क्रान्तिभित्र युद्ध पनि आउला (विप्लवको अन्तर्वार्ता)
के गर्छन् अब विप्लव ? अहिले सहरमा सर्वाधिक सोधिने प्रश्न यही हो । १० वर्षे जनयुद्धमा होमिएका विप्लव १० वर्षे शान्ति–प्रक्रियाबाट सबैभन्दा असन्तुष्ट छन् । असन्तुष्टहरूलाई संगठित गरेर उनले फेरि अर्को हिंसात्मक आन्दोलन सुरु गर्दै छन् भन्ने अनुमान गर्न थालिएको छ । मोबाइल टावर र गैरसरकारी संस्थामा भएको आक्रमणको जिम्मा लिएर उनको पार्टीले हिंसामा जाने संकेत पनि गरेको छ । के देश फेरि अर्को युद्धमा होमिन थालेको हो ? के राजनीतिक र समाजिक मुद्दामा शान्तिपूर्ण बहस र निकासको गुञ्जायस अब छैन ? जनमानसमा उठेको यही प्रश्न नयाँ पत्रिकाले विप्लवसँग राखेको छ । कृष्णज्वाला देवकोटा, झलक सुवेदी र उमेश चौहानका प्रश्नमा नेकपा माओवादीका महासचिव विप्लव यसरी प्रस्तुत भएका छन् । यो अन्तर्वार्ता आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित भएको छ, जुन हामीले साभार गरेका हौँ ।
व्यक्तिगत कुरा गर्दा, तपार्इं एकदम सभ्रान्त वा एकदम विपन्नवर्गबाट आउनुभएको होइन, तैपनि राजनीतिक र सामाजिक परिवर्तनका लागि भनेर तपाईं पटक–पटक हिंसाको एजेन्डा उठाउनुहुन्छ । हिंसासँग तपाईंको यो लगाव वास्तवमा रहर हो कि बाध्यता ?
हिंसा होइन, क्रान्तितिरको लगाव हो यो । ३० वर्षअघि रोल्पा, रुकुमतिरको अवस्था अहिलेजस्तो पनि थिएन । तपाईंले भनेजस्तो बौद्धिक वा उच्चवर्गबाट पनि म आएको होइन । तर, म जे सोच्छु, त्यसको मुख्य प्रभाव भनेको समाजकै हो । हाम्रो जीवन कस्तो थियो, त्यसको छाप हामीसँग अवस्य हुन्छ । मेरै समाजका त्यस्ता घटना थुप्रै छन्, जसले मलाई क्रान्तिका लागि तयार पारे । सबैभन्दा बढी मलाई प्रभावित पारेको नेपाली प्रवासिने अवस्थाले हो । पश्चिमतिर अक्सर मान्छे १५, १६ वर्षको उमेरपछि नेपालमा बस्दैनन् । त्यतिवेला उनीहरू भारततिर जान्थे, गएकामध्ये पनि ५० प्रतिशत मात्रै फर्कन्थे, अरू उतै बेपत्ता हुने र सिद्धिने गरेका थिए । त्यसरी जानेमा मसँगैका साथी पनि हुन्थे । स्वाभाविक रूपमा त्यस्तो मनोविज्ञान मसँग छ । अर्कोतर्फ, समाजमा समृद्धि छैन, जताततै विभेद छ । गाउँ–समाजमा हुनेखानेले गरेको उत्पीडनको प्रभाव पनि ममा गढेको छ । उत्पीडित वर्गका मान्छेलाई मान्छे नगन्ने भएपछि त्यसको प्रभाव पनि पर्ने नै भयो । त्यस्तै मलाई सबैभन्दा बढी प्रभाव पारेको र उत्प्रेरित गरेको वैज्ञानिक समाजवादको आदर्शले हो । वर्गविहीन समाज, मुक्त समाजको परिकल्पनाले प्रभाव पारेको हो । विद्यार्थी जीवनदेखि नै त्यसले प्रभावित पार्यो । त्यसैलाई नेपाली समाजसँग जोडेर हेर्दा नेपाली समाजमा विभेद छ, पछौटेपन छ । यसको चरित्र बदल्नुपर्ने सोचले प्रभाव पार्यो । त्यसमा परिवर्तन ल्याउन सकिएको छैन, त्यसैले थप भूमिकाका लागि अग्रसर बनाइरहेको छ । मेरो मान्यता के छ भने वैज्ञानिक समाजवाद काल्पनिक होइन, वैज्ञानिक हो । यसका पनि कैयाँै त्रुटि होलान्, तर आजको दुनियाँमा यो सम्भव छ । म त्यो आत्मविश्वासमा अहिले पनि दृढ छु ।
आफ्नो आदर्शका लागि तपाईंहरू लड्नुभयो, लडाइँ एउटा बिन्दुमा पुगेपछि सम्झौता पनि भयो, तर शान्ति–प्रक्रिया सुरु भएको १० वर्षपछि आएर फेरि विद्रोहको तयारी कति स्वाभाविक छ ?
हामी जुन आदर्श, लक्ष्य र उद्देश्य बोकेर जनयुद्धमा हामफालेका थियौँ, त्यो सही थियो । त्यसभित्र सामाजिक रूपान्तरण, सांस्कृतिक रूपान्तरण र देश बदल्ने सपना थियो । त्यसलाई जनताले अनुमोदन पनि गरेका थिए । तर, त्यो अहिले हाम्रो हातबाट गुमेको छ । यसो हुनुमा जनता, कार्यकर्ताको होइन, लिडरसिपको त्रुटि छ । त्यो समस्याको हल नहुँदासम्म नेतृत्वले धोका दिनु हुँदैनथ्यो । लिडरसिप घेराबन्दीमै परेर त्यहाँ पुगेको जस्तो पनि हामी देख्छौंँ । कांग्रेस, एमालेले पनि इमानदारीपूर्वक काम नगरेको हामी देख्छौंँ । उहाँहरू आफँैले दिएको वचनमा टिक्न सक्नुभएन । हिजो रोल्पामा भएको सहमति काठमाडौंै आएलगत्तै अर्को व्याख्या गर्नुभयो ।
रोल्पामा को–कोबीच के सहमति भएको थियो ?
रोल्पामा गिरिजाप्रसाद कोइरालाको चिठी लिएर जाने साथीहरू हुनुहुन्थ्यो । चिठी कसले लिएर गएका थिए भन्ने समय आएपछि भनौँला । एमालेका तर्फबाट त वामदेवजी आफैँ जानुभएको थियो । म त्यहीँ थिएँ । हाम्रा त्यतिखेरका अध्यक्ष प्रचण्ड र गिरिजाप्रसादबीच सीधै फोन संवाद भएको थियो । एमालेसँग पाँचबुँदे सहमति रोल्पामै भएको थियो । त्यसमा एमालेका तर्फबाट मात्र नभई कांग्रेसको पनि सहमति थियो भन्ने एमाले नेताको भनाइ थियो । वामपार्टीका तर्फबाट प्रतिनिधित्व गर्दै नारायणकाजी श्रेष्ठ प्रकाशजी दुई–तीनपटक नै रोल्पा पुग्नुभएको थियो । त्यतिखेरको त्यहाँको मूल स्पिरिट भनेको माओवादीले जनयुद्धमा उठाएका खासगरी नेपाली जनताका प्रस्ताव, किसान, मजदुर, युवा, महिला, राष्ट्रिय स्वाधीनताजस्ता विषयलाई कुनै न कुनै रूपमा सम्बोधन गरेर जाने भन्ने थियो । तर, काठमाडौँं आएपछि त्यसको उल्टो व्याख्या भयो ।
हुनुपथ्र्यो के र ? किसान, मजदुर, युवा, महिला, राष्ट्रिय स्वाधीनताजस्ता विषयमा तपार्इंहरूको बुझाइ के थियो र?
राजनीतिक रूपमा हेर्दा राज्य सामन्ती खालको छ, दलाल चरित्रको छ । यो संरचनालाई आमूल परिवर्तन गर्नुपर्छ । तर, यो त न्यूनतम पुँजीवादी चरित्रको पनि छैन भन्ने हाम्रो भनाइ थियो । त्यसकारण हाम्रो बुझाइ भनेको राज्यको लिडरसिप र संरचनामा हेरफेर हुनुपर्छ भन्ने थियो । वैज्ञानिक समाजवादको अवधारणा बोकेको लिडरसिपको नेतृत्वमा सत्ता रहनुपर्छ भन्ने हाम्रो विचार थियो । तर, राज्य पुनर्संरचनाको बहसको मूर्त व्याख्या भएन । यहाँ त एकलौटी जनयुद्धका सत्ताहरू सिध्याउनेतिर काम भयो । तर, गाउँदेखि ठूला सहरमा समेत परास्त भइसकेको पुरानो सत्तालाई फेरि फर्काउने काम भयो । सबैभन्दा ठूलो असहमति हाम्रो यही हो । संसारभरको मान्यता पनि के हो भने जितेको ठाउँमा जित हुने भइहाल्यो, सम्झौतामा आएका ठाउँमा पनि पावर सेयरिङ हुनुपथ्र्यो । जनयुद्धले नेताहरूको सुविधाको पावर सेयरिङ मागेको होइन, मन्त्रीको पदको पनि होइन । राज्यसत्ताको संरचनामा हुनुपथ्र्यो ।
तपाईंले सेना, अदालतलगायत त्यसपछिका राज्यका अरू अंगमा साझेदारी भन्न खोज्नुभएको हो र ?
हो । हामीले खासगरी चार ओटा क्षेत्रमा त्यस्तो मुद्दा उठाएका थियौँ । राजनीतिक, आर्थिक, सेना, पुलिससहित सुरक्षा र अदालतसहितको कानुनी क्षेत्रमा हामीले सत्ता साक्षेदारीको विषय उठाएका हौँं । राजनीतिक कुरा गर्दा गाविसदेखि केन्द्रसम्म माओवादीको प्रस्टै देखिने सहभागिता चाहिन्थ्यो । हामीले जनताको, कार्यकर्ताको सेवा गर्न कसरी खोजेका हौँ भन्ने हामीलाई देखाउन दिनुपथ्र्यो । एउटा नेतालाई ढाकेर मात्रै हुने होइन भन्ने हाम्रो भनाइ थियो । माथिदेखि तलसम्म एउटा सेटमा काम गर्न माओवादीले पाउनुपर्छ भन्ने थियो । तर, त्यसो हुन पाएन । प्रचण्ड कमरेडले यहाँ ठूलो कमजोरी गर्नुभयो । उहाँहरू एकदम हावामा उड्नुभयो भन्ने बुझाइ छ मेरो । कहाँ बतासिनुभयो, त्यो भनिरहन जरुरी छैन । तर, त्यसको फाइदा कांग्रेस, एमालेका साथीले उठाए । उनीहरूले हामीलाई सत्ताबाट पूरै लखेटे । गाविसदेखि साझेदारी हुनुपर्ने थियो । दुईवटा सचिव हुँदैमा के जान्थ्यो रु माओवादीको पनि सचिव चाहियो नि रु गाविसमा उसले राम्रो काम गरेन भने हामी कारबाही गथ्र्यौं । त्यस्तै, सिडिओ, एलडिओ नै रहनुपर्ने किन रु त्यसलाई नयाँ प्रशासनिक ढाँचामा ढाल्नुपथ्र्यो भन्ने हाम्रो भनाइ थियो । कहीँ केही भएन, मन्त्रालयमा आउँदा त हुँदै भएन । साउथ अफ्रिकामा काला र गोराबीचको लडाइँ टुंगिँदा बराबरी पावर सेयरिङ भयो । अहिले त्यहाँ विद्रोहबाट आएका दुईजना कमान्डर प्रधानसेनापति भइसक्नुभयो । तर, यहाँ माओवादीलाई कहीँ पनि छिर्न नदिने, अनि शान्ति–प्रक्रियाचाहिँ सफल हुनुपर्छ भन्न खोजियो ।
तपाईंहरूले गरेको जनयुद्ध जित वा हारमा पुगेको होइन, सम्झौतामा टुंगिएको हो । तपार्इंले अहिले भनिरहेको क्रान्तिले आकार लियो भने पनि निर्णायक जितमा पुग्ने होइन, निश्चित शक्ति हासिल गर्ने र फेरि सम्झौतामा आउने हो भन्ने मान्छेहरूको बुझाइ छ । तपाईंको भनाइ के छ ?
त्यस्तो आरोप बनाइएको हो, बनेको होइन । जानीबुझी साथीहरूले बनाइदिएका हुन् । पहिला उहाँहरूले हामीलाई यो केही पनि होइन, महत्त्वाकांक्षाले चालेको स्टेप मात्र हो, यो पार्टी बन्दा पनि बन्दैन, केही पनि रहँदैन भन्नुहुन्थ्यो । तर, जतिवेला ०६४ मा प्रचण्ड र बाबुरामले राजनीतिक शब्दावलीको प्रयोग पार्टीमा ल्याउन थाल्नुभयो, त्यस्तो गर्नुहुँदैन, यसले पार्टी पनि बन्दैन र तपाईंहरू पनि विसर्जनतिर जानुहुन्छ, यो आत्मसमर्पणको बाटो हो भनेर हामीले भनेका थियौंँ ।
तपाईंले भनेको राजनीतिक शब्दावली के हो ?
उहाँहरूले संसदीय व्यवस्थालाई मान्ने बाटो अवलम्बन गर्न थाल्नुभयो । लोकतान्त्रिक गणतन्त्र भन्न थाल्नुभयो । त्यसलाई संस्थागत गर्ने भन्न थाल्नुभयो । चुनवाङ र खरिपाटीमा प्रचण्डले प्रस्तुत गरेको डकुमेन्ट र चुनवाङवरिपरि बाबुरामले लेखेको लेख र खरिपाटीमा बाबुरामजीहरूले गरेको बहस हेर्ने हो भने ठीक उल्टो देखिन्छ । त्यतिवेला हामीले कम्युनिस्टबाट कहाँ–कहाँ गल्ती भयो रु क्राान्तिहरू जनतासँग कसरी अलग भए रु कसरी हारे रु भन्ने बहस गरेका थियौँं । तर, उहाँहरूले सबै मान्यता भत्काउनुभयो । सबै हारालुछका रूपमा चल्न थाल्यो । सुविधाका निम्ति दौडादौड तुरुन्तै चल्न थाल्यो । माओवादी यस्तो घृणित खेलमा फस्नु सुहाउँदैनथ्यो । जीवन व्यवहारमा उहाँहरूले राजनीतीकरण थाल्नुभयो । हामीले त्यसलाई मानेनौँं । जनयुद्ध सुरुवात गर्दा जे भनेर जनतालाई लडाइयो, चुनवाङमा जे भनेर शान्ति–प्रक्रियामा आइयो, अनि ०६५ हामीले जे भन्न थाल्यौँं, त्यो ठीक उल्टो छ । एमालेले ०४७र४८ मा भनेको भन्दा पनि उल्टो छ । अझ तल छ । प्रचण्ड, बाबुरामजीहरूले त बुझेरै जनयुद्ध सुरुवात गर्नुभएको छ भन्ने लाग्थ्यो । तर, उहाँहरूमा पनि विचलन आउन थाल्यो । त्यसलाई उहाँहरूले पद प्रतिष्ठा नपाएर हामीले विरोध गरेको भनिदिनुभयो । अझ पछि त मैले पालुङटारमा सत्ता साझेदारीका विषयमा राखेको विषयलाई समेत अपव्याख्या गर्ने काम भयो । त्यसपछि प्रचण्ड कमरेडलाई हामीले भनेका थियौंँ, यो गलत भयो । त्यसैले फेरि क्रान्तिलाई पुनर्संगठित गर्ने चुनौती हामीसामु आएको छ ।
अहिले तपाईं कुन मनोविज्ञानमा हुनुहुन्छ भन्ने सबैलाई चासो छ, मान्छेको बुझाइ के छ भने तपाईं फेरि हतियार उठाउँदै हुनुहुन्छ, त्यसअघि राज्यसँग वार्ता गर्ने वा समाधानको बाटो खोज्ने काम हुन सक्छ कि सक्दैन ?
निश्चय नै सक्छ । हामीले आफ्ना विषयलाई व्यवस्थित ढंगले अगाडि सारेका छौंँ । संविधान सही ढंगले बनेन । राज्यमा पुनर्संरचना नभएसम्म अथवा राज्यमा माओवादीको सहभागिता नभएसम्म संविधान बन्दैन, बने पनि सफल हुँदैन, हामीले भनेका थियौँं । उहाँहरूलाई यो केही पनि होइन भन्या जस्तो परेको थियो, अहिले पनि सायद त्यही होला । उहाँहरूले नारा पनि दिनुभयो, आर्थिक समृद्धि हुन्छ आदि इत्यादि । तर, संविधान नबन्दै देश एकप्रकारले ठूलो घोषित त होइन, अघोषित द्वन्द्वमा देश पुगेको छ । त्यसैले राज्यसत्तामा बसेकाहरूले हाम्रा कुरा सुन्न तयार हुनुपर्छ । हामीले भनकै छौँ, तपाईंहरूले संविधान जारी गर्नुभयो भने जनताको पक्षबाट हामी पनि अर्को संविधान जारी गर्छौ, एउटा खाका भए पनि घोषणा गर्छौं भनेका थियौँ, त्यो हामीले गर्यौँ पनि । हामी अर्को सत्ता बनाउँछौँ भनेका थियौँ । प्रारुपमै भए पनि हामी हाम्रै सापेक्षतामा त्यस्तो सत्ता बनाउँदै अगाडि बढेका छौंँ ।
त्यसो हो भने हामी अहिले दुइटा सत्ताको बीचमा छौँ ?
निश्चिय नै । अहिले नेपालमा द्वैध सत्ता छ । एकातिर जनताको सत्ता छ भने अर्कातिर परम्परागत सत्ता छ ।
मोबाइल टावरमा आक्रमण गर्नुभयो, त्यसले एकदमै छिटो तपाईंहरू हिंसात्मक बाटोमा जाँदै हुनुहुन्छ भन्ने मानसिकता जनमानसमा सेट भएको छ । त्यो सही वा गलत के हो ?
एकदम गलत हो । हामीले गर्न खोजेको क्रान्ति हो, युद्ध होइन । यहाँ मान्छेले विषयलाई तोडमोड गरे । क्रान्ति नेपाली जनताको विषय हो, हाम्रो व्यक्तिगत होइन । यो नेपाली समाज र देशको विषय हो । बौद्धिक वर्गदेखि सामान्य भरियासम्म जाँदा देशको स्थितिबाट कोही सन्तुष्ट छैन । उनीहरूले समाधानको बाटो आ–आफ्नै ढंगले भन्लान् तर अहिलेको व्यवस्थाबाट कोही पनि सन्तुष्ट छैन । विदेशीले नेपालमा एउटा आकाश युद्ध चलाइरहेका छन् । यो आकाश युद्धबाट कोही पनि सन्तुष्ट छैन ।
के हो त्यो आकाश युद्ध भनेको र ?
नेपाललाई थाहै छैन, शक्तिशाली राष्ट्रहरू हाम्रो आकाशमै लडेका छन्, आकाशमै हिँडेका छन् । नेपालचाहिँ तारा गनेर बसेको छ । यसरी हेर्दा कस्तो अनुभूति हुन्छ भने यसलाई परिवर्तन गर्ने क्रान्तिले मात्रै हो । मैले जोड दिएर भनिरहेको छु, जनताको क्रान्ति । त्यसलाई एकीकृत जनक्रान्ति पनि भनौँ ।
तपाईंले भन्ने एकीकृत जनक्रान्तिमा हतियारको विषय के हुन्छ र ?
राज्यसत्ता नै भनिसकेपछि क्रान्तिभित्र सापेक्षित रूपमा युद्ध पनि आउला, त्यो अर्को कुरा हो । तर, क्रान्तिकै सहयोगीको रूपमा आउने हो हतियार पनि ।
त्यो कति चरणमा कुन समयमा आउँछ ?
हामीलाई थाहा छ, युद्ध भयानक हुन्छ । युद्धलाई हामीले खेलाँची, केही मान्छेको आकांक्षा र पार्टी–विशेषको इच्छाका रूपमा मात्र बुझेका छैनौँ । यसमा राज्य नै गम्भीर हुनुपर्छ भन्ने हामीलाई लाग्छ । बाध्यकारी स्थितिमा सबैको सामना गर्नुपर्छ । राज्यशक्तिमा पुगेपछि मान्छे दृष्टिविहीन हुने गर्छ । ऊ अहंकारी, अटेर, घमन्डी, मनोगत भइहाल्छ । अहिलेको राज्य पनि त्यतै घुमिरहेको देखिन्छ । विप्लव माओवादीलाई हामी दुई घन्टामा नियन्त्रणमा ल्याउँछौँ भन्ने अहंकार पनि छ । त्यसरी सोच्दा त्यसले विषयलाई ठीक ठाउँमा लाँदैन । त्यसरी सोच्दा प्रतिरोध भई नै हाल्छ ।
राज्यले तपाईंहरूलाई नटेर्नु भनेको शक्ति कमजोर भएर हो, किन तपार्इं जनतालाई विश्वासमा लिई अर्को पक्षलाई पराजित गरेर अगाडि बढ्ने प्रयास गर्नुहुन्न र ?
हामीले अहिले जे गरिरहेका छौँ, त्यो पनि जनताकै विश्वास जितेर गरिरहेका छौँ । जनताले हिजो जुन विश्वास हामीलाई गर्नुभयो, त्यो विश्वास फेरि एकपटक हामीलाई दिनुहोस्, लडाइँमा जनताले हामीलाई जिताएका हुन्, क्रान्तिमा हामीलाई जिताएका हुन्, बरु पछि पो हामीले धोका पायौँ । सम्झौताको बाटोमा आएपछि एउटा सत्तामा बसेको मान्छेले धोका दिएको हो, अर्को हाम्रो लिडरसिपले बाटो छाडेर धोका दिएको हो । यसमा हामी प्रस्ट छौँ ।
०५२ सालमा सुरु भएको सशस्त्र युद्ध १० वर्ष चल्यो, त्यसलाई व्यवस्थापन गर्न अर्को १० वर्ष लाग्यो । यसरी एउटा जनयुद्धका नाममा २० वर्ष गयो, एउटा पुस्ताको जीवन सकियो । अब फेरि अर्को युद्ध हुन्छ भन्ने चर्चाले पनि मान्छे त्रसित छन् । किनकि तपार्इंहरू एउटा राजनीतिक आदर्श र नेतृत्वलाई विश्वास गरेर युद्धमा जानुभयो । त्यसमा कमजोरी थिए होलान्, तर त्यसको मूल्य पुस्तौँ–पुस्ताले चुकाइरहनुपर्ने हो र ?
त्यसलाई मैले विज्ञानको नियमसँग जोडेर व्याख्या गर्ने गरेको छु । एउटा कुनै वैज्ञानिकले चन्द्रमामा पुग्ने आकांक्षा राख्छ भने प्रक्षेपण असफल पनि त हुन सक्छ । त्यसको मतलब अर्को वैज्ञानिकले प्रक्षेपण नै नगर्ने भन्ने भौतिक विज्ञानमा सम्भव छैन । समाज विज्ञानमा हामीले गर्न खोजेको समाज परिवर्तन हो । नेता–विशेषले के गर्यो, पार्टी–विशेषले के गर्यो भन्ने सहायक हो । त्यसलाई संयोग मात्र भनिन्छ । आवश्यकता भनेको नेपाली समाजको रूपान्तरण हो । अहिले हामी भन्छौँ, मान्छे थाकेका छन्, आक्रोशित पनि छन् । नेपालको युवापुस्ता असाध्यै आक्रोशित छ । त्यो आक्रोशले ठीक ठाउँमा सही विचार र सही नेतृत्व पाउँदा समाज रूपान्तरण गर्ने बाटोमा जान्छ । युवापुस्ता निराश भयो भने देश नै कोल्याप्स हुने खतरा पनि छ । फेरि सँगै नयाँ पुस्तामा नयाँ प्रतिभा आएका छन्, उनीहरूका आक्रोश र आकांक्षालाई तपाईंले ठीक ठाउँमा राखिदिनुभयो भने अहिलेसम्म ६० वर्षको बीचमा पूरा नभएका कुरालाई गुणात्मक रूपमा पूरा गरिदिने, नयाँ कदम अगाडि आउन पनि सक्छ । हामीले आशावादी भएर हेर्ने भनेको कोही पछि हट्यो, अवरोध भयो भने त्यो व्यक्तिगत सीमाहरूका कारणले हो, ऐतिहासिक आवश्यकताले पूरा गर्ने भन्छ भने हामीले कोसिस गर्ने हो ।
त्यसो हो भने तपार्इंको नेतृत्व सही वा गलत भनेर परीक्षण गर्न देशले अर्को १० वर्ष बिताउनुपर्ने हो र ?
होइन, हामीलाई मात्र क्रान्ति चाहिएर गरेको विषय होइन, तपाईंहरूलाई पनि चाहिएको छ भने गरौँ, नत्र हामीलाई मात्र मर्ने मन लागेर क्रान्तिको कुरा गरेको भन्ने नमान्नुहोला । किसान, मजदुर, बुद्धिजीवी, मध्यमवर्ग सबैलाई यही भनेका छौँ हामीले । हरेक ठाउँमा गुनासाको थुप्रो लाग्ने, असन्तुष्टि रहने, तर असन्तुष्टिको निकासमा चाहिँ पुग्न नचाहँदा देश नै नरहने खतरा छ । अहिलेसम्मको समीक्षा गरौँ, कांग्रेस, एमाले र एमाओवादी, हामी सबैका कमजोरीको समीक्षा गरौँ । यसको संश्लेषणचाहिँ सकारात्मक ढंगले गरौँ । अहिलेको आवश्यकतालाई लिएर हामीले मात्र होइन, अर्को पार्टीले गर्छ भने त्यहाँ जानुहोस् । तर, आजको नेपालमा हामीले सारेको विषय नै ठीक छ भन्ने हामीलाई परेको छ ।
तपाईंको पार्टीमा मजदुर, किसान वा अन्य जनता किन लाग्ने रु तपार्इंसँग उहाँहरूलाई विश्वास दिलाउने आधार के छ ?
जनयुद्धमा जाँदा हामीले भनेको कुरा हो, सुकुम्बासीलाई गाँस–बासको ग्यारेन्टी गर्छौं । गरिब किसानलाई गाँस–बासको ग्यारेन्टी गर्छौं । युवालाई रोजगारीको ग्यारेन्टी हाम्रो सत्ताले गर्छ । नेपालमा दलाल पुँजीपति वर्गको दबदबा छ, त्यो दबदबाबाट हामीले राष्ट्रिय पुँजीपतिलाई मुक्त गर्छौं । राष्ट्रिय उद्योगको संरक्षण गर्छौं । हाम्रो देशमा विदेशीको जुन खालको हैकम छ, असमान सन्धि–सम्झौता छ, त्यसका कारण हाम्रा प्राकृतिक स्रोत–साधन कब्जामा छन्, त्यसबाट हामी मुक्त गर्छौं । महिलाहरू अहिलेसम्म पनि नागरिकका रूपमा आउन सक्नुभएको छैन, समान विशेषाधिकारसहित हामी अगाडि बढाउँछौँ । दलितलाई मानवका रूपमा व्यवहार गरिएको छैन, तिनलाई दासताबाट मुक्त गर्नु छ । हामीले त्यो भन्यौँ, जनजाति राज्यसत्ताबाट उत्पीडनमा परेका छन्, उनीहरूलाई राज्यसत्तामा समान रूपले सहभागिता गराउँछौँ । हामीले यस्तै भनेर आएका हौँ । यो अनुमोदित भएर आएको हो । तर, यो सबैका लागि एउटा वैज्ञानिक समाजवादी राज्यसत्ता आवश्यक छ । त्योविना संसारमा संसदीय व्यवस्था सफल देखिएन । संसदीय व्यवस्थाभित्र थोरै आर्थिक विकास देखिए पनि शोषण दमन, उत्पीडन कायमै रहयो, र त्यसले अशान्तितिरै लग्यो संसदीय व्यवस्थालाई । हामीले त्यसबाट देश र जनतालाई मुक्त गर्छौं भनेका हौँ ।
तपार्इं जोड दिएर भनिरहनुभएको छ माओवादीसहितको सत्ता । के तपाईं चीनको जस्तो सत्ता स्थापना गर्न चाहनुहुन्छ, त्यसलाई मात्रै वैज्ञानिक समाजवाद मान्नुहुन्छ वा अहिलेको संसद्वादी शक्तिलगायतसँग सम्झौता गरेर हिँड्न चाहनुहुन्छ रु तपार्इंको वैज्ञानिक समाजवादले भनेको के हो र ?
अहिलेको संविधानको प्रस्तावनामै समाजवादउन्मुख राज्य भनिएको छ नि । अहिलेसम्मको राजनीति शास्त्रले देखाउने कुरा सत्ताको धु्रव भनेका दुईवटा नै हुन् । एउटा आधारभूत रूपले संसदीय पुँजीवादी तरिकाले सोच्ने सत्ता । अर्को आधारभूत रूपले वैज्ञानिक समाजवादले सोच्ने सत्ता । वैज्ञानिक समाजवादले सोच्ने सत्ताका पनि विभिन्न मोडेल छन्, त्यसलाई मान्न सकिन्छ । तर, हामीले भनेको के हो भने २०औँ शताब्दीमा प्रयोग भएर असफल भएका केही मोडेल छन्, त्यसको समीक्षा हामीले गर्नुपर्छ । तर, असफलता माक्र्ससिज्म होइन भन्ने मेरो निष्कर्ष छ । नेपालमा हामीले संसदीय व्यवस्थाभित्रका व्याख्यासहितको समाजवादी कुरालाई हाम्रो प्राथमिकतामा राखेका छैनौँ । हाम्रो भनाइ भनेको आधारभूत रूपले वैज्ञानिक समाजवादी सत्ताअन्तर्गत नयाँ विकासको हुनुपर्छ भन्ने हो ।
बाबुराम भट्टराईले नयाँ पार्टी घोषणा गर्नुभयो, नयाँ शक्ति नेपाल । तपार्इंहरूले लामो समयसँगै काम पनि गर्नुभयो, भट्टराईको नयाँ कदमलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
यसलाई हाम्रो पार्टीले तीन–चार कोणबाट संश्लेषण गरेको छ । बाबुरामजीले भयंकर कमजोरी गर्नुभयो भन्ने हाम्रो निष्कर्ष छ । उहाँ माओवादी हुनुभयो र आज विसर्जनमा जानुभयो । त्यतिवेला बाबुरामजीको एउटा तर्क थियो, प्रचण्डसँग बहस गर्दा । उहाँले प्रचण्डलाई पनि अलिकति अनुभववादी भन्नुहुन्थ्यो । तिमीहरू तल जराबाट निस्केका कम्युनिस्ट हौँ, मचाहिँ एकदमै बौद्धिक ढंगले माथिबाट झरेको कम्युनिस्ट हुँ भन्नुहुन्थ्यो । सीधा त होइन, बुझिने भाषामा भन्नुहुन्थ्यो । म अस्कल पढ्दा नै माक्र्सको पुँजी पढेर, पेरिस कम्युन पढेर, कम्युनिस्ट घोषणापत्र पढेर कम्युनिस्ट भएको हुँ, त्यसकारण मलाई कसैले सिकाउनु पर्दैन, मलाई अहिले क्रान्तिकारी बनाउँछु भनेर कसैले सोच्नु पर्दैन, म आफैँ त्यसरी आएको हुँ भन्नुहुन्थ्यो । हामीलाई पनि उहाँ बुझेकै मान्छे हो भन्ने लाग्थ्यो । तर, आज उहाँ धेरै पर पुग्नुभयो । दोस्रो, अहिले उहाँ गएको भनेको विसर्जनवादमै हो । कम्युनिस्ट पार्टीको पिबिएम आफैँ हुने अनि आफैँ कम्युनिस्ट पार्टी विघटन गर्नु भनेको आफ्नो खुट्टामा आफैँले बन्चरो हान्ने प्रवृत्ति हो । त्यो एकदम गलत छ भन्ने हाम्रो निष्कर्ष छ । उहाँ नबुझेको मान्छे होइन, त्यत्रो डाक्टर मान्छे, त्यत्रो बलिदानमा हिँडेको मान्छे, आज आएर त्यो मान्यता नै ठीक थिएन भन्दै हिँडनुभएको छ, त्यो उहाँकै लागि पनि घातक छ । तेस्रो उहाँ जहाँ पुग्नुभएको छ, त्यो राजनीति नयाँ शक्ति भनेर उहाँले भन्नुभएको छ, त्यो पुरानो सत्तासँगको आत्मसमर्पण हो । उहाँको दृष्टिकोणले नयाँ योगदान दिएर समाजलाई अगाडि बढाउला भन्ने मलाई लाग्दैन । बरु बाबुरामजीको यो विसर्जनले, पछाडि हटाइले नेपालमा देखापरेको परिवर्तनको एउटा सम्भावना थियो, त्यसलाई समेत क्षति गर्यो भन्ने हाम्रो बुझाइ छ । उहाँसमेतको पछाडि हटाइले समाजमा एउटा नकारात्मक प्रभाव गयो । बाबुरामजीले जे सोच्नुभएको छ, त्यो सफल हुँदैन ।
चार वर्षअघि पार्टी विभाजन गरेर तपाईंहरू हिँड्दा मान्छेको मोटो बुझाइ के थियो भने विप्लव अन्यत्रै कतै हिँडेका हुन् । उनले चलाएको गाडीमा बसेका वैद्य र बादल छोटो दूरीका यात्री हुन् । समय सन्दर्भले ठ्याक्कै त्यस्तै देखाएको छ । तपार्इंलाई यात्रा कति लामो होला भन्ने लागेको थियो ?
त्यतिवेला नेता नै उहाँलाई बनाएर उहाँकै नेतृत्वमा क्रान्ति गर्ने भनेर हिँडिएको हो । आज उहाँहरू फर्केको सही हो । उहाँहरूले सक्नुहँुदो रहेनछ भन्ने व्यवहारतस् सावित भयो । उहाँहरू पुराना साथी हुनुहुन्छ । उहाँहरूप्रति सम्मान छ हाम्रो । तर, अलिक बढी आवेगात्मक रूपमा मात्र सीमित रह्यो कि भन्ने लाग्छ । प्रचण्डलाई गद्दार नै भन्नुपर्छ भन्ने साथीहरू अहिले १० हात उफ्रेर एकतामा जानुभएको छ । प्रचण्डलाई गद्धार भन्नु हुँदैन भन्ने हामी हौँ । हिजो पुष्पलाललाई गद्धार भनेर पछि सच्याएको इतिहास छ । त्यसरी भन्न हुँदैन भन्ने मैले नै भनेको हुँ । त्यसो भन्दा लौ भन्ने साथी थिए । तर, हामी आफ्नो अठोटमा ढृढतापूवर्क जानुपर्छ भन्ने हाम्रो बुझाइ थियो । एकछिन गद्धार लेख्नुपर्छ भन्ने, अनि केही छिनमै तलुवा चाट्न हिँड्नुले के देखाउँछ भने अलिक बढी त्यहाँ आवेगात्मक भयो । कुनै न कुनै कुण्ठा, पूर्वाग्रहले काम गरेको थियो भन्ने लाग्छ । प्रचण्ड, मोहन वैद्य, बाबुराम भट्टराईसँग तपाईंको व्यक्तिगत कुराकानी हुँदा उहाँहरूको ओपिनियन के हुन्छ रु होइन एकदम खुला कुराकानी हुन्छ । सबैभन्दा सजिलो प्रचण्डसँग हुन्छ । हाम्रो भेट हुँदा उत्कर्षमा बहस हुन्छ । उहाँलाई पनि सबै थाहा छ । उहाँले बाहिर जे भने पनि हामीले के सोचेको हो भन्ने मोटामोटी थाहा छ । किनभने हामी एउटै बेडमा सुतेर, एकै ठाउँमा हुर्केर, खाएर आएका मान्छे हौँ । छल्ने त बाहिरका मान्छेलाई मात्र हो, मनलाई त छल्न सकिन्न । उहाँसँग त्यही लेबलमा कुरा हुन्छ । बाबुरामसँग भेट हुँदा पनि त्यही लेबलमा कुरा हुन्छ । बाबुरामजी पनि खुलै मान्छे हो । उहाँलाई पनि थाहा छ । तर, वैद्यजी अलि अन्तर्मुखी भएको हुनाले हाम्रो छलफलका आ–आफ्ना सीमा हुन्छन् ।
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses