माओबादीले ओली सरकार यस कारण छाड्नुपर्यो
रातो घर, काठमाडौं – माओवादीले सरकारको समर्थन फिर्ता लिएर कांग्रेससँग मिलेर अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेपाली राजनीतिमा ठूलो तरंग पैदा भएको छ । सरकार परिवर्तनको विषय अहिले चर्चामा छ ।
पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफनो निवासमा मिडियासँग शुक्रबार कुरा गरेका छन् । उनले सरकार गठनदेखि सरकार छाड्नुपरेको विषयमा आफ्नो धारणा राखेका थिए । उनको भनाई बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।
यस कारण ओली सरकार बन्यो
अहिले राष्ट्रिय राजनीतिमा ठूलो तरंग उत्पन्न भएको छ । यसमा जिज्ञासा, गुनासो र बहस हुनु स्वाभाविक हो । हिजो भूकम्पपछि धरतीमात्र होइन राजनीतिमा पनि तरंग आएको थियो । त्यतिबेला राष्ट्रको सार्वभौमिकतामाथि आँच आउँछ कि भन्ने प्रश्न उठेको थियो ।
सत्तापक्ष र प्रतिपक्ष नभनी जनतालाई राहत दिनअघि बढ्नुपर्छ भनेर मैले संकल्प प्रस्तावको लागि पहल गरे । अन्ततः संकल्प प्रस्ताव पनि पारित भयो ।
संसदवादी परम्परा अनुसार जाने हो भने सरकार अप्ठेरो परेको बेला फाल्नुपर्छ भन्ने हुन्थ्यो । तर, मेरो क्रान्तिकारी सोचाइँबाट हेर्दा सरकारलाई दुःख परेको बेला विपक्षीले सहयोग गर्नुपर्छ भनेर मैले भूमिका खेलेँ ।
भूकम्पपीडितको मनोविज्ञान र माओवादीको मनोविज्ञानको पहलले संविधान बनाउने सहमति निर्माण भयो ।
त्यतिबेला पनि संसदवादी दलहरु सत्ताको जोड घटाउमा थिए । सत्तापक्षका खेलाडीहरुमा सत्ताको आकांक्षा जोडिएको देखें ।
सुशील कोइरालालाई राष्ट्रपति र केपी ओलीलाई प्रधानमन्त्री बनाउन आफू तयार रहेको भनेपछि मात्र वहाँहरु संविधान बनाउन राजी हुनुभयो ।
हामीले नैतिक र राजनीतिक दृष्टिकोणले केपी ओलीलाई समर्थन गरेका हौं । हामीले समर्थन नगर्दा केपी ओली प्रधानमन्त्री हुने सम्भव थिएन ।
तर, ओलीजीले एकलौटी ढंगले अघि बढ्नुभयो
संयुक्त गठबन्धनमा निभाउनुपर्ने मूल्य मान्यतामा ओलीजीले ध्यान दिनुभएन । एकलौटी तरिकाले चल्नुभयो ।
पार्टी कार्यालयबाट निर्णय गरेर पत्र लेख्यौं । शान्तिप्रक्रिया सम्बन्धि गोरखा/फुजेलको घटना र ओखलढुंगाको मुद्दामा ओली नजिकका वकिलहरुले नकारात्मक भूमिका खेले ।
शान्ति प्रक्रिया सकारात्मक तरिकाले टुंग्याउन नखोजेपछि हामीले लिखित पत्र नै बुझायौं । यसमा मधेस आन्दोलनका विषयहरु पनि थिए ।
तर, दुई महिना बित्दा पनि हामीले कुनै उत्तर पाएनौं ।
एमाले नेताहरुले नै मलाई भन्थे, ‘कपी ओलीजीलाई माओवादीले प्रधानमन्त्री बनाएको होइन, भगवानले राज गर्न पठाएको जस्तै गर्नुभयो । देवत्वबाट यो पद पाएको जस्तो गरेर अघि बढ्नुभएको छ ।’
यस्तो अवस्था आएपछि हामी मुद्दा मिल्नेसँग संवाद गरौं भन्यौं ।
यही अवस्थामा गठबन्धन अघि बढ्न नमिल्ने भएपछि हामीले ९ बुँदे र ३ बुँदे सहमति गर्दै अघि बढ्यौं ।
अनि सरकार छाड्यौं
मैले अन्तिम वार्ताका दिन तपाईंले छाडिदिनुहोस् । माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाएर जाऔं । कांग्रेसलाई पनि त्यसमा सहभागी बनाऔं । कांग्रेस आएन भनेपनि अहिलेकै गठबन्धनमा माओवादीको नेतृत्वमा सरकार बन्छ भनेर भने । तर, ओलीजीले छुट्टा पार्टीलाई सरकार चलाउन दिन सकिन्न भनेर प्रश्न उठाए ।
मैले बरु अर्को सहमतिको कुरा गरौं । अहिले सरकार छाड्नुहोस् भनेर भने तर ओलीजी मान्नु भएन ।
अहिले नैतिक रुपले सरकारमा बसिराख्न सम्भव भएन । राजनीतिक रुपले पनि सरकारमा लिडे भएर बस्न सकिएन ।
यसपछि हामीले ओलीजीसँगको समर्थन फिर्ता लिएर कांग्रेससँग सहमति गरेका हौं ।
अहिले पनि राष्ट्रिय सहमतिको सम्भावना सकिएको छैन । अविश्वासको प्रस्ताव पारित भएपछि पनि राष्ट्रिय सहमतिमा नै जान्छ ।
एमाले पूर्वाग्रही नहोस् भन्ने मलाई लागेको छ । एमाले बढी पूर्वाग्रही हुँदा राष्ट्रिय सहमतिको सम्भावना बिगारेको हो ।
एमाले नेता कार्यकर्ताको गतिविधि गल्ती छोप्ने प्रयास मात्र हो ।
अबको संसद्बाट अविश्वासको प्रस्तावको प्रक्रिया अघि बढ्छ ।
सरकार परिवर्तनको व्यवस्था संविधानमा छैन भनेर जसरी कुरा उठाइएको छ । त्यो गलत हो । संसदीय नियमावलीमा त्यो स्पष्ट छ ।
यो सरकारमा रहेका पार्टीहरु पनि गठबन्धनमा आउँछन् । सरकारसँग अझै बहुमत छ भनेर ओलीजीहरुले भ्रम फैलाउनु भइरहेको छ ।
यति हुँदा पनि राजीनामा दिनुको साटो महत्वपूर्ण निर्णय गर्दै अगाडि बढ्न खोजिरहनु भएको छ । राजनीमा दिनु र निकास दिनु भनेर उनीहरुले भन्दै आएको संसदीय कुरा हो । त्यही पनि नगेर षड्यन्त्र गरेका छन् ।
हरेक पार्टीको स्वतन्त्र ढंगले निर्णय गर्ने अधिकार हुन्छ । यसलाई कुनै व्यक्तिबाट वा बाहिरबाट चलेको भनेर हल्ला गर्नु नियोजित छ ।
आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्न आवश्यक छ । सबै आन्दोलनबाट उठेका मागहरु सम्बोधन गरेर मात्र राष्ट्रिय एकता बलियो हुन्छ ।
गणतन्त्र र संघीयताविरोधीसँग गहिरो प्रेम
सामन्ती राष्ट्रवाद भन्ने एउटा प्रवृत्ति छ । नक्कली राष्ट्रवादले नेपाललाई कमजोर बनाउन खोजेको छ । नेपाललाई साझा फूलबारी भन्दा पनि आफूलाई गणतन्त्र र संघीयताविरोधी र समावेशी सुन्न नचाहने प्रवत्तिको नाता छ यो राष्ट्रवादसँग । पूराना राजावादीसँग साइनो छ ।
राष्ट्रवादको कभर लिए पनि बामपन्थको कभर लिएपनि गणतन्त्र र संघीयताविरोधीसँग गहिरो प्रेम हुनु राजनीतिक मुद्दा जोडिएको छ ।
यसमा देशलाई प्रतिगमनमा लैजाने डिजाइन देखिन्छ ।
चीनसँग सम्बन्ध झन् सुदृढ
नयाँ सरकार आएपछि चीनसँग सम्बन्ध भाँडिन्छ भन्ने गलत प्रचार गरिरहेको छ ।
ओलीजी प्रधानमन्त्रीका रुपमा चीन जाँदा चिनियाँ राष्ट्रले चिनियाँ राजदूत मार्फत यो सम्झौता हुनुमा माओवादी र प्रचण्डको भूमिका छ भनेर धन्यवाद व्यक्त गर्नुभएको थियो ।
चीन त्यति त्यति कच्चा र अपरिपक्व छैन ।
माओवादी सरकार आउँदा चीन दुःखी होइन खुसी नै हुन्छ ।
१० वर्षदेखि सबैभन्दा नजिक भएर चीनसँग मैले संवाद गरेको छु ।
पार्टीभित्र विवाद बारे
पार्टीभित्र नारायणकाजी श्रेष्ठको असन्तुष्टिबारे : पार्टीभित्र अध्यक्षलाई सबै निर्णय गर्ने जिम्मा दिइएको थियो । त्यही अनुसार अन्तिममा निर्णय गरिएको हो ।
अब राजनीतिक नियुक्ति बन्द गर्नुपर्छ
सरकार अल्पमतमा परेको छ । राजनीतिक नियुक्ति नगर्ने भनेर हामीले संयुक्त वक्तव्य दिएका थियौं । तर, आज भएको छ ।
यस्ता नियुक्तिहरु गर्नुहुँदैन ।
ओलीजीको काम गर्ने प्रवृत्ति कस्तो छ भन्ने विषयमा हामीले राजदूत फिर्ता बोलाउने र राष्ट्रपतिको भ्रमण स्थगित गर्ने थाहा पाइसकेका थियौं । त्यतिबेला हामीलाई कुनै जानकारी नै दिइएन ।
सहयोग गर्दा गर्दै पनि जानकारी नदिने ओलीजीको बानी छ । हामी नभएपछि जे गर्न पनि पाइयो ।
नचिनेर वहाँलाई प्रधानमन्त्री बनाएको होइन । संविधान बनाउने सर्तमा हामीले बनाएका हौं । यसमा कांग्रेस पनि आउँछ भन्ने लागेको थियो ।
संविधानअघि ओलीलाई बनाउने भनेका थियौं । वचन तोड्न पनि राम्रो भएन ।
अबको रोडम्याप
१८ महिनामा तीनवटा चुनाव गर्न सम्भव छ ।
गाउँ र नगरपालिकाको एकपटकमा प्रदेश र संघको चुनाव एक चोटीमा गर्न सकिन्छ ।
मधेसका मुद्दामाथि सकारात्मक रुपमा पहल गर्ने हो भने अहिलेनै दुई तिहाईबाट संशोधन गर्न नसकिए पनि मोर्चा चुनावीदेखि अरु प्रक्रियामा सहभागी हुन्छ ।
नयाँ सरकारको प्राथमिकता शान्ति प्रक्रियालाई टुंग्याउने हुन्छ ।
संविधान कार्यान्वन गर्ने हुन्छ ।
मधेसलगायत थारु, आदिवासी जनजातीको मुद्दाको विषयमा अघि बढ्छ ।
विकासको योजना अघि बढ्छ ।
पुनर्निर्माणको कामले तिव्रता पाउँछ ।
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses