ओलीका सपना र धरातलीय यथार्थ
समीर कुलुङ राई:
रातो घर, दोस्रो जनआन्दोलनताका नेपालमा गणतन्त्र स्थापनालाई गोरुगाडामा अमेरिका पुग्ने सपना भन्ठान्दै खिल्ली उडाउने एउटा अनुदार राजनीतिक पात्र यतिबेला त्यही गणतन्त्र नेपालको ३८औं प्रधानमन्त्री छन् । इतिहासको यो कुरुप सपना हजम गर्न त्यति सजिलो नहोला जति सजिलो तिनै प्रधानमन्त्रीको आलिसान सपनालाई बेजोड सम्भावनाको प्रस्थानबिन्दु ठान्दिनुमा छ । कार्यकालका यी ९ महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा आफ्नो फोटो झुण्ड्याउनबाहेक अन्य ठुलो केही उपलब्धि हासिल गरेका छन् भने त्यो उनले दिएका वा दिने गरेका धाराप्रवाह सपनाको अतुलनीय चर्चापरिचर्चा हो । जसको बलमा उनी आफूलाई राष्ट्रवादी र भिजनरी प्रधानमन्त्री सावित गर्न खोज्दैछन र त्यस कार्यमा केही हदसम्म सफल पनि देखिएका छन् ।
कुनै बेला अरुका सपनालाई एउटा सिल्ली मजाक भन्ठान्ने ओली आज आफै त्यस अभिव्यक्तिको एउटा हिस्सा बनिरहेको बेला ‘सपना देखे मात्र साकार हुन्छन्’ भन्नेखालका उपदेशमूलक तर्कहरु मार्फत एमालेजन र अनुयायीहरु ओलीलाई डिफेन्ड गर्दैछन् । काम कम र गफ बढी गर्न रुचाउने प्रधानमन्त्रीले यो बखतसम्म अनगन्ती महत्वाकाङ्क्षी सपनाका फेहरिस्त सुनाइसकेका छन् । जुन अझै थपिने क्रममा छ । धरातलको यथार्थ, राष्ट्रको प्राथमिकता र आम जनताका आवश्यकताभन्दा धेरै टाढा रहेका यी फेयरी टेलजस्तै लाग्ने लम्बेतान लिस्टहरुले आज ओली आफैलाई गिज्याइरहँदा गज्जब त्यसबेला लाग्छ जब ओली र एमालेजनले आफ्नो सत्ता टिकाउन प्रवद्र्धन गरिरहेको राष्ट्रवादी लहडमा लहसिएर केहिले त्यसैलाई विकासको ज्वलन्त नमुनाका रुपमा प्रचार गर्न थाल्छन्, प्रधानमन्त्रीलाई भिजनरी र ड्रिमर नै पनि भन्न भ्याउँछन ! एक जनाले त युट्युबमा #IamWithKPOli भन्ने भिडियो नै अपलोड गर्दिए ।
ओलीको सबैभन्दा विरोधाभाषपूर्ण पाटो भनेको बोली एउटा र व्यवहार अर्को नै हो । कुनैबेला माओवादीलाई देख्नसुन्न नचाहने ओली अहिले आफै प्रचण्डको बुई चढेर प्रधानमन्त्री बनेका छन् । कुनैबेला सामन्तीको टाउकै गिड्न भनी हिँडेका उनी दसवर्षे रक्तिम युद्ध लडेर आएको पार्टीको निगाहमा सिंहदरबार छिरेर अहिले यसरी गौतम बुद्ध पल्टिएका छन् कि अब सदियौं लामो विभेद, दलन र उपेक्षाले लत्पतिएको उक्त दरबारलाई घेर्ने सेता पर्खालको कुनै एउटा भागमा रातो रङ छ्यापिँदा मात्रै पनि उनको सातो उड्न थालेको छ । उनी बोल्छन् र बोलिरहन्छन् । त्यसरी बोल्नुको कुनै अर्थ वा महत्व नै हुँदैँन । यदि कसैले उनकाविरुद्ध सत्य बोल्ने हिम्मत गर्छ भने त्यो मान्छे सीधै ‘राष्ट्रघाती विदेशी दलाल’ ठहरिन्छ । अझ ‘विदेशी’ रहेछन भने त सीधै Deporting मा पर्ने भए । यसरी जनतालाई मनोरञ्जन र टेलिभिजनरमिडियालाई TRP र Readers Countबढाउने गतिलो स्रोत बनिरहेका ओली देशको प्रधानमन्त्रीका रुपमा बदलिँदो राष्ट्रिय स्वार्थ र जनजीविकाका सवालहरुलाई सम्बोधन गर्न भने पूर्णत असफल देखिएका छन् ।
११ वर्षअघि मुलुकमा गणतन्त्र स्थापना हेतु लाठी गोलीको प्रवाह नगरी सडकमा स्वतस्फूर्त निस्कने नेपालीहरुलाई ‘बयलगाडामा अमेरिका पुग्ने सकिँदैन’ भन्दै गिज्याउने ओली आज त्यहीँ जनलाई गणतन्त्रको परिभाषा र महत्व सिकाउने हैसियतका भइसकेका छन् । राजनीतिमा स्पष्ट अडान राख्न सक्ने नेता भनी चिनिएका उनले यतिका समयमा आफूले टेकेको धरातल नै पनि फेरिसके । जनताको बहुदलीय जनवादबाट पूर्णत महेन्द्रद्रीय राष्ट्रवादमा सिफ्ट भइसके ।
आफ्ना प्रत्येक भाषणहरुमा मधेसवादी र जनजाति र पहिचानवादीहरु र आफ्नो आस्थासँग बेमेल हुने जोकोहीको उछितो काट्ने ओली बेलामौका सबै नागरिक राज्यको नजरमा समान रहेको अर्ती सुझाउन नबिर्सने पनि होइनन् । पहिचान र समावेशिताका मुद्दाहरुमा सुदूरपश्चिम र कर्णालीका पीर व्यथालाई ठूलै इस्यु बनाउने उनले फेरि पनि आफ्ना अतुलनीय सपनाका फेहरिस्तमा भने त्यहाँको विकटता र पछौटेपनलाई पूरै बिर्सेका छन् । मनाङ र मुस्ताङका स्याउ सडक सञ्जालको अभावमा त्यहीँ कुहिरहँदा उनी काठमाडौंलाई मेट्रो ट्रेनमा चढाइदिने सपना देखाइरहेका हुन्छन् । कर्णालीका बाटाहरुमा एउटा बस राम्ररी गुड्न नसकिरहँदा काठमाडौं र पोखरामा मुख चुच्चे रेल गुड्ने परिकल्पना सुनाइरहेका हुन्छन् ।
गत वर्षको विनाशकारी भूकम्पलाई देखाएर फास्ट ट्रयाकमा बनाइएको संविधानले फास्ट ट्रयाकमै प्रधानमन्त्री बनाइदिएका ओलीले शपथ लिँदै गर्दा ती भूकम्पपीडितहरुमा यसअघि काङ्ग्रेस सरकारले देखाएको अकर्मण्यता अन्त्य होला भन्ने ठूलो आशा थियो । जसलाई आजसम्म आइपुग्दा ओलीले नराम्ररी लोप्पा खुवाइदिएका छन् ।
भुकम्पमा परी घरबारविहीन हुन पुगेका पीडितहरु विगत १४ महिनादेखि त्रिपालमुनिको बास छ । ओलीले सत्ता सम्हालेको ९ महिना भयो । उनले शपथग्रहण गरेकै दिनदेखि सबैले उनलाई सम्झाएकै थिए । वर्षात महिना अगावै पीडितहरुको पुनस्र्थापना गर्नुस् । वर्षात सुरु भयो । केपी ओलीले सपनाका चाङ फेरिरहे तर ती पीडितहरुको छानो फेरिएन । १ वर्षमा पुरै नेपाललाई तुइनमुक्त बनाइदिन्छु, लोडसेडिङ पुरै हटाइदिन्छु भनी ३ करोड जनतासामु सम्बोधन गर्न सक्ने ओलीले यो बर्खा सकिनु अगावै ती केही लाख मानिसहरुलाई ओत लाग्ने छानो बनाइदिन्छु किन भन्न सकेनन् ? सुनकोशी पहिरोका विस्थापितहरु पालमा बसेको २ वर्ष भयो । हिन्दरप्रशान्त महासागरमा नेपाली पानीजहाजको सम्भाव्यता अध्ययन गर्न इच्छुक ओली ती विस्थापितहरु अहिले कहाँ, कस्तो स्थितिमा छन् भनी जान्न किन अनिच्छुक देखिए ?
सरकार पूरै बेखबर छ उनीहरुबारे । राज्यको अभिभावक भएको नाताले ती जनको सुरक्षा सरकारको अहम् दायित्व हुनुपर्ने । तर ओली कति चतुर छन् भने आफ्ना सम्पूर्ण असफलतालाई निर्लज्ज ढाक्न विकासवादीको खोल ओढेर सबैलाई गुलिया आश्वासनमा दिनहुुँ भुलाएको भुलाएकै छन् । साथमा दक्षिणतिर एउटा महत्वपूर्ण डम्पिङ साइड बनाएका छन् । जहाँ उनी आफूले गर्न नसक्ने वा नसकेको सारा असफलतालाई सहजै पोख्न, खनाउन सकियोस् । उसै त बहादुर नेपाली, ‘राष्ट्रवाद’ दुबो जसरी मौलाएको यो समयमा उनलाई पत्याउने किन थोर हुन्थे र !
विकास देशको आवश्यकत्ता हो र ओलीले बाँढेका कुनै पनि आश्वासन असम्भव पनि छैनन होला । तर ठुल्ठुला भौतिक संरचना ठड्याउनु मात्र विकास हैन होला नि ? वा हामीले विकासको सटिक अर्थ र महत्व नै पो बिर्सियौं कि ? साधन, स्रोत र आवश्यकता सापेक्ष विकास हो हाम्ले चाहेको । यतिबेला देशको आर्थिक वृद्धिदर घटेर साढे दुई दशक यताकै कम अर्थात ०.७७ प्रतिशतमा खुम्चिएको छ । बजेट कनिका छरेजसरी आएको छ, न त्यो सबैलाई साराबर हुन्छ, न कसको पेट नै भर्छ । ठीक यसैबेला प्रधानमन्त्री भने लगालग अनुत्पादक भौतिक संरचनाको स्वप्न शिलन्यासमा व्यस्त छन् । ग्यासको सिलिण्डर बोकिराख्ने झन्झटबाट मुक्ति पाउने रहर कसको नहोला, तर त्यही ग्यास पनि भएको बेला नपाउने स्थिति छ अहिले ! ठुल्ठुला उद्योग, कलकारखाना जहाँ हजारौं मजदुर कार्यरत छन् । ती इन्धन अभावका कारण पूर्ण क्षमतामा चल्न सक्ने अवस्थामा छैनन् । उनले देखेका सबै सपना पूरा गर्न सक्छन् ?
मनमा लागेका कुरा बोलेपछि आफ्नो वचनमा कटिबद्ध हुनुपर्ने हो । ठुल्ठुला आश्वासन पेलेर मात्र देशको विकास हुँदैन । विदेशी अनुदान पनि विकास निर्माणमा खर्च गर्न नसक्ने स्थितिमा अहिले सरकार छ । यदि उनी साच्चै नै भिजनरी थिए भने देशको हालत यस्तो हुने थिएन । १४ महिनादेखि पालमा थन्किएका भूकम्पपीडितहरुको पुनस्र्थापना भइसक्ने थियो । १० महिनादेखि आन्दोलनरत आदिवासी र जनजाति र मधेसीका जायज माग पूरा भइसक्ने थिए । देशमा उद्योग र रोजगारी स्थापना गर्ने सम्बन्धमा उनका कुनै पनि योजना कार्यान्वयनमा ल्याएका छैनन् । उनले देखाएका सपनले मात्र र आकासमा पुल ठड्याएर, मेट्रो ट्रेन चढाएर जनता रातारात धनी हुन सक्दैनन् ।
साभार: रातो पाटी
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses