कथा : के म तिमीलाई चोर ठानूँ ?

नाकाबन्दीको समयमा लिफ्ट माग्ने त धेरै हुन्थे तर त्यो दिन म खाली थिएँ। तिमीले लिफ्ट माग्दै गर्दा मैले सरसर्ती तिमीलाई हेरिसकेकी थिएँ। मभन्दा उमेरमा केही सानो थियौ तिमी। खिरिलो शरीर अनि बाल्यपन बाँकी नै रहेको तिम्रो मिजास, म प्रभावित भएकी थिएँ।

बल्खुसम्म तिमीलाई पुर्याउँदा मैले कति प्रश्न सोधेकी थिएँ याद छ? तिमी अवोध बच्चाजस्तै मेरा प्रश्नका जवाफ दिइ रहेका थियौ। एकपल्ट जानी जानी मैले खाल्डोमा स्कुटरलाई हाल्दा तिमीले मलाई च्याप्प समातेका थियौ अनि तुरुन्तै सरी पनि भनेका थियौ। आजकालका जमानामा के निहु पाउँ र केटीहरुको स्पर्श गरुँ भनेर बसेका धेरै पुरुषलाई मैले देखेकी थिएँ तर तिमी त्यस्ता थिएनौ। तिमी साच्चिकै नारीहरुको इज्जत गर्थ्यौ।

तिमीले लिफ्ट मागेको केही दिन अगाडि एउटा पुरुषले लिफ्ट मागेको थियो। आफूलाई पत्रकार हुँ भन्थ्यो। कुरा गर्ने बाहाना खोज्दै थियो। घरिघरि उसका हात मेरो गर्धनमा पुर्याउथ्यो। एकपल्ट त दुबै हातले मेरो कम्मर च्याप्पै समात्यो। सुन्धारा हिडेको भन्दै थियो मैले माइतीघर मै स्कुटर झ्याप्पै रोकेर उत्रिने आदेश दिए। तपाई पनि त्यतै जाने भन्दै हुनुहुन्थो त पुर्याइदिनु न भन्दै थियो। उसलाई उतारेर मैले एक झापड लगाएँ अनि स्कुटर सुन्धारातिर हुइक्याएँ।

तर तिमी त्यस्ता थिएनौ। तिमी केटा र केटीलाई समान ठान्थ्यौ। तिम्रो कुराले म तिमीसँग मित्रता गाँस्न चाहन्थे। तिम्रा आदर्शका कुरा मिथ्या हो या होइन जाँच्न चाहन्थे। त्यसैले त्यो रात म तिम्रोमा बसेँ। तिमी भूईमा सुतेर मलाई तिम्रो ओछ्यान छोडिदियौ। तिमीले तिम्रै कोठामा निर्धक्कसँग सुतेकी पराइसँग पनि आत्मीय व्यवहार गरेकोमा म गौरवान्वित भएँ। मैले लिएको परीक्षामा तिमी सर्वोकृष्ठ ठहरियौ।

त्यो रात तिम्रो कोठामा म निदाउन सकिनँ। तिमीले मसँग अश्लिल व्यवहार गर्यौ भने कसरी बच्ने सोचिरहेँ। हुनत म कराँतेको ब्लाकबेल्ट हुँ त्यसैले पनि केही हिम्मत ममा पलाएको होला। तर पनि बाउले आफ्नै छोरीलाई बलत्कार गरेका अनेकौँ घटना मिडियामा आइरहेको अवस्थामा म तिमीसँग डराउनु स्वभाविक थियो। फेरि एउटा केटा र एउटी केटी रातभर एउटा कोठामा बसेको देख्दा हाम्रो समाजले पचाउन सक्दैन। त्यसमा पनि तिम्रो कोठामा एउटै मात्र खाट थियो। हामी जति पवित्र भए पनि हामीलाई बद्नामीको आँखाले हेरिन्थ्यो। त्यसैले म तिमी र तिम्रा आसपासका अरु उठ्नुभन्दा पहिले नै चुपचाप त्यहाँबाट हिडेेकी थिएँ।

घरमा आएँ तिम्रोबारेमा आमा बुवा र दाइलाई सुनाएँ। उहाँहरु मसँग खुव रिसाउनु भयो। “परीक्षा दिनमै लिए पनि त हुन्थ्यो नि! नचिनेको केटाकोमा रात बिताउनु पर्छ र? ” दाइले झपार्नु भयो।

तिमीले भनेका थियौ नि केटाको स्कुटर पछाडि केटी बस्न हुने तर केटीको स्कुटर पछाडि केटा बस्न नहुने के छ र ?
तिम्रा यी वाक्य मलाई खुव मन परेको थियो। तिम्रो लजालु स्वभाव अनि केटीहरुको इज्जत गर्ने बानीले म तिमीप्रति प्रभावित भएकी थिएँ। त्यही कुरा उहाँहरुलाई सुनाएँ।

त्यसपछि मेरो दाइ तिम्रो पछि लाग्नु भयो। तिम्रो बारेमा धेरै कुरा बुझ्नु भयो। मेरो घरमा तिमीलाई सबैले चिन्नु हुन्छ।होलीको दिनमा तिमी त्यहाँ छौ भनेर दाइले नै मलाई बताउनु भएको थियो। अनि त म त्यहाँ आएर तिम्रो आँखा छोपेकी थिएँ। दाइ हाम्रो सामुन्ने उभिएर मुसुमुसु हाँसि रहनु भएको थियो।

तिमी किन त्यति धेरै डराएको नि? मलाई देख्ने बित्तिकै तिम्रो त सासै रोकिएको थियो। अनि किन होली नखेलेको? रङ्गसँग तिमीलाई एलर्जी छ?

म पनि कहिल्यै होली खेल्दिन। मलाई नानाथरीका रङ्गसँग एलर्जी छ। त्यो दिन त तिम्रो छेउमा आइपुग्दा दाइले नै रङ्ग लाइदिनु भएको थियो ता कि तिमीलाई शङ्का रहोस् भनेर।

त्यो दिन कफि सप बन्द भएकोमा म भित्र भित्रै दङ्ग थिएँ। त्यही निहुमा त मैले तिमीलाई घर ल्याउन पाएँ नि ! तिमीलाई कफी खुवाउँनासाथ फर्कि हाल्छौ भनेर खाना नै बनाउन थालेँ। मैले बनाएको खाना तिमीले कति मिठो मानेर खायौ म भित्रभित्रै खुसी भएँ। खाना मिठो लागेपछि प्रशंसा गर्न पनि मैले सिकाउनु पर्छ र? खुलेर खाना मिठो भयो किन भनेनौ?

हो त्यो समयमा पनि मैले तिम्रो परीक्षा लिएको थिएँ। अरु कोठा हुँदाहुँदै मेरो कोठामा नै तिमीलाई सुत्ने आग्रह गरेँ। तिमी भूईमा लुसुक्क सुत्दा मलाई चाँही निद्रा लागेको थियो र? तिमी बिस्तारै बाहिर गयौ। फर्किने आसमा म पर्खी रहेँ। तिमी त पर्खाल नाघेर पो भागेछौ।

तिमीले लिफ्ट मागेर तिम्रो घरसम्म पुर्याउदा चाहीँ सहयोग ठान्ने तर मैले मेरो घर ल्याएर खाना खुवाएकोमा अपहरण भएको पो ठानेछौ। तिमीले अन्जान मै भए पनि मेरो मन चोर्यौ। के म तिमीलाई चोर ठानूँ?

म त तिमीलाई माया गर्न थालिसकेकी छु। के तिमी मलाई माया गर्न सक्छौ? मैले सजिलै ‘तिमी’ भनेर सम्बोधन गर्न सक्छु तर तिमीले अहिले पनि तपाई भन्छौ। हाम्रो बिहे भयो भने त अनौठो सम्बन्ध होलाजस्तो छ नि ! तिमी पत्नीलाई ‘तिमी ‘ भन्ने कोशिस गरिरहनु, म पतिलाई ‘तपाई’ भन्ने कोशिस गरिरहुलाँ।

मेरी आमा भन्नु हुन्छ – “यसले दु:ख पाउने भई। डेरामा बस्ने केटो, त्यो पनि बिद्यार्थी । कहिले पढाइ सक्काउनु ? कहिले जागिर खानु? अनि कहिले घर बनाउँनु ? जिन्दगीभर दु:खैदु:ख मात्र। त्यो भन्दा त हिजो अस्ती कुरा आएको केटोसँग बिहे गरे हुने। काठमाण्डौमा बाउबाजेको त्यत्रो सम्पति छ। केटो पनि जागिरे छ। तँभन्दा उमेरले पनि छिप्पिएको छ। त्यो भरखरको भुरोसँग के बिहे गर्नु नि?”

बुवा भन्नु हुन्छ – “अभागीलाई धानको भात काँहा पच्छ र? ओठ निचोर्दा दुध आउने बालखसँग के गरुलाँ भन्दी हो खोई ? लोग्नेले स्वास्नी छोराछोरी पालेको त थाहा थियो तर स्वास्नीले लोग्ने छोराछोरी पालेको देख्नु पर्ने भो।”

दाइ भन्नु हुन्छ -” केटो पढेलेखेको छ। इमान्दार पनि छ। यसलाई मन पर्यो भने गरोस् न त बिहे। दुबै मिलेर गरिखालान् नि !”

तिमी चाहीँ के भन्छौ ? के तिमी पनि मलाई मन पराउछौ? तिमीलाई हिम्मत छ समाजको सोचाइ परिवर्तन गर्ने? तिमीलाई थाहा छैन होला म तिमीभन्दा जेठी छु। तिमीभन्दा केही मोटी पनि छु। हाम्रो समाजमा जेठी केटी बिहे गर्ने चलन छैन। के तिमी जेठी र मोटी केटीसँग बिहे गर्न सक्छौ?

तिमीलाई मेरो दाइ को होला भन्ने जिज्ञासा लागेको छैन? छ भने सुन- तिम्रो एम एस सीको कक्षामा तिमीलाई सबैभन्दा मन पर्ने प्रोफेसर को हो? अब त चिन्यौ होला? हो तिमीले गेस गरेको मदन सर नै मेरो दाइ हो। तिमीले पहिलो भेटमा  मदन सरको प्रशंसा गेरका थियौ। त्यसैले पनि होला मैले तिमीसँग रात बिताउने हिम्मत गरेकी थिएँ।

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, ,

0 comments

Write Down Your Responses