बाँच्दैन भनेर छोराछोरीले अस्पतालमै छाडे, ८० वर्षीया आमाले सकिनसकी स्याहार्दै छिन्

रातो घर, काठमाडौं, असार :  ट्रमा सेन्टरको बेड नम्बर ५०५ । ओछ्यानमा पल्टिरहेका बिरामी बेलाबेला ऐया, आत्था, दुख्यो, लौन भनेर कराउँछन् । छेउमै रहेकी बृद्धा ‘खै कहाँ दुख्यो ?’, ‘यता फर्कि त ?’, ‘धेरै चल्न भएन के बुझिस्’ भन्दै सकीनसकी बिरामीलाई कोल्टो फर्काउँछिन् । लुगा मिलाइदिन्छिन् ।
वरपर बेडमा रहेका बिरामीका कहिले को आउँछन्, कहिले को आउँछन्, सोधीखोजी गर्छन् । तर ५०५ नम्बरको बेडमा बिरामी र ती बृद्धा बाहेक अरुको चहलपहल देखिंदैन । ‘विचरा श्रीमतीले पहिल्यै छोडेर हिँडिछ, छोराछोरीले पनि वास्ता गरेनछन्, अहिले आमा आएर स्याहार्दैछिन्’ नजिकै बेडको बिरामी कुर्न बसेका एकजनाले बिस्तारै भने ।
उनले साउती मारेर भनेको कुरा पनि बृद्धाको कानले ठम्याएछ । ‘के गर्नु त बा, नातिनातिनालाई आफ्नो बाउको माया नलागेपनि म बुढीलाई छोरोको मायाले यहाँसम्म डोहो¥याएर ल्यायो । अब यसलाई निको पारेरै लान्छु’ बिरामीलाई खानेकुरा दिंदै गरेकी बृद्धाले भन्नुभयो ।

आफ्नो स्याहारसुसारमा खटिएकी ८० वर्षिया आमाको कुरा सुनेर बिरामी छोराको आँखा रसायो । अनि उनले आफ्नो व्यथा पोखे । ‘के गर्नु श्रीमतीले छाडेर गएपनि छोराछोरी त छन् नि भनेर ढुक्क थिएँ, तर उनीहरुले अलपत्र छाडेर गए, आमा आएर बचाइन्’ यति भन्दा उनको गला अवरुद्ध भयो । बृद्धा आमाको स्याहार र साथमा तँग्रंदै गरेका यी बिरामी हुन्, गोरखाका ईश्वर श्रेष्ठ । ४८ वर्षका श्रेष्ठ झण्डै ५ महिनाअघि ट्रमा सेन्टरमा भर्ना हुनुभएको हो । उहाँका अनुसार जाँडरक्सी खाएका केही केटाहरुले उहाँलाई कुटपीट गरे । त्यसपछि उपचारको लागि उहाँलाई ट्रमाको आइसियूमा भर्ना गरियो ।
त्योबेला छोराछोरी, ज्वाइँ र अहिले कुर्न बसेकी आमा पनि सँगै थिए । आईसियूमा उपचार भैरहेको बेला ज्वाईहरुले आमा कृष्णकुमारीलाई घर पुर्याइदिए । काठमाडौंमै बस्ने छोरा बिरामी बुवाको स्यहारमा खटिए । साथमा छोरी र ज्वाइँहरु पनि थिए ।

‘तर अब म बाँच्दिन भन्ने उनीहरुलाई लागेछ, त्यसपछि छाडेर हिँडे’ ईश्वरले भन्नुभयो । छोरा छोरी र ज्वाइँले छाडेर हिँडेपछि उहाँको रेखदेख गर्ने कोही भएन । आइसियूबाट झिकेर वार्डमा राख्दा बेलाबेला उठाउने, हिँडाउने गर्नुपर्दथ्यो । तर बेडमा चौबीसै घण्टा सुतिरहँदा उहाको पिठ्युँमा घाउ भयो । ‘पहिलेको चोट ठीक हुँदै थियो, फेरि यो घाउले मलाई दुःख दियो’ ईश्वरले भन्नुभयो ।
आफुलाई स्याहार गर्ने कोही नभएपछि बिरामी ईश्वरले भगवान ईश्वरलाई पुकार्नुभयो । उहाँको पुकार भगवानले सुने कि सुनेनन्, तर गोरखामा रहेकी वृद्धा आमाले सुईको पाउनुभयो । छोरो अस्पतालमा एक्लै छ भन्ने थाहा हुने बित्तिकै उहाँ गोरखाबाट काठमाडौं चल्ने बसमा चढ्नुभयो ।

‘बसपार्कसम्म बसले ल्याईहाल्यो, त्यहाँबाट गाउँकै एकजना मान्छेलाई अस्पतालसम्म लैदेउ भनें र यहाँसम्म आएँ’ बिरामी छोरोसँगै बसेकी ८० वर्षिया कृष्णकुमारीले भन्नुभयो । ट्रमाको ५ औं तलामा बिरामी छोरासँगै बस्ने कृष्णकुमारी एक्लै तल्लो तलासम्म पनि ओर्लन सक्नुहुन्न ।
‘डाक्टरले औषधी लेराउ भन्दा वरपरका अरु बिरामी कुरुवासँगै औषधी पसलसम्म पुग्छु, उनीहरुसँगै फर्कन्छु’ आमैले आफ्नो व्यथा सुनाउनुभयो । औषधी लिन जाँदा र आउँदा त साथी पाउनुभएको छ । तर खर्च जुटाउन भने समस्या छ ।
‘अलि अलि भएको पैसा सकिहाल्यो, अब औषधी चाहियो भन्दैनन् कि’ आमैले आस गर्नुभयो । बिरामी कुर्न बस्दा खाना, खाजामा पनि खर्च हुन्छ । तर खानाको लागि उहाँले एउटा उपाय लगाउने गर्नुभएको छ । ‘बिरामीको लागि खाना आउँछ, अलि धेरै झिक्छु, आधी उसले खान्छ, आधी मैले’ बृद्धाले व्यथा सुनाउनुभयो, ‘के गर्नु जसोतसो बाँच्न त पर्यो नि ।’स्रोत :उज्यालो अनलाइन 

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , ,

0 comments

Write Down Your Responses