष्टुरेण्ट बाहिर निस्कने क्रममा मनाङ्गे प्रहरी फन्दामा परेका थिए । ‘काट्छु मार्छु भन्दै तर्साएर एकजना ब्यापारीसँग केही नगद लिएको रहेछ’ एसएसपी थापा भन्छन्, ‘नगद सहित पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं ।’

‘डन’ को नाममा ट्यापे मुन्द्रे प्रयोग गरेर लुट्ने प्रवृत्ति समाप्त पार्न खोजेको जानकारी दिँदै एसएसपी थापाले भने, ‘संगठित अपराधको जरो निमोठेर फाल्न खोजेका छौं ।’

त्यस्तै बर्षौंदेखी ठमेल क्षेत्रका ब्यापारीलाई तर्साएर रकम असुली गरेर कमाएको मनाङ्गेको लगानीबारे पनि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । उनको लागनीबारे समेत अनुसन्धान थालिएको जानकारी दिँदै एसएसपी थापाले भने, ‘यो डनको पेशा कुनै उद्योग हैन, मसल देखाएर बसि–बसि पैसा फलाउनेलाई हामी छाड्दैनौं ।’

यसअघि मनाङ्गेले ज्यानमार्ने उद्योग, सार्वजनिक अपराध र ठगीको मुद्धामा सजाय काटिसकेका छन् । चक्रे मिलनलाई ज्यानमार्न खोजेको अभियोगमा सजाय भोगेका मनाङ्गेले लक्ष्मण थारुको पार्टीको एक केन्द्रिय सदस्यलाई कुटे बापत सार्वजनिक अपराधको मुद्धा खेपेका थिए ।

मनाङ मस्र्याङ्दी क्लवको सल्लाहकार समेत रहेका मनाङ्गे राजीव गुरुङको नामबाट फुटवल खेल्थे । हरेक बर्ष आयोजना हुने नेपाल कप भेट्रान फुटवल प्रतियोगीतमा उनी सहभागी हुँदै आएका थिए ।

मनाङ्गेलाई ६० दिन हिरासतमा राखिने

प्रहरीले संगठित अपराध विरुद्धको मुद्धा दर्ता गरेर दीपक मनाङ्गेलाई ६० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने भएको छ । कसुर प्रमाणीत भएका उनलाई ६ वर्षसम्म जेल सजाय हुनसक्छ ।

जिल्ला अदालत काठमाडौंले मनाङ्गेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न पहिलो पटक म्याद दिएको महानगरीय प्रहरी परिसरका डिएसपी रविन्द्र रेग्मीले जानकारी दिए ।

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, ,

0 comments

Write Down Your Responses