यसकारण खारेज हुनुपर्छ स्ववियु
– निर्मल भट्टराई
निरंकुश पञ्चायती व्यवस्थाको उत्कर्ष दमन हुँदा २०३६ सालमा भएको विद्यार्थी आन्दोलनले स्ववियुको स्थापना गरेको थियो । राजनीतिक पार्टीहरु प्रतिबन्धित भएका बेला विद्यार्थीबीच राजनीतिक गतिविधि सञ्चालन गर्न केही सहजता प्राप्त भएको थियो । कुनै पनि लोकतान्त्रिक संस्था नभएका बेला स्ववियुको आवधिक निर्वाचन हुने विषय निःसन्देह महत्वपूर्ण थियो । स्ववियुको वैधानिकताको सदुपयोग गरेर तत्कालीन प्रतिबन्धित नेपाली कांग्रेस र वाम पार्टीहरुले तत्कालीन पञ्चायती निरंकुशताविरुद्ध विद्यार्थी आन्दोलनको ज्वारभाटा मात्र सिर्जना गरेनन्, आफ्नो पार्टीलाई राष्ट्रव्यापी विस्तारका लागि स्ववियुलाई एक सशक्त सम्पर्क सूत्रको रुपमा प्रयोग गर्न सफल भए । तर आज परिस्थिति विल्कुल भिन्न भएको छ । अब स्ववियुको औचित्य सम्पूर्ण रुपमा समाप्त भएको छ । यसलाई केही बुँदामा यसरी सूत्रबद्ध गर्न सकिन्छ ।
क) शैक्षिक संस्थाभित्र राजनीति
लामो संघर्षपछि नेपाली जनताले सम्पूर्ण रुपमा लोकतान्त्रिक अधिकार प्राप्त गरिसकेका छन् । अब हरेक क्षेत्रमा लोकतान्त्रिक अभ्यास गर्न पाइन्छ । सो प्रयोजनका निम्ति अब विश्वविद्यालय वा क्याम्पस गईरहनु पर्दैन । फेरि ती संस्था राजनीति गर्ने अखडा होइनन् । ती अध्ययन अध्यापनका केन्द्र हुन् । विगतको वाध्यताको निरन्तरता अब किमार्थ आवश्यक छैन । बाबु आमाको खर्चमा अध्ययन गर्न आएका कल्कलाउँदो उमेरका विद्यार्थीलाई राजनीतिमा होमेर राजनीतिक पार्टीले अब राजनीतिको रोटी सेकिरहनु पर्दैन । शैक्षिक संस्थाभित्र हुने राजनीतिक क्रियाकलापले समग्र देशको शैक्षिक स्तर विग्रेको र यसले देशको आर्थिक समृद्धिमा दीर्घकालसम्म असर पार्नेछ । स्ववियु खारेज भएमा शान्त शैक्षिक वातावरण बन्ने निश्चित छ । स्ववियु निर्वाचनमा विद्यार्थी अघि सारेर राजनीतिक पार्टीहरु चुनाव लड्ने भएकाले त्यहाँ हिंसा भड्किने खतरा त्यत्तिकै छ । करोडौंको खर्च गरेर लडिने स्ववियु चुनावको कुनै तुक छैन ।
ख) स्ववियुमा हुने भ्रष्टाचार
स्ववियुमा जित्ने नेताहरुको ध्यान विद्यार्थीको हकहितभन्दा पनि क्याम्पसका भौतिक संरचना निर्माणको ठेक्का पट्टातिर सोझिन्छ । त्यहाँ ठूल्ठूला कमिसन र भ्रष्टाचारका खेल चल्दछन् । त्यही कारण हो, स्ववियु सभापतिको टिकट पाउन मातृ पार्टी वा विद्यार्थी संगठनमा सभासदको टिकट पाउनेभन्दा ठूलो लडाई हुने गरेको देखिन्छ । अहिले कै अवस्थाले निरन्तरता पाउने हो भने स्ववियु कुनै विद्यार्थी हकहित गर्ने केन्द्र होइन, युवा राजीतिककर्मीलाई भ्रष्टाचार र कमिसनखोरको तालिम गर्ने अखडा बन्ने निश्चित छ । विद्यार्थीलाई सुशासन र सदाचार सिकाउनु पर्नेमा भ्रष्टाचारी र कमिसनखोर बन्न सिकाएपछि कालान्तरमा उनै प्रधानमन्त्री, मन्त्री हुँदा कस्तो शासनको अपेक्षा गर्ने ?
ग) राजनीतिका लागि विद्यार्थी बन्ने चलन
स्ववियु निर्वाचनमा उम्मेदवारको उमेर हदबन्दी नहुँदा अध्ययन पूरा गरेका (वा जेनतेन प्लस टु पास गरेर अध्ययन छाडेकाहरु समेत) पटक पटक क्याम्पस भर्ना भइरहन्छन् । ती नक्कली विद्यार्थीको प्रमुख उद्देश्य क्याम्पसभित्र राजनीति गर्ने हुन्छ, पढ्ने होइन । जसको उद्देश्य पढ्ने हुँदैन, उसको हातमा एक शैक्षिक संस्थाको बागडोर गएपछि त्यस संस्थाको शैक्षिक स्तर खस्कनु नितान्त स्वाभाविक छ । क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी, लेखा कक्षमा तालाबन्दी, हड्ताल, घेराउ जस्ता कार्य शैक्षिक संस्थाका दैनिकी बन्दछन् । अध्ययन, अनुसन्धान, परियोजना कार्य, प्राज्ञिक बहस ओझेलमा पर्दछन् । शैक्षिक स्थल दिमागी अभ्यासको थलो हो । यो बाहुबलीय अभ्यासको थलो होइन । तर डनहरु, टेण्डर पार्ने समुह, नेताका खास मान्छे मिलेर बाहुबलीय अभ्यास गर्ने अखडाको रुपमा आंगिक क्याम्पस विकसित हुँदै जानु ज्यादै चिन्ताको विषय हो ।
घ) के हुन सक्छ यसको समाधान ?
स्ववियु म्याद नाघेको औषधी भएको छ । यसको जति बढी इस्तेमाल ग¥यो त्यति हानी हुने वाला छ । त्यसकारण सर्वप्रथम स्ववियुको विद्यमान संरचना खारेज गरिनु पर्दछ । कलेज परिसरभित्र कुनै पनि विद्यार्थी संगठनको झण्डा, लोगो तुल ब्यानर राख्न दिइनु हुँदैन । शैक्षिक उन्नयनका लागि विद्यार्थीको सहभागिता बढाउन कलेज व्यवस्थापन समितिमा संकायबाट सबभन्दा राम्रो शैक्षिक र प्राज्ञिक क्षमता प्रदर्शन गर्नेहरुको प्रतिनिधित्व गराउन सकिन्छ । कलेज परिसरमा विद्यार्थी, शिक्षक र परिचयपत्रको आधारमा अभिभावकभन्दा अरुलाई प्रवेश निषेध गरिनु पर्दछ । यसो गर्न सके थुप्रै सकारात्मक परिणाम हात लाग्दछन् । विश्वविद्यालय र यसका आंगिक कलेजमा केवल अध्ययन, खोज अनुसन्धान र प्राज्ञिक उन्नयनका काम मात्र हुनेछन् । पार्टीका भीमकाय विद्यार्थी भ्रातृ संगठनको औचित्य समाप्त हुनेछ । कलेजमा अध्ययन गर, राजनीति गर्न चाहनेले आफ्नो निर्वाचन क्षेत्रमा जाउ भन्ने मान्यता मात्र स्थापित गर्न सकिए देशको आर्थिक समृद्धि ,शैक्षिक प्रगति र स्थायित्वमा ठुलै टेवा पुग्ने देखिन्छ ।
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses