खानीमा पुरिएर ३ जनाको घटनास्थलमै मृत्यु
रातो घर, नुवाकोट–अवैध बालुवाको खानीमा मिनिट्रकसहित पुरिएर नुवाकोटमा तीन जनाको ज्यान गएको छ । आज बिहान १० बजेको समयमा सदरमुकाम विदुरदेखि १८ किलोमिटरको दूरीमा पर्ने खड्गभञ्ज्याङ गाविस–९ बुधसिङघाटस्थित एक बालुवा खानीको ढिस्को खसेर ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
नुवाकोट प्रहरीका अनुसार स्काभेटरले बा३ख ९७०९ नम्बरको आइचर मिनिट्रकमा बालुवा खनेर लोड गर्दै गरेको अवस्थामा ढिस्कोमाथिबाट बालुवाको पहिरो खसेको थियो । ढिस्कोले पुरिएर मृत्यु हुनेहरुमा मिनिट्रकसहित त्यसका चालक दाङसिङ–४ का ३५ वर्षीय गंगासिङ नाम गरेका विकास तामाङ, सोही ठाउँका सह–चालक प्रकाश तामाङ र खानीका कामदार घटनास्थल खड्गभञ्ज्याङ–९ कै २२ वर्षका शंकर राइको मृत्यु भएको हो ।
घटनापछि स्थानीय गाउँले र प्रहरी टोलीको सक्रियतामा ३ घण्टाको प्रयासपछि शवको उत्खनन् गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूलीमा पु¥याइएको जिल्ला प्रहरी प्रमुख एसपी देवबहादुर बोहराले जानकारी दिए । स्काभेटर र पुरिएको मिनिट्रकलाई पनि झिकेर जिल्ला प्रहरी कार्यालयमा ल्याई घटनाको थप अनुसन्धान भइरहेको डिएसपी ऋषिराम कँडेलले बताए ।
यसरी मानिसको ज्यानसमेत लिनेगरी भएको घटनास्थल नजिकमा मात्रै आधा दर्जनजति बालुवा खानीहरु हुनुका साथै नुवाकोटभर यस्ता मापदण्ड विपरित तथा अवैध रुपमा उत्खनन् भई सञ्चालित धेरै ढुंगा तथा बालुवाका खानीहरु छन् ।
जसले खानीमा उत्खनन्को काम गर्दागर्दै मानिसहरु पुरिने र मारिने बढ्दो त्रास त छँदैछ । त्यसभन्दा बढी नजिकमा रहेका वस्तीहरुसमेत पहिरोको उच्च जोखिममा छन् ।
कतिपय खानीहरु अनुमती बिना नै बालुवा निस्कने स्थान पाउनासाथ बिक्रिका लागि उत्खनन् हुने गरेका छन् भने कतिपय खानीहरु सम्बन्धित निकाय र विषेशगरी स्थानिय निकाय जिल्ला विकास समितिले आन्तरिक राजश्व असुलीका नाममा मापदण्ड नपुगेका जिल्लाका थुप्रै खानीहरुलाई नियमविपरित उत्खनन्को इजाजत दिने गरेको छ । अहिले नुवाकोटमा यसरी सञ्चालित बालुवा तथा ढुंगाका २५ भन्दा बढी खानीहरु छन् ।
साभार: रातो पाटी
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses